सिरियामाथि संरा अमेरिका, फ्रान्स र बेलायतको संयुक्त हमलाप्रति ल्याटिन अमेरिकी देश बोलिभियाका राष्ट्रपति इभो मोरालेसले कडा विरोध जनाएका छन् ।

उनले संरा अमेरिकी साम्राज्यवाद प्रजातन्त्रको लागि सबभन्दा ठूलो खतरा भएको र ल्याटिन अमेरिकाले उसको मुद्दालाई समर्थन गर्न नहुने धारणा राखे ।

‘स्वतन्त्रताविरुद्ध, प्रजातन्त्र विरुद्ध, पृथ्वी माता विरुद्ध, बहुलवादविरुद्ध संरा अमेरिका सबभन्दा ठूलो खतरा हो । यो कुरा यति खुला भन्न मलाई कति पनि डर छैन ।’, अमेरिकी महादेशका देशहरुको सम्मलेनमा बोल्दै उनले भने,‘वाशिङ्टनले आमविनाशकारी हतियारको लागि करोडौं करोड डलर खर्च गरिरहेको छ ।’

मोरालेसले बोलिभिया संरा अमेरिकी नियन्त्रणमा रहेको संरा अमेरिकी लागु औषध नियन्त्रण प्रशासन र अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रभावबाट मुक्त भइसकेको समेत घोषणा गरे ।

मोरालेस सत्तासीन भए यता ती संस्थाहरुलाई बोलिभियाबाट देशनिकाला गरिएको वा प्रभाव नियन्त्रण गरेका छन् । सन् २०११ मा उनले बोलिभियाबाट युएसएडलाई देशनिकाला गरेका थिए । बोलिभियाको राष्ट्रिय सार्वभौमिकताविरुद्ध काम गर्न युएसएडसम्बद्ध गैरसरकारी संस्थाहरु काम गरिरहेको अभियोगमा उनले त्यस्तो निर्णय गरेका थिए ।

‘ल्याटिन अमेरिका कोही भन्दा पनि पछि परेको छैन । …पर्खाल लगाउने समय यो होइन, यो पुल समझदारीको पुल बनाउने समय हो । यो समय हमलाको होइन, बरु एकताको हो ।’, मोराले क्युवामाथि चालु साम्राज्यवादी नाकाबन्दी अन्त्यको फेरि माग गर्दै भने । उनले ग्वान्टानामो टापुमा संरा अमेरिकी सेनाको कब्जा तत्काल अन्त्य गर्नुपर्ने समेत आवाज उठाए ।

मोरालेसले ट्वीटरमार्फत् आगामी महिना भेनेजुयलामा हुने आमचुनावमा राष्ट्रपति निकोलस माडुरो पुनःनिर्वाचित भए मान्यता नदिने भनी संरा अमेरिकाप्रति पक्षधरता देखाउने सम्मेलनका केही सहभागीहरुको भनाईप्रति विरोध जनाए ।

‘ट्रम्प, तर्कको ठाउँमा हतियार प्रयोग गर्ने नेता हुन् । उनीप्रतिको चाकडीस्वरुप केही नेताहरुले माडुरो बन्धुको सम्भावित पुनःनिर्वाचनलाई मान्यता नदिने कुरा अघि सारे । क्रान्तिकारी राष्ट्रपति माडुरोलाई आफ्ना जनताको समर्थनप्राप्त छ र उनलाई कुनै साम्राज्यवादको अनुमोदन आवश्यक छैन ।’

उनले ‘सिरियाका दाजुभाई दिदीबहिनी’ विरुद्ध भएको हिंसात्मक हमलाप्रति अमेरिकी राज्यहरुको संगठन ओएएसका महासचिव लुइस अल्माग्रो मौन बसेकोमा आलोचना गरे ।

‘साम्राज्यवादपक्षधर नोकरहरुबाट मुक्त ओएएस ल्याटिन अमेरिकाको आवश्यकता हो ।’, मोरालेसले ट्वीटरमा लेखे । शिखर सम्मेलनमा छलफलका लागि तय भएको भ्रष्टाचार नियन्त्रणबारे बोल्दै मोरालेसले पूँजीवाद नै भ्रष्टाचारको मुल जड भएको विचार राखे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार