क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडा  (सिसिआर-आरसिपी , क्यानडा), एउटा खास पार्टीले अघि सारेको धारणा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा भइहाल्छ भन्ने कुरामा विश्वास गर्दैन । यसको सट्टा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा तय गर्ने सन्दर्भमा  विभिन्न पार्टी तथा सङ्गठनका कमरेडहरूबीच सैद्धान्तिक बहसछलफल तथा संयुक्त पहलको आवश्यकता पर्छ ।  तल हामीले प्रस्तुत गरेका धारणालाई आन्दोलनले सम्बोधन गरी एउटा  निष्कर्षमा पुग्नु चाहिँ आवश्यक छ भन्ने हामीलाई लागेको छ  ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशाको उद्देश्य के हुनुपर्छ ?

आम कार्यदिशाले त्यस्तो राजनीतक सिद्धान्तलाई अगाडि सार्नुपर्छ, जसलाई लिएर क्रान्तिकारी शक्तिहरूबीच समान धारणा बनोस् । यसले विश्वभरिका पार्टी तथा सङ्गठनहरूलाई क्रान्ति र क्रान्तिकारी सङ्घर्षको विश्लेषणसहित एउटा आम राजनीतिक दिशा प्रदान गरोस् । यस किसिमको आम कार्यदिशालाई हरेक मुलुकको विशिष्ट परिस्थिति र अन्तर्विरोधको स्थितिमा सिर्जनात्मक ढङ्गले लागू गर्न सकियोस् ।

हाम्रो विचारमा मार्क्सवाद-लेनिनवाद-माओवाद अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशाको विकासको आधारभूत सिद्धान्त हुनुपर्छ ।

हामीलाई लाग्छ, सन् १९६३ को “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशासम्बन्धी प्रस्ताव”, १९८४को रिम घोषणापत्र र १९९३ को रिमको दस्ताबेज ”मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद” लाई आधार बनाउने हाम्रो प्रयास हुनुपर्छ । हुन त विश्वपरिस्थितिमा आएका केही खास परिवर्तन र विश्वकम्युनिस्ट आन्दोलनमा उत्पन्न भएका विशिष्ट स्थितिहरू खासगरेर पेरू, नेपाल टर्की, पिलिपिन्स र भारतका जनयुद्धका अनुभवहरूलाई अगाडि राख्दा अबको विश्व कम्युनिस्ट आन्दोलनको नयाँ आम कार्यदिशाको विकासका लागि ती दस्ताबेजहरू आफैँमा केही अपुग छन् ।

राष्ट्रिय मुक्ति युद्धको युग एक हिसाबले व्यापक रूपमा पूरा भएको भए पनि हिजोदेखिका नव-उपनिवेश र अर्ध-उपनिवेशका रूपहरू निरन्तरतामै छन्  र यसले व्यापक मात्रामा आजको विश्वमा नयाँ जनवादी क्रान्तिको आवश्यकतामा जोड दिएको छ ।

आजको विश्वमा मूलतः दुई किसिमका प्रवृत्तिहरू रहेका छन् :  अर्ध-सामन्ती तथा नव-ओपनिवेशिक मुलुकहरूमा नयाँ जनवादी क्रान्ति र साम्राज्यवादी मुलुकहरूमा समाजवादी क्रान्ति ।

आत्मगत पक्षहरूको प्रयासबिना वस्तुगत परिस्थिति तयार भएर साम्यवाद आफैँ  “स्वतः”  किसिमले आउँछ भन्ने किसिमले बुझ्नु हुँदैन । यसलाई सङ्घर्षको निरन्तरतामा हेर्नुपर्छ ।

आजको विश्वको  प्रमुख अन्तर्विरोधहरू के के हुन् ? 

आजको विश्वमा तीनओटा आधारभूत अन्तर्विरोधहरू छन् : १) साम्राज्यवादी मुलुक र उत्पीडित जनताबीचको अन्तर्विरोध, २) बुर्जुवा र सर्वहारा बीचको अन्तर्विरोध र ३)  साम्राज्यवादी मुलुकहरूबीचको अन्तर्विरोध ।

तेस्रो अन्तर्विरोध महत्त्वपूर्ण हुँदाहुँदै पनि पहिलो र दोस्रोको तुलनामा कम महत्त्वको हो । १९६३ को “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम दिशासम्बन्धी प्रस्ताव” मा चौथो अन्तर्विरोधको पनि उल्लेख गरिएको छ : ”समाजवादी शिविर र पुँजीवादी शिविरबीचको अन्तर्विरोध”  । विश्वमा यतिखेर कुनै पनि मुलक समाजवादी नभएको अवस्थामा अब यस किसिमको अन्तर्विरोध पनि छैन । तर, अब यस किसिमको अन्तर्विरोध नहोला भनेर चाहिँ बुझ्नु हुँदैन । क्रान्तिको सफलताले भोलि यस किसिमको अन्तर्विरोध पनि हुन सक्छ ।

अन्तर्राष्ट्रियअन्तर्विरोध र राष्ट्रिय अन्तर्विरोधबीच के-कस्तो  सम्बन्ध हुन्छ ?

अन्तर्राष्ट्रिय स्तरमा प्रमुख अन्तर्विरोध भनेको साम्राज्यवादी मुलुक र उत्पीडित जनताबीचको अन्तर्विरोध हो ।  साम्राज्यवादी मुलुकका क्रान्तिकारीहरूले खास साम्राज्यवादी मुलुकमा सर्वहारा र बुर्जुवा वर्गबीचको अन्तर्विरोध तीव्र पार्दै विश्वका उत्पीडित जनताको आन्दोलनलाई सहयोग पुर्याउनुपर्छ । उत्पीडित मुलुकहरूको साम्राज्यवाद विरोधी आन्दोलनमा  उनीहरूको  भूमिका “ ताली पिटुवा समर्थक”  को जस्तो सामान्य किसिमको  हुनु हुँदैन ।

साम्राज्यवादी मुलुकका क्रान्तिकारीहरूले कामका हरेक क्षेत्रमा वर्गसङ्घर्षलाई अघि बढाउन नयाँ किसमका सर्वहारावादी योजनाहरू निर्माण गर्नुपर्छ । उनीहरूले क्रान्तिकारी आक्रमणवाद लागू गर्नुपर्छ : उदाहरणका रूपमा आफ्नै मुलुकको साशक वर्गको पराजयका लागि लड्ने र शासक वर्गका विरूद्ध लडिरहेका क्रान्तिकारीहरू र जनसमुदायलाई सघाउने ।

अन्तर्राष्ट्रिय प्रमुख अन्तर्विरोधले खास देशको सङ्घर्षमा महत्वपूर्ण किसिमले प्रभाव  पारिरहेको हुन्छ भन्ने कुरा बुझ्नु यसको महत्वपूर्ण पक्ष हो ।  यसका साथै के कुरा पनि बुझ्नु महत्वपूर्ण छ भने, एउटा देशभित्रको अन्तर्विरोको गति र दिशाले पनि स्वाभाविक रूपमा अन्तर्राष्ट्रिय प्रमुख अन्तर्विरोधलाई प्रभावित पारिराखेको हुन्छ ।

हामीलाई लाग्छ, साम्राज्यवाद र उत्पीडित मुलुकहरूबीचको अन्तर्विरोधले आर्थिक र राजनीतिक स्वरूपलाई पनि नयाँ दिशा दिएको छ—त्यो हो, वातावरणीय विनाश । विश्वभरिका क्रान्तिकारीहरूले औद्योगीकरण र उपभोगको साम्राज्यवादी चरित्रको पुनरावृत्ति गर्न खोज्नु हुँदैन । उत्पीडित मुलुकहरूको नयाँ जनवादी क्रान्ति अर्ध-औपनिवेशिकताबाट अगाडि बढ्ने क्रममा वातावरणीय दिगोपनलाई पनि एउटा प्रमुख मूल आधार बनाउनुपर्ने हुन्छ । त्यसैगरी साम्राज्यवादी मुलुकहरूमा पनि समाजवादी क्रान्तिले उपभोगको साम्राज्यवादी चरित्र र यसले ध्वस्त पारेको  वातावरणीय विनाशलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ  र सर्वहाराको चेतनालाई वातावरणीय पक्षसित जोडेर राजनीतिक, सामाजिक र आर्थिक सङ्गठनात्मक स्वरूप दिनु आवश्यक छ ।

आजको विश्वमा शक्ति सन्तुलनको स्थिति कस्तो छ ?

संयुक्त राज्य अमेरिका आजको प्रमुख साम्राज्यवादी शक्ति हो । हुन त, युरोपियन युनियन, रूस र चीन पनि विस्तारै साम्राज्यवादी शक्तिका रूपमा विकसित हुँदैछन् र उनीहरूको संयुक्त राज्य अमेरिकासितको अन्तर्विरोध तीव्र बन्दैगएको छ, खासगरेर रूस र चीन देखिने गरी नै अगाडि आएका छन् ।

साथै, पुँजी र साम्राज्यवादी अन्तर्विरोधको आधारभूत चरित्रमा साम्राज्यवादी  मुलुकहरू कागजी बाघ हुन् तापनि उनीहरूको  आधारभूत राजनीतिक तथा सङ्गठनात्मक ताकतलाई राष्ट्रिय तथा स्थानीय तहमा मात्र आकलन गर्नु हुँदैन ।

साम्राज्यवादको वर्तमान चरित्रका कारण अहिलेको अवस्थामा तेस्रो विश्वयुद्धको सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन ।

आत्मगत स्थितिका दृष्टिले क्रान्तिका लागि शक्ति सन्तुलनको स्थिति सकारात्मक छैन, तर वस्तुगत रूपमा यो सकारात्मक बन्दैगएको छ । क्रान्ति अहिलेको विश्वको मूल प्रवृत्ति हो भनेर एकदमै ठोकुवाका साथ भनिहाल्ने स्थिति छैन । विश्वभरिका क्रान्तिकारी शक्तिहरू राजनीतिक, वैचारिक र सङ्गठनात्मक रूपमा कमजोर नै छन् ।

अहिले विश्वमा ठूल्ठूला आन्दोलनहरू भएका छन्, जब कि अधिकांश रूपमा तिनको नेतृत्व क्रान्तिकारीहरूले गर्न सकेका छैनन्, उल्टै निम्न पुँजीवादीहरू अझ कतिपय सन्दर्भमा त बुर्जुवा तत्त्वहरूले तिनको नेतृत्व गरेका छन् । यस्तो हुँदाहुँदै पनि खास गरेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र फिलिपिन्सको कम्युनिस्ट पार्टीले गरेका जनआन्दोलनहरूले विश्वभरिका क्रान्तिकारीहरूलाई असीम प्रेरणा र उत्साह प्रदान गरेका छन् ।

क्रान्तिप्रति श्रमजीवी वर्ग र किसानको उत्कट चाहना छ : जब कि विद्यमान आत्मगत कमजोरीका कारण त्यो चाहनालाई व्यवहारमा अनुभूत गराउन सकिएको स्थिति छैन ।

यतिखेर विश्वमा कुनकुन शक्तिहरू क्रान्तिकारी शक्ति हुन् ?

अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा विश्वस्तरीय अन्तर्विरोध तीव्र भएको छ, त्यसैले विश्वको ठूलो भाग ओगटेका यी मुलुकहरू नै विश्वव्यापी रूपमा क्रान्तिकारी झन्झावातका मूल केन्द्र हुन् ।

सन् १९७६ देखि भएका सबैभन्दा उन्नत अनुभव पेरू, नेपाल, फिलिपिन्स र भारतको अनुभव हो । हुन त पेरू र नेपालको दीर्घकालीन जनयुद्धले बितेका दशकहरूमा ठूलो धक्का खाएको छ ।

र पनि अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका जनताले आजको विश्वक्रान्तिको मूल शक्तिको भूमिका निर्वाह गरिरहेका  छन् ।

आआफनो मुलुकका क्रान्तिकारी पार्टीको नेतृत्वमा रहेका विश्वका सर्वहारा नै क्रान्तिका नेतृत्वदायी शक्ति हुन् । यिनीहरूमध्ये पनि विश्वक्रान्तिका अगुवा शक्तिका रूपमा ती पार्टीहरू छन्,  जो पहिलेदेखि दीर्घकालीन जनयुद्ध चलाइरहेका छन् अथवा दीर्घकालीन जनयुद्धका लागि तयारी गरिरहेका छन्, उनीहरू नै आजको विश्वक्रान्तिको नेतृत्वदायी शक्तिका अग्रदस्ता हुन् ।

यस किसिमको शक्तिसन्तुलनले क्रान्तिकारी शक्तिहरूमा के-कस्तो किसिको प्रभाव परेको छ  ?

विद्यमान शक्तिसन्तुलनको स्थितिले विश्व माओवादी आन्दोलनमा वैचारिक र राजनीतिक भ्रम उत्पन्न गराएको छ । यसकारण अहिले क्रान्तिको पक्षमा लागिरहेकाहरू वैचारिक लाइन सङ्घर्षमा जोडिएर र एउटै सैद्धान्तिक आधारबिन्दुमा आउनु आवश्यक छ ।

बुर्जुवा र सर्वहारा वर्ग, साम्राज्यवाद र उत्पीडित जनताबीचको अन्तर्विरोध  सशस्त्र सङ्घर्षबिना पनि हल गर्न सकिन्छ भन्ने दृष्टिकोण पनि छ  ।  सही के हो भने सशस्त्र सङ्घर्षले खास देशको विशिष्टतासहित  दीर्घकालीन जनयुद्धको व्यापक रूप लिन्छ । नयाँ सत्ताको निर्माणका लागि पुरानो सत्ताको ध्वंश गर्नु  आवश्यक पर्छ । बुर्जुवा प्रजातन्त्रका सबै खम्बाहरू, संसद्वाद र बुर्जुवा चुनावहरूलाई क्रान्तिकारीहरूले बहिष्कार गर्नुपर्छ ।

पुँजीवादसित सम्बद्ध तीव्र रूपमा विकसित भएका अन्तर्विरोधहरू आर्थिक सङ्कटका परिणाम भएकाले यिनको  हल पनि त्यसैबाट गर्न सकिन्छ भन्ने भनाइ पनि छ । तर,  नयाँ जनवादी र समाजवादी क्रान्तिबाट मात्र यी अन्तर्विरोधहरूको हल गर्न सकिन्छ ।

साम्राज्यवादी मुलुकहरूमा पनि माओवादी पार्टी तथा सङ्गठनहरूले शास्त्रीय ‘विद्रोहवादी” रणनीतिबाट आफूलाई मुक्त गर्नैपर्छ । आफ्नो ठोस विशेषतामा  दीर्घकालीन जनयुद्धको रणनीति लागू गर्न कडा  मेहनत गर्नुपर्छ ।

शक्तिको निर्माणका लागि बैधानिक बाटोको प्रयोगको आवश्यकता र सम्भावना रहन्छ तापनि क्रान्तिकारीहरूले ठोसरूपमा र रणनीतिक किसिमले सशस्त्र सङ्घर्ष र जनयुद्धको तयारीमा लाग्नुपर्छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले यतिखेर भोगेको ठोस समस्याहरू के के हुन् ?

निश्चय पनि तिनीहरूमध्ये केही यस्ता छन् :
विश्वका अधिकांश मुलुकहरूमा माओवादी पार्टीको अभाव, वर्तमानमा भएका वर्गसङ्घर्षहरूमा नयाँ चुनौतीहरूका एकदमै कम प्रतिबिम्बन भएको छ ।  पार्टी र सङ्गठनहरूले मालेमालाई कागजमा मात्र नलिई यसलाई व्यवहारमा पनि अगाडि बढाउनुपर्ने आवश्यकता, र,“साइबर माओवादीहरू” को अत्यधिकता र पार्टी सेना, र जनआन्दोलनका साथै जनसत्ताको क्रान्तिकारी संयन्त्र निर्माणका लागि जुझारु शक्तिको जनाधारको समस्या ।

रूस र चीनमा संशोधनवादको स्थापना र पेरू र नेपालको क्रान्तिले खाएको धक्काले के-कस्ता समस्याहरूलाई उजागर गरेका छन्  ?

रूस र चीनमा संशोधनवादको विजय,  पेरू र नेपालको दीर्घकालीन जनयुद्धले खाएको धक्काले आ-आफ्नै किसिमका कुरामाथि प्रकाश पार्दछन् । दक्षिणपन्थी अवसरवाद र सामाजिक प्रजातन्त्रवादी प्रवृत्ति नै अहिलेको विश्वकम्युनिस्ट आन्दोलनले सामना गर्नुपरेको प्रमुख समस्या हो ।

समाजवादलाई उत्पादनको खास मोडका रूपमा मात्र हेरिनु हुँदैन, यो पुँजीवादबाट साम्यवादमा सङ्क्रमणको एउटा अवधि हो, जसमा वर्गसङ्घर्ष र विरोध जारी रहन्छ । यो सम्पूर्ण अवधिभरि क्रान्तिकारीहरू र सर्वहारा वर्गको अधिनायकत्वले पुँजीवादी उत्पादन सम्बन्धका विरुद्ध लड्ने र राज्यसंयन्त्रका पुराना रूपलाई समाप्त पार्दै साम्यवादको तयारीमा  लैजाने प्रधान काम हुन्छ ।

साम्राज्यवादी मुलुकमा पुँजीवाद र समाजवादका बीच अर्को कुनै चरण हुँदैन । र साम्राज्यदद्वारा उत्पीडित मुलुकहरूमा संशोधनवादी प्रचण्ड-बाबुरामले अगाडि सारेजस्तो  नयाँ जनवादी क्रान्तिअघि पनि अर्को कुनै पुँजीवादी चरण, भनौँ “उपचरण” हुँदैन ।

समाजवाद निर्माणका समस्याहरू एउटा अथवा बहुल पार्टीको राज्यसत्ताको अस्तित्वसित मात्र जोडिएका छैनन् : त्योभन्दा अझ माथि उठेर जनताको सङ्गठित आन्दोलन, बुर्जुवाहरू विरुद्ध वर्गसङ्घर्ष, पुराना सामाजिक सम्बन्धहरू तथा सडेगलेका विचारलाई ध्वस्त पार्ने कामसित पनि समाजवाद निर्माणका समस्याहरू जोडिएका छन् ।  पार्टीले आम जनतालाई नेतृत्व प्रदान गर्दै वैचारिक तथा राजनीतिक नेतृत्व गर्नुपर्छ, संस्थागत तथा सामान्य घोषणा मात्र नगरेर यसलाई व्यवहारमै नेतृत्व गनुपर्छ ।

यतिखेर विश्वभरिका क्रान्तिकारीहरूले गर्नुपर्ने ठोस कामहरू केके हुन् ?

हाम्रो पार्टी विनम्रताका साथ क्रान्तिकारीहरूले निम्न कार्यहरू गर्नुपर्ने कुरामा जोड दिन्छ :

क्रान्तिका तीन प्रमुख हतियारको निर्माण गर्नु : उदाहरणका रूपमा  क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी जनसमुदायको संयुक्त मोर्चा, क्रान्तिका लागि जनताको चेतना र प्रतिरोधी क्षमताको विकास र रूपान्तरणको नेतृत्व गर्नु, माओवादी पार्टी र सङ्गठनहरूको एकीकृत केन्द्र बनाउने वातावरणको निर्माण गर्नु ।

एकअर्काको स्वायत्तता तथा सार्वभौमिकतालाई स्वीकार्दै उनीहरूका बीच वैचारिक सङ्घर्ष (एकता-सङ्घर्ष-एकता)  साथै ठोस सहयोग तथा ऐक्यबद्धता दुवैको आवश्यकतामा जोड दिनु, क्रान्तिलाई सहयोग पुग्ने गरी क्रान्तिकारीहरूको नेतृत्वमा एउटा सही अर्थको साम्राज्यवाद विरोधी मोर्चाको निर्माण गर्नु,  राजनीतिक बन्दीहरूलाई जेल मुक्त गराउन र  अपरेसन ग्रिनहन्ट र अप्लान बायानिहान  (भारत र  फिलिपिन्समा प्रतिक्रियावादी सरकारले माओवादी आन्दोलन दबाउन चलाएको हत्याअभियान : अनुवादक ।)  विरुद्ध संयुक्त जनअभियानको विकास गर्नु, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसित सम्बद्ध  बहसछलफलमा आधारित सामग्रीहरू राखेर  वैचारिक प्रकाशनहरू प्रकाशित गर्नु, संयुक्त गतिविधिहरूलाई ब्यापक पाठकसम्म पुर्याउनु, जसले आन्दोलनको आवश्यकता अनुसार नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा एकताबद्ध पार्न महत्वपूर्ण  भूमिका खेलोस् ।

अनु : ऋषिराज बराल, २०१६, जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार