कुनै पनि राजनीतिक शक्ति र सरकार नामैले मात्र वामपन्थी र समाजवादी हुने गर्दैन । संसारको इतिहास हेर्ने हो भने नाममा वामपन्थी वा समाजवादी भएर पनि काम ती राजनीतिक दर्शनभन्दा ठीक विपरीत गर्ने पार्टीका मनग्य उदाहरण छन् । सँगै नाममा जुनसुकै शब्द भए पनि व्यवहारमा वामपन्थी वा समाजवादी भएका राजनीतिक शक्ति र सरकारका उदाहरण पनि प्रशस्त भेटिन्छन् ।

फासीवादी नेता हिटलरले पनि आफ्नो पार्टीको कार्यक्रममा ‘समाजवाद’ शब्द उल्लेख गरेका थिए, तर उनी व्यवहारमा कहिल्यै समाजवादी भएनन् । सन् १९६५ अघि क्युवाली नेता फिडेल क्यास्ट्रोको पार्टीको नाममा कुनै ‘समाजवाद’ वा ‘वामपन्थी’ शब्द झुण्ड्याइएको थिएन । तर सन् १९५९ को क्रान्तिपश्चात नै क्युवामा समाजवादी कार्यक्रम लागु गर्न उनको पार्टीले नेतृत्वदायी भूमिका खेलिरह्यो ।

नेपालमा आजभोलि आफ्नो नाममा ‘कम्युनिष्ट’ शब्द भएका दुई वटा राजनीतिक पार्टीहरुबीचको गठजोडलाई ‘वामपन्थी एकता’ भनेर खुब प्रचार गरिएको छ । वास्तवमा ती पार्टीहरु वामपन्थी हुन् वा होइनन् भन्ने कुराको निक्र्यौल त्यस्ता प्रचारबाजी र तिनका अभिव्यक्तिको भरमा गर्नु सत्यसम्म पुग्ने सही बाटो हुन सक्दैन । ती शक्तिहरु वास्तवमा वामपन्थी हुन् वा होइनन् र तिनले भनेका समाजवादका कुरा कस्तो प्रकारको हुनेछ भन्ने कुराको निक्र्यौल तिनको विगत समेतको मूल्याङ्कनका आधारमा गर्नु उचित तरिका हुनसक्छ । सजिलो के छ भने ती दुवै पार्टीले नेपालमा कुनै न कुनै कालखण्डमा सरकारको नेतृत्व गरिसकेका छन् ।

त्यसकारण तिनले सरकार चलाउँदाका बखत अंगालेका नीति र व्यवहारको आधारमा तिनीहरु वामपन्थी हुन् वा होइनन् र तिनले भनेको समाजवाद कस्तो खालको हुनेछ भन्ने कुराको निष्कर्षमा पुग्न हामीलाई सजिलो हुनेछ ।

एमालेका चार जना नेता र माओवादीका दुई जना नेताले नेपालमा सरकारको नेतृत्व गरिसकेका छन् । भिन्न राजनीतिक परिस्थितिमा सरकारको नेतृत्व गरे तापनि उनीहरुमध्ये कोही पनि नेताले नेतृत्व गरेको सरकारले नेपालमा समाजवादी कार्यक्रम लागु गरेको देखिंदैन । बरु उनीहरुले नेपालमा पूँजीवादी अर्थतन्त्रलाई नै बलियो बनाउन मद्दत गरेका छन् ।

संसारका कुनै पनि व्यवहारमा समाजवादी पार्टीले आफ्नो सरकार हुँदा शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, ढलनिकास, उर्जाजस्ता जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएका क्षेत्रलाई राज्यको नियन्त्रणमा ल्याई जनतालाई सामाजिक रुपमा सुरक्षित बनाउने काम गरेका हुन्छन् । समाजवादी र वामपन्थी सरकारले गर्ने यो आधारभूत काम हो । समाजवादी अर्थव्यवस्था अंगीकार नगरेका देशहरुमा पनि वामपन्थी वा समाजवादी सरकारले यो काम गरेका हुन्छन् वा कम्तीमा गर्ने प्रयास गरेका हुन्छन् । तर एमालेका चार सरकार र माओवादीका दुई सरकारले यस्ता कुनै पनि काम गरेका छैनन् । बरु जनताको जीवनसँग जोडिएका ती क्षेत्रहरुमा नवउदारवादी प्रणालीलाई संस्थागत गर्न तिनले काम गरेका छन् ।

पटक–पटक सरकारमा गएका राजनीतिक दल हुनुको कारण नेपालको वर्तमान अवस्थाको निम्ति एमाले र माओवादी दुवै दल जिम्मेवारी र जवाफदेही छन् । शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, ढलनिकास, उर्जा, सामाजिक सुरक्षामा आज नेपाली जनताले भोगिरहेका समस्याको लागि ती दुवै दलहरु जिम्मेवार छन् । यी क्षेत्रको वर्तमान अवस्थाबारे गहिरो अध्ययन गर्ने हो भने आजसम्म सरकार चलाएका कुनै पनि राजनीतिक दलले समाजवादी कोणबाट कुनै निर्णय गरेको छ भन्ने निष्कर्ष सही हुन सक्दैन ।

समाजवादको सामान्य अर्थ भनेको यी क्षेत्रलाई नाफाको शिकार नबनाउनु हो । निजी पूँजीको हालीमुहालीबाट ती क्षेत्रलाई जोगाएर जनतालाई गुणात्मक सेवा दिनु नै समाजवाद हो । वामपन्थी सरकारको सरल कर्तव्य यही हुने गर्दछ । त्यसको अर्थ पूर्णतः राज्यकेन्द्रित बन्दोबस्त हुनै पर्दछ भन्ने होइन । तर ती क्षेत्रमा नाफालाई निषेध गर्नु वामपन्थी र समाजवादी सरकारको दायित्व हो । तर के एमाले र माओवादीले ६ वटा सरकारको नेतृत्व गरेको हाम्रो देशमा यो अवस्था छ ? आज नेपालको शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, ढलनिकास, उर्जा क्रमशः निजी क्षेत्रको नाफा कमाउने डालो बनिरहेको छ । अझ कतिपय क्षेत्रमा त विदेश पूँजीलाई समेत हुलेको देखिन्छ । अनि यी पार्टीहरु कसरी वामपन्थी भए र तिनले भनेको समाजवाद काङ्ग्रेसको समाजवादभन्दा कति औंसले फरक हो ?

हामी यहाँ उत्पादनशील क्षेत्रमा निजी पूँजीको कुरा गरिरहेका छैनौं । संसारका कतिपय वामपन्थी सरकारले उत्पादनशील क्षेत्रमा निजी पूँजीको लगानीलाई खुला गरेका छन् । तर विशेषतः जनताका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा त्यसो गर्नु उदार पूँजीवाद पनि हुने गर्दैन । उदार पूँजीवादी पनि नभएका पार्टीहरु कसरी वामपन्थी र समाजवादी हुनसक्छन् ?

एमालेका केही नेता–कार्यकर्ता मनमोहन अधिकारीको सरकारले प्रदान गरेको वृद्धाभत्तालाई देखाएर समाजवादी कार्यक्रम लागु गरेको घमण्ड आजसम्म गर्न छोडेका छैनन् । चुनावको समयमा ज्येष्ठ नागरिकलाई एमाले जिते वृद्धभत्ता बढाउने आश्वासन दिएर मत बटुल्न समेत छोडेका छैनन् । तर वृद्धभत्ता दिनु नै वामपन्थी वा समाजवादी हुनुको द्योतक हुन सक्दैन । युरोपका कतिपय देशका अनुदार सरकार र दक्षिण कोरियाली सरकारले समेत सामाजिक सुरक्षा भत्ता दिने गरेका छन् । के तिनीहरु वामपन्थी वा समाजवादी सरकार हुन् ? विदेशको कुरा छोडौं, हालै मात्र काङ्ग्रेस नेतृत्वको सरकारले समेत वृद्धभत्ता बढाउने निर्णय गरेको छ । के अब काङ्ग्रेसलाई पनि वामपन्थी भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं । के माओवादी र काङ्ग्रेसको संयुक्त सरकार वामपन्थी सरकार थियो ?

अरु कुरा सामान्य रहे केही दिनपश्चात एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने अब लगभग पक्का हो । त्यो सरकार वामपन्थी सरकार त्यत्तिबेलामात्र हुनेछ जब त्यसले नेपालको शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, ढलनिकास, उर्जाजस्ता क्षेत्रहरुमा निजी क्षेत्रलाई निषेध गर्नेछ र सरकारमार्फत् ती क्षेत्र सञ्चालनमा ल्याइनेछ । सबै उत्पादन र सेवा क्षेत्रमा सरकारको भूमिका मात्र रेफ्रीको हुने अनि सबै खेलाडी नाफाखोर पूँजीपति हुने हो भने त्यो सरकार कदापि पनि वामपन्थी हुन सक्दैन । २०७० सालको संविधानसभा निर्वाचनको समयमा एमाले नेता माधव नेपालले माओवादी नेता प्रचण्डलाई ‘भित्ते राष्ट्रपति’ भने जस्तै ती काम नगर्ने हो भने अब बन्ने सरकार पनि मात्र ‘भित्ते वाम सरकार’ बन्नेछ ।
पूँजीवादी बन्दोबस्तमा व्यवसायिक भनिएका सञ्चारमाध्यमहरु स्वंय उद्योग हो । पूँजीवादी सञ्चारमाध्यमको धर्म नाफाको पक्षपोषण हो । किनभने ती सञ्चारमाध्यमहरु स्वंय नाफाखोर पूँजीपति वर्गका मुखपत्र हुन् ।

अब बन्ने सरकारले पूँजीपति वर्गले कुम्ल्याउँदै आएको नाफामाथि कुनै हमला नगर्ने र विदेशी पूँजीको सेवा गर्ने भएकाले आज ‘मुलधार’ भनिएका कतिपय सञ्चारमाध्यमले समेत वामपन्थी गठजोडको खुब हल्ला गरिरहेका छन् । तर साँचो कुरा के हो भने जब ती सञ्चारमाध्यमहरुले कुनै राजनीतिक शक्तिमाथि हमला गर्छ वा त्यसको प्रचार गर्दैन भने त्यो शक्ति नै सही वामपन्थी वा समाजवादी हुनेछ । किनभने जुन शक्तिले उनीहरुको नाफा र उनीहरुमार्फत् भित्र्याइएको विदेशी पूँजीको विरोध गर्नेछ, त्यो शक्तिको ती कथित मुलधारका सञ्चारमाध्यमले भुईपाताल जोडेर विरोध गर्नेछन् वा प्रचार गर्नेछैनन् । अनि नेपालका अधिकांश बुद्धिजीवीहरुले समेत ती कर्पोरेट मिडियाका प्रचारबाजीलाई नै सत्य मानेर आफ्नो दृष्टिकोणको कालीगढी गर्ने गरेका छन् । ठूला शक्ति र सत्ताको पुजा गर्ने चाकडी मानसिकताले उनीहरुलाई ती प्रचारबाजीको सत्यतामाथि अन्वेषण गर्न रोक लगाएको हुन्छ । फलतः उनीहरु पनि वामपन्थीको राग अलाप्ने गल्ती गरिरहेका छन् । यो बौद्धिकताको परिचायक कदापि होइन, बरु चाकडी प्रथाको नयाँ संस्करण मात्र हो ।

एमाले र माओवादीको विगत हेर्दा तिनीहरुले अब बन्ने सरकारमा वामपन्थी भूमिका निभाउने आशा अर्को दृष्टिदोष हुनेछ । चुनावको समयमा उनीहरुले आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको नारा खुबै लगाए । तर कुनै पनि देशलाई आर्थिक रुपमा समृद्ध बनाउँदैमा कुनै पनि सरकार वामपन्थी हुनसक्दैन । संरा अमेरिका, जापान र युरोपेली देशका शासकहरुले पनि आफ्नो देशलाई आर्थिक रुपमा समृद्ध बनाए । तर उनीहरु वामपन्थी थिएनन् । साथै राजनीतिक स्थायित्व नै वामपन्थी हुनुको द्योत्तक होइन । राणाशासन १०४ वर्ष र पञ्चायती बन्दोबस्त ३० वर्ष चलेको थियो । त्यसलाई एक प्रकारले राजनीतिक स्थायित्वको अवधि मान्न सकिएला । तर के ती बन्दोबस्त समाजवादी थिए अथवा के राणा र राजा वामपन्थी थिए ? निसन्देह थिएनन् ।

तसर्थ आज एमाले र माओवादीले जुन आधारमा आफूलाई वाम भनिरहेका छन्, ती कुनै पनि आधारलाई कसीमा घोटेर हेर्ने हो भने उनीहरुलाई वामपन्थी भन्न सकिने कुनै आधार छैन । उनीहरुले आफूलाई वामपन्थी भन्नु हामी काङ्ग्रेस होइनौं भन्ने अभिव्यक्ति मात्र हो । उनीहरुबाट त्यही शब्दको मोहजालमा परी धेरै आशा गर्नु र भर पर्नु फगत भ्रम मात्र हो । एमाले र माओवादीको लागि आज वामपन्थ कुनै सिद्धान्त र मान्यता नभई एउटा राजनीतिक चालबाजी मात्र हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार