लोकतन्त्र र गणतन्त्रको उपभोग गर्ने तर त्यसको लागि लड्नेहरुलाई सम्मान गर्न नसक्ने देश नेपाल हो र नेपाली समाजको एउटा तप्पका । जनयुद्ध र जनआन्दोनलको उपलब्धीको सक्नेजति उपयोग गर्नेहरु नै त्यसको लागि लड्नेहरुलाई धारे हान्छन् । उनीहरुलाई अपराधी भन्दै जेलमा पठाइन्छ ।

जनयुद्धका उपलब्धी राजनीतिक हुने र त्यसको लागि लड्नेहरु कसरी अपराधी हुन्छन् ? गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समानुपातिकलाई स्वीकार गर्ने न्यायलयले त्यसको लागि लड्न योद्धाहरुलाई अपराधी घोषणा गर्छ, कस्तो विडम्बना । नेपालको न्यायालय जनयुद्ध र जनआन्दोनलका उपलब्धीलाई भित्रैबाट मन नपराएका केही व्यक्तिको प्रतिशोध, पूर्वाग्राहको हतियार बनेको छ । त्यसैको एक उदाहरण हो, बालकृष्ण ढुंगेल प्रकरण ।

बालकृष्ण नेपालको आमूल परिवर्तनको लागि मृत्युको कसम खाएर लडेको योद्धा हो । उसको व्यक्तिगत स्वार्थ केही थिएन । जे गर्यो समाज र जनताको लागि, जनयुद्धका कमाण्डर प्रचण्डको आदेशको पालना गरेको योद्धा हो बालकृष्ण । त्यही योद्धालाई जेल हाल्ने पनि मेरै न्यायलय हो । विधि र ऐनलाई कागजमै थन्काएर आग्रह, पूर्वाग्राहमा चलेको राज्य संरचना भएको देश पनि मेरै हो ।

बिगतका इतिहास हेरौं, भण्डार पर्व, कोतपर्व, भिमसेन थापा काण्ड, लखन थापा, धर्मभक्त माथेमा, दशरतचन्द्र ठकुरी, शुक्रराज शास्त्रीजस्ता शहिदहरु, भिमद जस्ता राष्ट्रवादीहरु, राजा महेन्द्रको चितवनमा रहस्यमय हत्या, सुखानी, झापा बिद्रोह, प्रजा परिषदका सहिदहरु, बहुदलीय प्रजातान्त्रका शहिदहरु, जननेता मदन भण्डारी, राजा बिरेन्द्रको वंश नास, जनयुद्धका शहिदहरु, घाइतेहरु–अपांगहरु, लोकतान्त्रका निमित्त सहिद हुनेहरु, घाइते हुनेहरु, मधेस, थारु, दलित, जनजाति र मुस्लिम समुदायले आफ्नो संवैैधानिक अधिकार माग्दा शहिद हुनुपर्ने मेरो देश, जहाँ अरबौ भ्रष्टाचार गर्ने चिरञ्जीवी, गोबिन्दराज जोसी, खुम्बहादुर खड्का, चुडामणी शर्मा, लोकमान कार्की, कृष्ण सिटौला, रुबेल चौधरी यी र यस्तै धेरै नामधारीहरु गल्ली– टोलदेखि शहरसम्म र सरकारी कर्मचारीमा ९०५ घुसखोरी कर्मचारी, ९९५ घुसखोरी हालसम्म बनेका राज्य सरकार जसले समाजमा सम्मान र इज्जत पाउँछन् । हो त्यो हो मेरो देश, जहाँ शक्ति र पत्ती, दारु र भारु, तरुनी र मारुनीको इसरामा चल्छ मेरो देश ।

लेखक खराल ।

समाजको लागि राम्रो गर्ने व्यक्ति वा पार्टीलाई खुलाउने मेरो देशमा डा. केसीलाई गिरफ्तार गर्नु कुनै ठूलो कुरो थिएन तर फेसबुके अभियान्तहरुले चिच्चाएको देख्दा दया लागेर आयो । यी फेसबुके बुद्धिजिवीहरुले व्यवस्था परिवर्तनको लागि लड्ने योद्धाको बारेमा नबोल्ने देख्दा उनको बौद्धिकस्तर पनि राम्रोसँगै देखि सकिएको छ । नेपालको अस्तित्वमाथि दिन दहाडै बलात्कार गरिँदा, सामान्य ज्वरोका कारणले जाजरकोट र जम्लामा नागरिकले ज्यान गुमाएको कसैको मन दुखेन । जाडो ढाक्ने एकसरो लुगा नभएर ज्यान गुमाइरहेका तराई–मधेसमा दिनदिनै ज्यान गुमाउन बाध्य भएको नदेख्ने मेरै देश हो । मेरै देशका ठूलाबडा भनाउँदाहरु, जसका चश्माले जनतालाई देख्दैन ।

२०५९ सालतिरको कुरा हो, म काठमाडौंको घन्टा घरमा हिड्दै गर्दा पुसको महिनामा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सडकमा थिए । उनले ज्ञानेन्द्रको ‘कू’ विरुद्ध नारा लगाउँदा प्रहरीले लाठी र बुट प्रहार गरिरहेको थियो । प्रजातन्त्रको पक्षमा नारा लगाएकै कारण प्रहरीको लाठी खाएका थिए । अझ यही गणतन्त्रको लागि जनयुद्ध गरेका प्रचण्डसहितका नेताहरुको टाउकाको मूल्य तोकिएको देश पनि मेरै हो । यो कसैले भुलेका छैनन् । गणतन्त्रको लागि लड्दा सहिद भएका र अझै वेपत्ता पारिएकाहरुको बारेमा मौन बस्ने पनि यही समाज र बुद्धिजिवी हुन् । हुन त यो विर्गीय कुरो हो । यो पनि थाहा छ । डा. केसीको जेलमा लिँदा रोइकराई गर्नेहरुले व्यवस्थाको लागि बोल्ने हिम्मत गर्न सक्नुपर्छ ।

डा. केसीले स्वास्थ्य क्षेत्र सुधारको लागि केही काम गरेका छन् । त्यसको लागि धन्यवाद दिन सकिन्छ । केसीको आन्दोनलमा साथ दिन जति जरुरी छ त्यो भन्दा कयौं गुणबढी समाज र व्यवस्था परिवर्तनको लागि लडेकाहरुको सम्मान गर्दै उनीहरुको पक्षमा बोल्न जरुरी छ । केसीले सुधारको लागि लडेका छन् तर बालकृष्णले त व्यवस्था परिवर्तनकै लागि लडेका हुन् । ती जनमुक्ति सेनाले पनि समाजकै लागि लडेका हुन्, उनीहरुलाई कारवाही गरेजस्तै गरेर खाडी पठाइएको छ । खै उनीहरुको पक्षमा बोलेको ?

बालकृष्ण ढुङ्गेलजस्ता योद्धाहरुको बारेमा आखिर किन बोल्न चाहदैन यो समाज ? उनलाई पनि त्यही अदालतले नै त हो जेल कोच्न आदेश दिएको । अब माओवादी लगायत बामशक्ति परिवर्तनको निमित्त आहुती दिने योद्धाहरुको पक्षमा सडकमा उत्रनेकी नाई ? प्रश्न बाम गठबन्धन र परिवर्तनगामी शाक्तिहरुलाई ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार