कुनै बेला नेपाली क्रान्तिको नायकको रुपमा क्रान्तिकारी छवि बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्गीय र राष्ट्रिय आत्मसर्मपणवादमा पतन भएसँगै आज दुनियाँभरी प्रहशनको पात्र बन्न पुगेका छन् । र, आज उनको नयाँ चिनारी बन्न पुगेको छ –लम्पसारवादी ।

यो चिनारी उनको मात्र होइन, उनले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द)्को पनि हो । त्यसैले यसलाई कतिपयले नेकपा लम्पसारवादी केन्द्र पनि भन्न थालेका छन् । सिंगो पार्टीको दिशा र त्यसको समग्र क्रियाकलापहरु नै लम्पसारवादबाट निदेर्शित हुनुले पनि उसलाई नयाँ चिनारी दिनुको सार्थकता पुष्टि हुन्छ । पुष्पकमल र उनको पार्टीको नयाँ चिनारी बोकेर यतिबेला निकै चर्चामा आएको लम्पसारवाद आखिर के हो त ? यो कुन कुन रुपमा अभिव्यक्त भएको छ । यसका सैद्धान्तिक र वैचारिक आधार के हुन् ? कस्तो छ यो समुह लम्पसारवादमा पतनको श्रृखला ? यहाँ यस सम्बन्धि छोटो चर्चा गरिने छ ।

के हो लम्पसारवाद ?

गद्धारी र आत्मसमर्पणको अन्तिम अभिव्यक्ति लम्पसारवाद हो । राजनीतिक रुपमा वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद, वैचारिक रुपमा विचलनवाद, सांस्कृतिक रुपमा चाकडीवाद र दार्शनिक रुपमा भक्तिवादको केन्द्रकृत र अन्तिम अभिव्यक्तिको रुपमा लम्पसारवाद देखा पर्दछ । अर्काे अर्थमा भन्नुपर्दा आफ्ना सम्पूर्ण ध्यय, उद्देश्य, निष्ठा, आदर्श र मूल्यप्रतिको प्रतिवद्धतामाथि विश्वासघात र गद्धारी गर्दै दुश्मनको बफादार नोकरमा परिणत हुनु र आफ्नो सम्पूर्ण पहिचान दुश्मनको सेवामा समर्पित गर्नु लम्पसारवाद हो । त्यसकारण लम्पसारवादीहरुको स्वतन्त्र अस्तित्व हुदैन ।

लम्पसारवादमा पतनको श्रृंखला

माओवादी आन्दोलनको एउटा धारा नेकपा (माओवादी केन्द्र) कसरी लम्पसारवादमा पतन हुन पुग्यो त ? यो बुझ्नको निमित्त यसको पतनको श्रृखलाबद्ध शिलशिला बुझ्न जरुरी छ । यो शिलशिला खोज्न तत्कालिन नेकपा माओवादी) सम्म पुग्नु पर्ने हुन्छ । यसरी हेर्दा जनयुद्धको नेतृत्व गरेको तत्कालिन नेकपा माओवादी)को २०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले गरेको नेतृत्वको प्राधिकार र विचार संश्लेषण सम्बन्धी दिशा निर्देश नै यो शिलशिलाको आधारशिला बनेको देखिन्छ ।

त्यतिबेला विचार संश्लेषणको रुपमा प्रचण्डपथ निर्माण गरियो । यो निराधार रुपमा निर्माण गरिएको प्रचण्डपथलाई स्थापित गर्न भनेर प्रचण्डको हदैसम्मको देवत्वकरण गरियो । मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओवादको पछाडि प्रचण्डपथ थपियो । र, विश्व क्रान्तिका महान गुरुहरुको समकक्षी हुने गरी प्रचण्डको फोटो सजाइयो । प्रचण्डपथको औचित्य र आधार पुष्टि गर्न लेखहरु प्रकाशन गर्ने, गराउने र लेखको प्रारम्भमा प्रचण्डको भनाइलाई राख्नु पर्ने चलन नै स्थापित गरियो । त्यति मात्र होइन, पार्टीमा को क्रान्तिकारी हो र को होइन भन्ने कुराको मापदण्ड नै प्रचण्डपथको भजनकिर्तनलाई बनाइयो ।

यो गलत अभ्यासले कम्युनिष्ट क्रान्तिकारीहरुमा हुनै पर्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र आलोचनात्मक चेतलाई दुरुत्साहित ग¥यो भने नेतृत्वप्रतिको रामभरोसे बुझाइलाई प्रोत्साहित ग¥यो । यसले मालेमावाद सम्बन्धी आाधारभुत सैद्धान्तिक अध्ययन संस्कृतिको विकासमा समेत गतिरोध पैदा ग¥यो । जनयुद्धको योजना र दैनिन्दिनका संघर्षका कार्यक्रम सम्बन्धी प्रशिक्षण बाहेक सैद्धान्तिक अध्ययन अध्यापनको कडि नै टुट्यो । जसले गर्दा माओवादी आन्दोलनको बैचारिक साँस्कृतिक धरातल जनयद्धको तीव्र विकासको तुलनामा धेरै पछि प¥यो । यही कमजोर वैचारिक, सांस्कृतिक धरातलबाट नै प्रतिक्रान्ति जन्मियो ।

लेखक

२०५५ मा सम्पन्न पार्टीको चौथो विस्तारित वैठकबाटै नेतृत्व केन्द्रीकरणको अभ्यास सुरु भयो र त्यसलाई सांगठनिक रुपले मात्र होइन, वैचारिक रुपले समेत प्राधिकारपूर्ण बनाउने काम दोस्रो राष्ट्रिय सम्मेलन मार्फत गरियो । यो गलत अभ्यासले जनवादी केन्द्रियतालाई लत्याउदै पार्टी र क्रान्तिको भाग्य र भविष्यको फैसला गर्ने जिम्मा पार्टीको सुप्रिमोको रुपमा प्रचण्डको नियतिमा छोडिदियो । पार्टीको विधि, विधान र पद्धति भन्दा प्रचण्डको नियति निर्णायक बन्न पुग्यो । यसले प्रचण्डको चरम महत्वाकांक्षा र स्वेच्छाचारिता दुवै मौलाउने भौतिक परिवेश निर्माण गरिदियो ।

भित्रभित्रै वैचारिक रुपले विचलित र सांस्कृतिक रुपले स्खलित भइसक्दा पनि छट्टु प्रचण्डले आफूलाई क्रान्तिकारी आवरणमा प्रस्तुत गरिरहे । जब उनले आफ्नो चरित्र अनुकूलको राजनीतिक यात्रा तय गर्नको लागि सुरक्षित अवतरणको दिशा समातेर क्रान्तिकारी आन्दोलनलाई “डाइभर्ट” गरे, त्यसपछि मात्र क्रान्तिकारीहरुले पार्टीभित्र नेतृत्व गलत दिशामा गएको अनुभूत गरे । र, दुई लाईन संघर्ष सुरु भयो । त्यतिखेर सम्म प्रचण्ड पार्टीको नियन्त्रण बाहिर गइसकेका थिए ।

यहाँसम्म आइपुग्दा पार्टीमा एकातिर प्रचण्डलाई अद्भुत चमत्कारकको रुपमा बुझ्ने र प्रचण्डले जे गरे पनि त्यो क्रान्ति नै हुन्छ भन्ने मनोविज्ञान हावी भइसकेको थियो भने अर्काेतिर नेतृत्वप्रति प्रश्न उठाउदा वित्तिकै राजनीतिक भविष्य खतरामा पर्ने भौतिक परिवेश निर्माण भइसकेको थियो । यो परिवेशले प्रचण्डलाई क्रान्तिकारी शब्दजालको आवरणमा दक्षिणपन्थी विसर्जनवादको यात्रा संस्थागत गर्न सहज बनाइदियो ।
क. किरण र क.गौरवहरु भारतीय जेलमा रहेको मौका छोपी प्रचण्डले यो काम सम्पन्न गरेका थिए । वास्तवमा इमान्दार, निष्ठावान र सिद्धान्तनिष्ठ क्रान्तिकारी तप्का वाहेक पार्टीको ठूलो हिस्सा वैचारिक सांस्कृतिक रुपले नितान्त खोक्रो भइसकेको थियो । किनकि कम्युनिष्ट क्रान्तिकारी बन्नेतिर होइन, शासक बन्ने तिरको ध्यानध्याउन्नमा पार्टीलाई केन्द्रित गरियो । कम्युनिष्ट क्रान्तिकारी बन्ने बनाउनेतिर होइन, सत्ता प्राप्तिको साधनको रुपमा मात्र कार्यकर्तालाई उपयोग गर्न जोड दिइयो । यसले भोग–विलासतर्फको चिन्तन संस्कृति हावी हुने र त्यसकै निमित्त प्रभावशाली नेताको चाकडी गर्ने होडवाजीको अवस्था सिर्जना ग¥यो । हिजो जनयुद्धको राप र तापले पार्टीभित्रको यो हदसम्मको विचलन र विकृति छोपिएको थियो । जनयुद्धको विसर्जनसंगै यो विचलन पार्टीको आधारभूत दिशा बन्न पुग्यो । यही विन्दुबाट माओवादी आन्दोलनले विघटनको दिशा समात्यो ।

आन्दोलनको विघटनसंगै माओवादी क्रान्तिकारीहरु र विचलनवादीहरुबीच सम्बन्धविच्छेद र धु्रविकरण प्रक्रिया अगाडि बढ्यो । क्रान्तिकारीहरु पार्टी पुनर्गठन गर्दै अगाडि बढे भने विचलनवादीहरु संसदवादमा पतन हुदै दलाल तथा नोकरशाहीतन्त्रमा संसदीय उठापटकीको अभिन्न अङ्ग बन्न पुगे । प्रचण्डको यो विचलनको यात्रा अगाडि बढने क्रममा बर्गीय र राष्ट्रिय आत्मासमर्पणवादहुँदै अन्ततः लम्पसारवादमा टुंगिएको छ ।

यी सबै तथ्यबाट के पुष्टि हुन्छ भने प्रचण्ड समुहको लम्पसारवादमा पतनको मुल आधार वैचारिक विचलन नै हो । क्रान्तिकारी सिद्धान्तप्रतिको इमान, निष्ठा र अटुट विश्वासको अभाव, त्यो सिद्धान्तलाई आफ्नै जीवनशैलीमा सतत् अभ्यास गर्ने कष्टसाध्य ध्याउन्नको अभाव र पार्टीले लिएका कतिपय गलत नीतिहरुको अभ्यासको कूल योगको अनिबार्य परिणामको रुपमा यो बिचलन देखा परेको हो ।

किन पतन भए प्रचण्ड लम्पसारवादमा ?

क्रान्तिकारी ध्यय–उद्देश्य परित्याग गरेर क्रान्तिप्रति गद्धारी गर्दै संसदीय व्यवस्थालाई स्वीकार्न पुगेका प्रचण्डले पार्टीलाई एमालेकरण मात्र गरेनन, त्यो भन्दा अघि बढेर पार्टीलाई एमालेमा बिलय गराउने निष्कर्ष निकाल्दै पतनको पराकाष्ठामा पुगे, अर्थात लम्पसारवादी बन्न पुगे । किन त्यसो भयो त ? यो परिघटना उनको आत्मगत चाहनाबाट मात्र घटित भएको होइन । किनकि उनी र उनको पार्टी जुन धरातलबाट जसरी आयो, त्यसलाई अर्काे एमाले बनेर स्वतन्त्र अस्तित्वकासाथ बसि खान सम्भव नै थिएन । यसको पछाडि मुलतः २ वटा कारण छन् ।

पहिलो, एउटै राजनीतिक प्रणालीमा एउटै वर्गीय धरातल र एउटै राजनीतिक चरित्र बोकेका दुइ वटा पार्टीको समान अस्तित्व रहन सम्भव हुदैन । त्यसमा पनि नेपालको संसदवादी वामवृृत्तमा एमालेको जग बलियो नै छ । पार्टी सञ्चालनको विधि, पद्धति र व्यवस्थित प्रणालीमा एमाले अभ्यस्त छ । त्यो तुलनामा प्रचण्ड समुह निकै भद्रगोल र अस्तव्यस्त छ । राजनीतिक एजेण्डाको दृष्टिले पनि कुनै सुस्पष्ट दृष्टिकोण छैन । यो समुह कुन मामलामा कहाँनेर चुक्छ र कहाँनेर झुक्छ भन्ने कुनै ठेगान नै छैन । यो स्थितिमा सत्ताको लागि संघर्षमा बैदेशिक शक्तिकेन्दको सहारा लिनुु उसको निमित्त अपरिहार्य आवश्यकता बन्न पुग्यो । लम्पसारवादमा पतन हुनुको पहिलो कारण उसको यही राजनीतिक चरित्र नै हो ।

दोस्रो, प्रचण्डले जनयुद्धको सुरक्षित अवतरणको गन्तव्य पुरानै संसदीय व्यवस्थालाई बनाएर सत्ताको रस्वादन त गरे, त्यसको निमित्त महान १० वर्षे जनयुद्धका सम्पूर्ण उपलब्धीहरु समेत ध्वस्त पारेर देशी विदेशी प्रतिक्रियावादीहरुको विश्वास जित्ने भरमग्दुर प्रयास पनि गरे । त्यसो गर्ने क्रममा प्रचण्ड सामाज्यवादीहरुको उपयोगको एउटा निरिह पात्रको रुपमा परिणत हुँदै गए । सामाज्यावादले नेपालको माओवादी आन्दोलनलाई कमजोर पार्न प्रचण्डलाई उपयोग ग¥यो । तर प्रचण्डको द्वन्द्धकालिन मुद्दाहरुबाट उन्मुक्तिको अभिलाशा अधुरै रह्यो ।
ठीक यही तनावपूर्ण मनस्थितिले नै प्रचण्डलाई लम्पसारवादसम्म पु¥यायो । क्यान्टोनमेन्टको भ्रष्टाचार प्रकरण अख्तियारमा पुगेपछि त्यहाँबाट जोगिने प्रयासमा महाभ्रष्टाचारी लोकमानसिंह कार्कीलाई नै अख्तियार प्रमुख बनाएका प्रचण्डले लोकमानबाट नै असुरक्षित देखेपछि महाअभियोग लगाएर उनलाई हटाए । आज युद्ध अपराधको अभियोगबाट आफूलाई जोगाउन राष्ट्रलाई समेत दाउमा चढाएका छन् । यसले के देखाउँछ भने देश, जनता भाँडमा जाओस, आफू जोगिन पाए पुग्छ भन्ने निकृष्ट मनोविकारको शिकार भइसकेका छन् प्रचण्ड ।

प्रचण्डले भारत भ्रमणको क्रममा गरेको २५ बुँदे राष्ट्रघाति सहमति, भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदा देखाइएको चाकडीको लिला, फिजीकरण र सिक्किमीकरणको दिल्ली मिसनकै अभिन्न अङ्गका रुपमा मधेशमा नागरिकता वितरण टोली खटाउनु, संविधान संसोधनको नाममा भारतीय रुची अनुरुप अंगिकृत नागरिकलाई राज्यको उच्च ओहोदामा प्रवेशको बाटो खोल्ने, हिन्दी भाषालाई राष्ट्र भाषाको मान्यता दिने, मधेशमा स्थानीय निकाय थप गर्ने जस्ता कामको लागि मरिहत्ते गर्नु भारतीय शासकबर्गलाई रिझाउने प्रयत्नकै उपज हुन ।

यसै गरी त्रिभुवन विमानस्थलमा भारतीय एयरमार्र्सल राख्न दिने सहमति, बुटवलमा भारतीय सेनाको पेन्सन क्याम्प राख्न दिने सहमति, भारतीय रुचि अनुसार नै नेपाल आयल निगम र नेपाल राष्ट्र बैंकलाई निजिकरणको नाममा भारतीय कर्पाेरेट घरानालाई सुम्पिने तयारी थाल्नु, तेस्रो देशमा उत्पादित एल.इ.डि.बल्ब भारतीय व्यापारिक कम्पनीबाटै खरिदको प्रक्रिया अगाडि बढाउनु लम्पसारवादकै अभिव्यक्ति हुन । यो शिलशिला कांग्रेससंगको अपवित्र चुनावी गठजोड हुदै पछिल्लो समय एमालेमा बिलय हुने बाध्यात्ममक निष्कर्षमा पुगेर टुंगिएको छ । यसले हाम्रो राष्ट्र र राष्ट्रिय स्वाधिनतामाथिको खतरालाई कयांै गुणा बढाइदिएको छ ।

देशको निमित्त नेता मर्न तयार हुनुपर्छ । तर नेताको निमित्त देशलाई मार्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन । आफू बाँच्नको लागि देशलाई मार्ने प्रचण्डको लम्पसारवादी नीतिको अन्तिम परिणति लेन्डुपवाद हो । माओवादी आन्दोलन भित्रका इमान्दार क्रान्तिकारीहरुले यतिबेला गम्भीर ढंगले सोच्न जरुरी छ ।

निश्चित रुपमा यतिबेला द्वन्द्वकालिन मुद्दाहरु हामी सबै माओवादीहरुका साझा चिन्ता र चासोको विषय हुन् । तर यी मुद्दाहरु सामाज्यवादसामु लम्पसार परेर समाधान हुने विषय होइनन् । क्रान्तिकारी राजनीतिमा यस्तो आत्मसमर्पण र गद्धारी अक्षम्य अपराध मानिन्छ । संशस्त्र संघर्ष फेरी पनि हुन्छ । यस्ता मुद्दाहरु फेरी पनि आउँछन । क्रान्तिकारीहरुका लागि एकचोटि निप्टाएर सधैको लागि हाइसञ्चो हुने विषय यी होइनन ।
तर क्रान्तिकारी आन्दोलनबाट भागेकाहरुलाई यो विषयले तनाव दिनु स्वभाविक छ । किनकि उनीहरु क्रान्तिको सपना देख्न छोडिसके तर द्वन्द्वकालिन मुद्दाहरुको आतंकले भने छोड्दैन । छोड्नेवाला पनि छैन । सामाज्यवादको जति नै गुलामी गरे पनि उसले उपादेयता देख्दा सम्म प्रयोग गर्छ, अनि फ्याँकिदिन्छ । त्यसैले क्रान्तिकारीहरुको भविष्य क्रान्तिले नै सुनिश्चित गर्छ । क्रान्तिकारीहरुले आफ्नो जीवन क्रान्तिमा देख्न छोडनु हुदैन । यो अर्थमा फेरी पनि क्रान्तिकारी आशावादका साथ क्रान्तिको झण्डालाई दरोसंग पक्रिने प्रण गर्नुको विकल्प हामी कसैसंग छैन । लम्पसारवादमा होइन । हामी सबैको भविष्य क्रान्तिमा छ ।

नेपाली क्रान्तिको इतिहासमा नेतृत्वको विचलन, जनयुद्धको विसर्जन र प्रतिक्रान्ति दुखद परिघटना हुन । यसै शिलशिलाको अन्तिम परिणतिको रुपमा माओवादी केन्द्रको लम्पसारवादमा पतन एउटा प्रहशनमय परिघटना हो । त्यहाँभित्रका क्रान्तिकारीहरुले आफूलाई प्रहशनको पात्र हुन बाट जोगाउन गम्भीर बन्नै पर्दछ । यो भुल्नु हुदैन कि अव प्रचण्डको दर्दनाक अवशानलाई कसैले रोक्न सक्दैन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार