नेपाल कम्युनिस्ट पार्टीले संसदीय दलाल पुँजीवादी व्यवस्थाको चुनाव खारेज गर्ने नीति लिएको छ । यो नीतिलाई नेपाली जनताले क्रान्तिकारीहरूको साथमा व्यवहारिक रूप दिंदा ठोस कारवाही तथा घटनाहरूका रूपमा ल्याएका । तर यी कारवाहीलाई लिएर लोकतन्त्रमै खतरा पैदा भएको विश्लेषण गरिँदैछ । त्यसैले के हो लोकतन्त्र ? कसरी बुझ्ने चुनाव खारेजीका कारवाहीलाई ? अनि अब के हुन्छ र गर्नुपर्छ त ? यसबारे संक्षिप्त चर्चा गर्ने प्रयास गरौं ।

लोकतन्त्रको विकल्प छ ?

आज के भनिंदैछ भने लोकतन्त्रमा चुनावको विकल्प हुँदैन । त्यसैले चुनावको विरोध लोकतन्त्रकै विरोध हो । अझ यसमा बम पड्काउनु त अक्षम्य अपराध हो । त्यसो भए लोकतन्त्रमा जनतालाई चुनाव बहिष्कार र अधिकारको लागि विद्रोहको अधिकार हुन्छ कि हुँदैन त ? यदि यो अधिकार हुन्छ र जनताले प्रयोग गर्छ भने यसको अर्थ चुनाव र लोकतन्त्रको पनि विकल्प हुन्छ भन्ने हो । यसरी जनताले विकल्प खोज्छ भने हामीले लोकतन्त्रका बारेमा नै विचार गर्नुपर्ने स्थिति आउँछ । वास्तवमा आजको लोकतन्त्रमा ‘लोक’ (जनता) बाट ‘तन्त्र’ अलग्गिएको छ र यो जनतामाथि बाध्यात्मक बोझ बनेर थोपरिएको छ । यो तन्त्रले जनताबाट लिएको मात्रै छ दिएको केही छैन । जस्तो कि विदेशिन बाध्य लाखौं युवाहरूको विप्रेषण र करबाट बाँचिरहेको राज्यले ती युवा र जनतालाई पराधीनता र दुःखबाहेक अरू के दिएको छ र ? साँच्चै भन्ने हो भने यो लोकतन्त्र पनि हजारौं वर्ष पहिलेको दास समाजमा जस्तै दासलाई छोडेर मालिकहरूको मात्रै लोकतन्त्र भए झैं यो लोकतन्त्र आज पनि वर्ग सापेक्ष छ । वास्तवमा आजको लोकतन्त्र भनेको नेपालको सन्दर्भमा दलाल पुँजीपति वर्गको लोकतन्त्र हो ।

कानुनतः संविधानमा सबै जनतालाई चुन्ने र चुनिने समान अधिकार हुन्छ भनिए पनि वस्तुतः वास्तविक अर्थमा पुँजीपतिको मात्रै चुनिने, जनताको चुन्ने मात्रै भूमिका छ । यही प्रयोजनको लागि चुनाव हुने गर्छ । त्यसैले यस्तो चुनावमा जनताले भाग लिनुको कुुनै औचित्य नै हुँदैन । स्पष्ट छ कि, अहिलेको लोकतन्त्रमा हुने चुनावमा धेरै पुँजी (रूपैयाँ) चाहिन्छ तर त्यो पुँजी आम जनतासँग हुँदैन पुँजीपतिसँग हुन्छ र त्यो मिहिनेतबाट हैन दलाली, भ्रष्टाचारी र तस्करीबाट कमाइन्छ । यदि मिहिनेतबाट कमाइने भए जनता उहिल्यै पुँजीपति भैसक्थे । फेरि अहिलेको राजनीतिप्रतिको आस्था टुटिसकेकोले कसैले पनि आफ्नो घरजग्गा बेचेर चुनाव लड्दैन र जो चुनाव लड्छ त्यसको उद्देश्य देश र जनताको सेवा गर्नु हुँदैन ।

यसरी जब जनताको लामो बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतन्त्र नाम मात्रको हुन्छ तब त्यो लोकतन्त्रमा हुने चुनावमा मतदान गर्नु बम हान्नु जस्तै अलोकतान्त्रिक हुन्छ भने त्यो लोकतन्त्रमा बम हान्नु भनेको पनि मतदान गर्नु जस्तै लोकतान्त्रिक हुन्छ । यहाँ के कुरा ख्याल गरौं भने अहिलेको परिवर्तनको लागि हिजो जनयुद्ध लडेका जनता नै यसको विपक्षमा छन् भने यी बमहरू त अराजकता हैन कि धैर्यताका अभिव्यक्ति मात्र हुन् । वास्तवमा हिजो जसले यो लोकतन्त्र प्राप्तिको लागि अग्रमोर्चामा रहेर बलिदानीपूर्ण सङ्घर्ष गरे, आफन्त गुमाए, अंग प्रत्यअङ्ग गुमाए, आफ्नो उर्बर र रहरिलो बैंस गुमाए । हो आज तिनै वीर योद्धाहरूलाई न्यूनतम न्याय र अधिकार दिन नसक्ने यो लोकतन्त्रले अरू जनतालाई न्याय र अधिकार दिनै सक्दैन किनकि यो लोकतन्त्र त मुट्ठीभर दलाल पुँजीपति वर्गको लोकतन्त्र हो । त्यसैले वर्तमान लोकतन्त्रको विकल्प आम जनताको प्रतिनिधित्व गर्ने वास्तविक लोकतन्त्र छ र हुन्छ । जुन लोकतन्त्रका लागि जनताको सङ्घर्ष आवश्यक छ । त्यही जनसङ्घर्षको एक पक्ष चुनाव खारेज अभियान पनि बनेको छ ।

चुनाव खारेजका कार्वाही के हुन् र कसरी बुझ्ने ?

जसरी राज्यले स्थानीय चुनावपछि खासगरी नयाँ सुरक्षा रणनीति अवलम्वन गरेको थियो ठिक त्यसरी नै पार्टीले पनि खारेजीको नयाँ रणनीति अख्तियार गर्न आवश्यक थियो । यो नयाँ रणनीति भनेको स्थानीय चुनावको खारेजी अभियानमा व्यक्त मालकोट तथा कर्णालीको उत्कर्षलाई विस्तार गर्ने रणनीति हुन्थ्यो र थियो । सबभन्दा पहिले यहाँ के स्पस्ट हुनुपर्दछ भने अहिलेको चुनावमा लाखौं विदेशिन बाध्य युवाहरूसहित अधिकांश जनताले मतदान गरेको छैन र एकदम न्यून मतदान भएको छ । यसले चुनाव खारेजीको वैज्ञानिकता र सफलतालाई व्यक्त गरेको छ । अहिलेको कथित पहिलो चरणको चुनावमा माल्कोटको विस्तार कालीकोटकै सान्नी, रास्कोटको मुम्रा, क्यूरी र रुकुमको आठविसकोटसम्म भयो । मुगु शोभाको मुगुकै धैनमा विस्तार भयो भने थवाङ आफनो क्रान्तिकारी विरासतलाई कायम राख्ने अभियानमा सक्रिय रह्यो ।

मंसिर ९ गते राती सान्नी रास्कोटको मुम्रा क्युरीमा रहेको बुथ पार्टीकै खारेजीको नीति र नेतृत्वमा निःशस्त्र जनताले साढे दुई घण्टा भिडेर सम्पूर्ण रूपमा कब्जा गरे । जहाँ प्रहरीतर्फ असई गिरीराज भण्डारी र जवान रामबहादुर चौधरी घाइते भएपछि १० गते विहान उपचारार्थ हेलीबाट नेपालगन्ज लगियो भने स्थानीय महेन्द्र्र शाही र टंक विक सामान्य घाइते भए । तर चुनाव स्थगित भएन । सिपखानाको सेरा बुथ केन्द्रबाट मतपेटिका लिएर चुनाव गराइएपछि जनता गएनन् । मात्रै २ जनाले सबैको नक्कली मत हाले र कथित लोकतन्त्रको खिल्ली उडाए तर रुकुुमको आठविसकोटको गतसैना र बाँफीकोट काँडाको बुथमा भने मतपेटिकामा आगो हालेर ध्वस्त भएपछि चुनाव नै स्थगित भयो । फेरि मंसिर १५ गते पुनः मतदान हुँदा पनि बम विस्फोट भएपछि एकदम न्यून मतदान भयो । त्यसैगरी १० गते मतदान सकिएपछि मुगुको धैनको बुथमै निर्वाचन टोली निःशस्त्र जनताको घेरामा परेपछि भएको झडपमा प्रहरीले १६ राउन्ड हवाई फायर गरेपनि प्रहरीतर्फ नै घाइते हुन पुगे । यसरी स्थानीय चुनावमा शोभा र मालकोटमा व्यक्त उत्कर्षको विस्तार सान्नी रास्कोटको क्यूरी, मुगुकै धैन हुँदै रुकुमको आठविसकोटसम्म भयो । यी पछिल्ला घटनाहरू पनि एकातिर एकीकृत जनक्रान्तिको व्यवहारिक अभिव्यक्ति हुन् भने अर्कोतिर माल्कोट उत्कर्षको विस्तार मात्र हैन बरु थप सुदृढीकरण र समृद्धिका अभिव्यक्ति पनि हुन् । तर चुनावमा नकरात्मक असर पर्ने ठानी यी घटनाहरूलाई सञ्चार माध्यमहरूले धेरै प्रचारमा ल्याएनन् ।

अहिलेको चुनाव खारेजी अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको बम विस्फोटको श्रृङ्खला हो । यसको प्रचारलाई सञ्चार माध्यमहरूले चाहेर पनि रोक्न सकेनन् । यहाँ स्पष्ट हुनुपर्ने कुरा के छ भने जब जनताले चुनावमा क्रान्तिकारीहरू सँगै असहमति जाहेर गरेर बहिष्कार वा खारेजी मार्फत् आफ्नो अभिमत प्रकट गरे तब त्यो जनताको जनमतलाई सुन्नुको बदला शासक वर्ग दमनको नीतिमा अगाडि बढ्यो । जब शोषक वर्गले जनआवाजलाई सुनेन र दमनमा अगाडि बढ्यो करिब एक हजार नेता कार्यकर्ता र जनताको गिरफ्तारी यही दमनको परिणाम हो तब जनताले बम विस्फोटनद्वारा आफ्नो आवाज सुनाउन र आत्मरक्षाको लागि प्रतिरोध गर्न आवश्यक ठाने । परिणाम स्वरूप यो बम विस्फोटनको श्रृङ्खला अगाडि आएको हो । यसरी सम्पूर्णरूपले बम विस्फोटनको कारण वर्तमान राज्य र शासक वर्ग बनेको छ । तर राज्यले यसलाई उम्मेद्वार लक्षित हिसांत्मक अपराधिक घटनाको रूपमा परिभाषित गर्दैछ । यसबाट दुईवटा कुरा स्पस्ट हुन्छन्–पहिलो राज्य विद्यमान दलाल पुँजीवादी वर्गको लोकतन्त्रलाई आम जनताको स्वाधीन लोकतन्त्रमा विकास गर्ने विषयमा छलफल बहस गर्न तयार नै छैन । बरु यसलाई जबर्जस्त जनताको लोकतन्त्र सावित गर्न चाहन्छ । दोस्रो राज्यले शान्ति चाहेको छैन कि फेरि युद्ध चाहेको छ र त्यसको लागि राजनीतिक समस्याको फौजी समाधान खोज्न उद्यत भएको छ ।

अब जनयुद्ध २ कि एकीकृत जनक्रान्ति ?

अहिले कसैले मानेपनि–नमानेपनि नेपाल वैचारिक र राजनीतिक रूपले स्पष्टतः दुई धु्रवमा विभाजित भएको छ । पहिलो अहिलेको संविधान लोकतन्त्र मान्ने र दोस्रो नमान्ने अनि विकल्प खोज्ने । पहिलोले देशलाई संकटमा धकेल्छ भने दोस्रोले त्यसबाट मुक्ति दिन्छ । जब यो वैचारिक र राजनीतिक विभाजन समयमै उचित ढङ्गले हल हुँदैन तब त्यो अनिवार्य फौजी टक्करमा व्यक्त हुन्छ र फौजी टक्कर भनेको शान्तिपूर्ण हुनै सक्तैन । त्यस्तो भए यो फौजी टक्करको स्वरूप कस्तो होला त ? अब हुने फौजी टक्कर हाम्रो पार्टीको विश्लेषणमा गृहयुद्धको रूपमा नभएर राष्ट्रिय युद्धको रूपमा हुनेछ किनकि अब नेपालमा जनयुद्ध २ हैनकि एकीकृत जनक्रान्ति हुनेछ । जहाँ क्रान्तिकारी जनताले मात्र होइन पुरानो राष्ट्रवादी सुरक्षा फौजले पनि भाग लिनुपर्छ ।

यो एकीकृत जनक्रान्तिको उद्देश्य भनेको वर्तमान असफल दलाल संसदीय व्यवस्थाको अन्त्य र देशको पूर्ण स्वतन्त्रतासहित वैज्ञानिक समाजवादको स्थापना हो । त्यसैले एकीकृत जनक्रान्तिको निशाना हो– एक प्रतिशत मुट्ठिभर दलाल संसदीय पुँजीपति वर्गीय लोकतन्त्र । के साच्चै तपार्इंहरू अहिलेको लोकतन्त्रसँग सन्तुष्ट हुनुहुन्छ ? के यो लोकतन्त्रले युवाको निराशा, पलायन र भ्रष्टाचार रोकेर देशमै रोजगारी दिन सक्छ ? के तपाईहरू हाम्रो देश नवउपनिवेश बनेको हेरेर बस्न सक्नुहुन्छ ? यदि सक्नुहुन्न भने यसको विकल्प किन नखोज्ने ? अनि विकल्प खोज्दा राज्य दमनमा उत्रिएर जबरजस्त युद्ध थोपर्छ भने यो युद्धको विकल्प एकीकृत जनक्रान्ति किन नरोज्ने ? साँच्चै अब हाम्रो क्रान्तिमा बब अभाकियनले भने झैं यी नाराहरू सही हुनेछन्– निराश भएकाहरूको आशा हो क्रान्ति, जनताको सेवा गर, कसैसँग नडराउ । पहिलो चरणको निर्वाचनमा ४० प्रतिशतभन्दा कम मतदाताले मतदान गरेका छन् । तर ६५ प्रतिशत भनेर झूठो प्रचार गरिएको छ । यस्ता झूठहरू प्रचार गर्ने संसदीय व्यवस्थाको चरित्र नै हो ।

अन्तमा चुनाव त आउँछ जान्छ । यो दुई दिनको रमाइलोबाहेक केही होइन । चुनावपछि स्थायी सरकार र विकास हुन्छ भन्नु पनि जनतालाई भ्रम दिनु हो किनभने संसारमा देश र जनताको मुक्ति संसदीय चुनावबाट हैन क्रान्तिबाट मात्रै भएको इतिहास छ । जब देश र जनताको पूर्ण मुक्ति हुँदैन तबसम्म शान्ति र विकास त जनतालाई ठग्ने र दमन गर्ने शासकीय हतियार मात्र सावित हुन्छन् । त्यसैले हामीले दलाल राज्यले लादेको गृहयुद्धको विकल्प एकीकृत जनक्रान्ति कार्यदिशा अगाडि सारेका छौं । जसको माध्यमले वैज्ञानिक समाजवादी व्यवस्था स्थापित हुन्छ अर्थात समाजवादी क्रान्ति सम्पन्न हुन्छ ।

जुन क्रान्तिले अहिलेको नक्कली लोकतन्त्रको अन्त्य र वास्तविक लोकतन्त्रको स्थापना गर्नेछ । जब वास्तविक जनतन्त्रको स्थापना हुनेछ तब मात्रै त्यो जनतन्त्रको चुनाव साँचो अर्थमा जनताको लागि उत्सव हुनेछ र जनताले बमको सट्टा पटाका पड्काउने छन् ।

रातो खबरबाट । 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार