उद्देश्य एउटा लिएर राजनीतिक गतिविधि अगाडि बढाएको कुनै पनि राजनीतिक दलले आफ्नो उद्देश्यमा नपुग्दै फरक बाटो लिई गतिविधि गर्नुलाई संशोधनवाद भनिन्छ । आफ्नो मार्गनिर्देशक सिद्धान्तको रुपमा रहेको कुनै सिद्धान्तको बाटो कठिन भएको महसुस गरी विभिन्न किसिमबाट उक्त उद्देश्यमा पुग्न सकिने अवधारणाको विकास गर्नु वा नयाँ सिद्धान्त प्रतिपादन गरेको धक्कु लगाउनु संशोधनवाद हो ।

संशोधनवादबाट कुनै पनि राजनीतिक दल आफ्नो आजूमा पुग्न सक्दैन । केही समय त्यस्ता दलहरूले जनतालाई झुक्याउन सक्दछ तर जब जनताबीच वास्तविकता बाहिर आउँछ, जब जनताको मन मस्तिष्कले सही र गलत छुट्याउने सामथ्र्य राख्दछ, जब जनता राजनीतिक रुपले सचेत हुन्छ तब ती संशोधनवादी राजनीतिक दलहरू जनताबाट तिरस्कृत हुन्छन् । इतिहासले यही बताउँछ । लेनिनको नेतृत्वमा रहँदा सोभियत सङ्घमा मजदुर वर्गले माक्र्सको सिद्धान्तलाई पछ्याउँदै आमूल परिवर्तनको महत्व देखेका थिए, त्यतिबेला महान नेता भ्लादिमिर लेनिनले आमूल परिवर्तनबाट मात्र समाजवादी शासन व्यवस्था स्थापना हुन्छ भने मान्यताले सङ्गठित शक्ति तयार गरेको थियो । उक्त सङ्गठित शक्तिले सन् १९१७ मा बोल्सेभिक पार्टीको नेतृत्वमा महान रुसी अक्टोबर क्रान्ति सफलतापूर्वक सम्पन्न भयो  ।

समाजवादी व्यवस्था स्थापना भयो । समाजवादी व्यवस्था स्थापनापश्चात् जनताले सुख शान्ति पाउन थाले, धनी र गरीब बीचको भेद क्रमशः हट्दै गए, शिक्षा र स्वास्थ्यमा निः शुल्क उपचारको बन्दोबस्त भयो, बेरोजगारहरूलाई रोजगारीको ग्यारेण्टी दियो र रोजगारी प्राप्त हुनुभन्दा अगाडि बेरोजगारी भत्ताको व्यवस्था गरियो । अक्टोबर समाजवादी क्रान्ति अगाडिको क्षतविक्षत रुस हेरेका, पढेका र अनुभव गरेका रुसी जनताको लागि सन् १९१७ पछाडिका दिनहरू उज्याला दिनका रुपमा अगाडि आए । गरीबी, भोकमरी, बिरामी, बेरोजगारी आदि समस्याहरू क्रमिक रुपमा समाधान हुँदै गए । पूँजीवादी शासन व्यवस्थाले दुई तीन सय वर्षमा गर्न नसकेका विकासका कामहरू समाजवाद स्थापना भएपश्चात् बीस तीस वर्षमा सम्पन्न भएपछि पूँजीवादी देशहरूमा भुईंचालो गयो ।

अमेरिकी पूँजीवादी सरकारले दसकौं लगाएर गर्न नसकेको काम सोभियत रुसले केही वर्षमा गरेपछि अमेरिकी सरकारलाई ठूलो धक्का पर्यो । समाजवादको स्थापना र विस्तारबाट त्रसित अमेरिकी र युरोपेली देशका सरकारहरूले समाजवाद ध्वस्त गर्ने अनेक प्रपञ्च रच्न थाले । सोभियत रुसमा आएको समाजवादकै कारण अन्य कैयौं स–साना राज्यहरू पनि त्यसको अनुकरण गर्दै समाजवाद स्थापनामा लागे । तर पूँजीपति वर्गलाई यसरी संसारमा उदाएको नयाँ सिद्धान्त, विचारधारा आफू अनुकूल नदेखेपछि समाजवादको पतनको तानावाना बुन्न थाले । त्यसैको परिणतिस्वरुप सन् १९९० को दशकमा आउँदा सोभियत रुसमा समाजवादको अस्थायी हार भयो । समाजवादको अस्थायी हारले पूँजीपति वर्ग खुसीले गद्गद् भए । तर जनता पूर्ववत् स्थितिमा फर्कनु पर्दा अत्यन्त कष्टकर र पीडादायी क्षणहरू बिताउन बाध्य भए ।

अमेरिकी सरकारहरूले विभिन्न नामका एनजीओ र आइएनजीओलाई त्यसको निम्ति सक्रिय पारेका थिए, करोडौं डलर खन्याएका थिए भने बोल्सेविक पार्टीकै केही दलाल नेताहरूलाई आफ्नो हातमा लिन अमेरिकी पूँजीवादी सरकार सफल भयो । ती पार्टीका नेताहरूले आफ्नो समयमा सशस्त्र क्रान्तिबाट मात्र समाजवाद सम्भव छ भन्ने विश्व दार्शनिक कार्लमाक्र्सको विचारलाई तोडमरोड गरी प्रस्तुत गरेका थिए । शान्तिपूर्ण तरीकाबाट अर्थात् निर्वाचनको माध्यमबाट सरकारमा पुगेपछि समाजवादी विशेषताअनुसार काम गरे जनता खुशी हुन्छन् । अब उप्रान्त समाजवादको लागि रगत बगाउन नपर्ने नयाँ सिद्धान्त अगाडि सारे । त्यतिबेलै सच्चा समाजवादी र कम्युनिष्ट पार्टीहरूले यसलाई संशोधनवादी विचार हो भनी खण्डन गरेका थिए ।  समाजवादको विघटनपछि रुसी जनता सन् १९१७ भन्दा अगाडि अक्टोबर समाजवादी क्रान्ति हुनुभन्दा अगाडि जस्तो खालको कठिन र पीडादायी अनि अभावको जीवन थियो आज त्यही जीवन बिताउन बाध्य भएका छन् । वि.सं २००६ सालमा नेपालको कम्युनिष्ट पार्टीको स्थापना गर्दा माक्र्सवादी, लेनिनवादी विचार र सिद्धान्तलाई आत्मसात गरेका थिए । आमूल परिवर्तन क्रान्तिबाट मात्र सम्भव छ र क्रान्तिको लागि क्रान्तिकारी पार्टी चाहिन्छ भने विश्वव्यापी मान्यता बोकेको दर्शन थियो ।

नेपालको कम्युनिष्ट पार्टी स्थापनाकालमा समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राखिएको थियो । २०४६ सालको राजनतिक परिवर्तनपछि नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी विचारको प्रवेश भयो । जसअनुसार आमूल परिवर्तनको लागि सशस्त्र क्रान्ति आवश्यक छ भने दर्शनलाई परिवर्तन गरी तात्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले जबज अर्थात् जनताको बहुदलीय जनवाद भित्र्याएर कम्युनिष्ट आन्दोलनलाई ओझेलमा पार्ने चेष्टा गरे । निर्वाचनबाट सरकारमा पुग्ने उही संशोधनवादी नीतिको नयाँ संस्करण सावित भयो जबज । रुसी संशोधनवादी नेताहरूकै सूत्र प्रयोग गरेका नेपालका कम्युनिष्टहरूले निर्वाचनमा भाग लिए, सरकारमा पुगे तर समाजवादी व्यवस्थाका विशेषताहरू लागू गर्ने कुरा त कता हो कता बरु पूँजीवादी व्यवस्थालाई हुर्काउन मलजल दिने काम गरे ।  संसारका कम्युनिष्टहरूको आजु भनेको नै समाजवादको बाटो हुँदै साम्यवादमा पुग्नु हो । समाजवादी विशेषताअनुसारका गतिविधि गर्ने, गराउने अधिकार प्राप्त वैधानिक निकाय भनेको सत्ता हो । तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायतका केही राजनीतिक दलहरू जो कम्युनिष्टको आवरणमा छन् तिनीहरूले संशोधनवादी नीति स्वीकार गरेको हुनाले कम्युनिष्टको आचरण बाँकी छैन वा तिनीहरू नक्कली कम्युनिष्ट हुन् भन्ने कुुरा स्वयम् ती पार्टी आवद्ध नेता कार्यकर्ता स्वीकार्छन् ।

बहुदलीय शासन व्यवस्था स्थापना भएपश्चात् नेकपा (एमाले) ले ४ पटक सरकारको नेतृत्व गरिसकेका छन् भने नेकपा माओवादी केन्द्रले ३ पटक नेतृत्व गरिसकेका छन् । तर आफू सत्तामा हुँदा कुनै पनि विधेयक देश र जनताको हितमा नल्याएर तिनीहरूले आफ्नो सक्कली चरित्र देखाइसकेका छन् । यस अर्थमा ती नेताहरू रुसी वोल्शेविक पार्टीमा देखापरेका संशोधनवादीहरूझैं नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका संशोधनवादीहरू हुन जसले देश र जनताको हितमा काम गर्नै सक्दैनन् । तिनीहरू जनतालाई सत्तामा जाने भ¥याङ बनाउँदैछन् । राजनीतिक रुपले सचेत भइनसकेका जनताको आँखामा छारो हाली आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछन् । यो कुरा थाहा पाएर नै होला, वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनबाट बहुमत प्राप्त दलका प्रधानमन्त्री नेकपा (एमाले) का तात्कालीन अध्यक्ष मनमोहन अधिकारीले अमेरिकाको न्यूजवीक पत्रिकामा अन्तर्वार्ता दिंदा आफूहरूको कम्युनिष्ट शब्द टे«डमार्कमात्र भएको बताएका थिए । आज धेरै पछाडि वास्तविकता बाहिर आइसकेको छ ।

अनलाइनमजदुरमा प्रकाशित लेखकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार