हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ।

तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।

ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।

१ हजार अमूल्य ग्रन्थ ध्वस्त
गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”

भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए।

नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।

राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?

मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।

सबै व्यापारी भागाभाग
यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”

भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्‍यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो।

१५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।

विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।

भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।

अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?

द्वैध चरित्रका शासक
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।

आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए।

पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ?

यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।

यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।

यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।

नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ।

पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।

इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।

अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको !

एकीकरण हैन, सिमाना विस्तार
पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ?

इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।

हार्नेको वाहवाही, जित्नेको इतिहास खोई?
नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर।

शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे।

उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो।

भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ।

आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार