नेपाल कम्युनिस्ट पार्टी चितवनले जिल्लामा सरकारले आफ्ना पार्टीका नेता–कार्यकर्ता, समर्थक र शुभचिन्तकको घरमा खानतलासी तथा धरपडक गरेर आतंक मच्चाएको बताएकाे छ ।

चितवन जिल्ला इन्चार्ज बिसीले एक विज्ञप्ति जारी गरेर सरकारले संकटकालको झल्को दिने गरी जिल्लामा श्वेत अातंक सिर्जना गरेकाे बताएका छन् ।

इन्चार्ज बिसीले जिल्ला सदस्य कृष्ण बराल, मित्र केसी, समिर थापा, अखिल क्रान्तिकारीका जिल्ला सहसचिव सुदिप पौडेल, जिल्ला सदस्य दिवस भुसाललाई सरकारले गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।

आफैले बनाएको संविधान, ऐन र कानुनको धज्जी उडाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रतिवन्ध लगाएको बिसीले विज्ञेप्तमार्फत उल्लेख गरेका छन् ।

बिसीद्धारा जारी विज्ञप्तिको पूर्णः

विगत केही दिनदेखि चितवनमा एमाले माओवादी केन्द्रको सामाजिक दलाल पुँजीवादी सरकारको निर्देशनमा प्रहरीले हाम्रो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्ने र घरमा खानतलास गर्ने गरेको छ । हालै पार्टी डिसिएम कृष्ण बराल, मित्र केसी, एसिएम समिर थापा, अखिल क्रान्तिकारीका जिल्ला सहसचिव सुदिप पौडेल र जिल्ला समिति सदस्य दिवस भुसाल्लाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको छ । यसैगरी सर्वसाधरण जनतालाई पनि हाम्रो पार्टीको नाममा गिरफ्तार गरी हिरासतमा राखिएको छ ।

विगतमा राज्यले लगाएको संकटकालको समयमा जस्तोगरी पार्टीका जिल्ला सदस्य क. ध्रुबलगायत अन्य कार्यकर्ताको घरमा छापा मार्ने र परिवारलाई आतङ्कित गर्ने काम गरिएको छ । आफैले बनाएको प्रचलित संविधान,ऐन र कानुनको आफै धज्जी उडाएको छ । दलाल संसदीय व्यवस्था र यसका प्रतिनिधिले गर्ने करछली, भ्रष्टचार, कमीसनखोर, जमिन दृष्टिबन्धक राख्न लगाएर किसानलाई भुमीहिन बनाउने र घुसखोरीको संरक्षण गर्न सामाजिक दलाल सरकारले हाम्रो पार्टीको नेता कार्यकर्ताको घरमा खानतलास, धरकपड र गिरफ्तारी गर्ने गरेको छ । हाम्रो पार्टी दलाल सरकार र यसका कथित स्थानीय निकायले जनतामाथि जवरजस्त थोपरेको करलगायत सबै हरकतविरुद्ध आन्दोलन गरिरहेको छ । यसैले जनता र राष्ट्रलाई बरवादी गर्ने दलालहरु जनताको पक्षमा गरिएको आन्दोलनको निशानामा पर्ने कुरा स्वभाविकै हो ।

गिरफ्तार गरिएका हाम्रो पार्टीको कार्यकर्ता शिघ्र रिहाई नगरे आन्दोलन चाप र मात्रा अझ बढने कुरा निश्चित छ । त्यसैले गिरफ्तार गरिएका हाम्रो पार्टीको कार्यकर्ताको शिघ्र रिहाइको माग गर्दछौ । अन्यथा आन्दोलन गर्न वाध्य हुनेछौ । यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वंय सामाजिक दलाल सरकार हुनेछ ।

लालबहादुर वि.सी
इन्चार्ज
नेपाल कम्युनिस्ट पार्टी चितवन ।
२०७४ चैत्र ३०

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार