बीबीसी नेपाली सेवाको साझा सवाल ५२४ औं अंक ‘रोल्पाली जीवन’ शीर्षक कार्यक्रम हेरेपछि प्यूठानका एक युवा सीताराम केसीले सामाजिक संजाल फेसबुकमा व्यक्त गरेको विचार हो यो । अघिल्लो हप्ता उक्त साझा सवाल कार्यक्रम रेकर्डको लागि बीबीसीले माओवादी केन्द्रका नेता नेता वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुखसमेत रहेकी पुन–पत्नी ओनसरी घर्तीलाई रोल्पा जेलबाङ पु¥यायो ।

आफ्नो बदलिएको जीवनशैलीमा पुगेका पुन–दम्पत्ती सहिदका पिता मंगले बुढाको निवासमा पुग्दा जनयुद्धकालमा आफूहरू बास बस्ने पुरानो छाप्रो उही हालतमा देखे । अहिले आफ्नो उच्चस्तरको घरानियाँ जीवनशैलीका अगाडि  मंगलेबुढाको पुरानो छाप्रोमा अहिलेसम्म सरकारी कोषबाट दिइने राहत नपाएका सहाराविहीन सहिद बा–आमाको कष्टकर जीवन देख्दा ओनसरी घर्ती भावविह्ल भइन् र बोल्नसमेत सकिनन् । बीबीसीले रेकर्डको गरेको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । हजारौंले उक्त भिडियो हेरे र प्रतिक्रिया व्यक्त गरे । धेरैका प्रतिक्रिया धेरैथरीका भए पनि अधिकांशका विचार एक–आपसमा मिल्दा–जुल्दा छन् । प्रायःजसोको निष्कर्ष त्यति ठूलो जनयुद्ध लडेको माओवादीले वर्ग बदलेको र बाटो बिराएको भन्ने छ ।

भिडियो हेरेपछि प्रतिक्रिया दिंदै केएम शर्मा ओलीले जनयुद्धपछि माओवादी केन्द्रमा  भ्रष्टाचारीहरू मौलाएको भन्दै के जनयुद्ध, जनसत्ता र जनसेना सीमित नेता वा व्यक्तिलाई सत्तामा पु¥याउने भ¥याङ थियो त भनी प्रश्न गरेका छन् र भनेका छन्– ओनसरीका गोहीका आँसुले सहिद परिवारको पीडा र छाक मेटिँदैन । जनयुद्धकालीन समयमा बनेको सहिदमार्ग रुकुम, रोल्पा सल्यानका जनताले श्रमदान गरेर बनाएको हो तर अहिले रोल्पाका नेताहरूले आफूले जसलिन खोजेको शर्माको भनाइ छ ।

तत्कालीन नेकपा (माओवादी) ले स्थानीय जनसत्ताको अभ्यास गरिरहेको बेला २०६०/०६१ सालतिर दाङदेखि रोल्पा थबाङ जोड्ने सडकखण्डको नुवागाउँ, होलेरी, तिला, घर्तीगाउँ हुँदै थबाङ जोड्ने सहिदमार्ग निर्माण गरेको थियो । त्यतिबेला विभिन्न जिल्लाका मानिसहरूले श्रमदान गरेका थिए । यस्तै जनमुक्ति सेना र पार्टीका कार्यकर्तासमेत महिनौं दिन श्रम गरेका थिए । अहिलेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ त्यतिबेला क्रमशः केन्द्रीय आधार इलाकाको इन्चार्ज र सहायक इन्चार्जको जिम्मेवारीमा थिए । उनीहरूकै मुख्य योजनामा उक्त सहिदमार्ग निर्माण  भएको थियो । आजभोलि माओवादी केन्द्रमा रहेका नेताहरूले उक्त सडकलाई आफूहरूले गरेको विकास भन्ने गरेका छन् ।

जनयुद्धका सपनामाथि घात र खेलवाड गर्ने वर्षमान–ओनसरीले जनयुद्धकालको अजम्बरी गाउँ भनेर चिनिने जेलबाङमा पुगेर सहिद बा–आमाको अगाडि किन आँसु झारेको नाटक गरेका होलान् भनी कतिपयले प्रश्न पनि गरेका छन् । कतिपयले यो प्रतिनिधिमूलक घटना भएको र कम्युनिस्ट विचार एवं प्रतिक्रान्तिको ठोस प्रमाण मंगले बुढाको जीवन हो पनि भनेका छन् । आज मंगले बुढाजस्ता सयौं सहिद परिवारको अवस्था निकै दुःखदायी छ भन्ने सयौं प्रतिक्रिया छन् । केही नेता र सीमित मान्छेको जीवन फेरियो, वर्ग उठ्यो तर मंगले र फर्की बुढाहरूको न जीवनस्तरमा कुनै परिवर्तन आयो, न उनीहरूले देखेको सपना नै पूरा भयो, कतिपयको यस्तो भनाइ छ ।

नेकपाका पोलिटब्युरो सदस्य रणवीर जेलबाङका सहिद परिवारको जीवनले केही गम्भीर प्रश्न उठाएको भन्दै वास्तविक तथ्यहरू पनि उजागर भएको बताउँछन् । उनी भन्छन्– अब नेपालको शान्ति प्रक्रिया पूर्ण रूपमा असफल भएको छ र प्रचण्ड नेतृत्वको क्रान्ति असफल भएपछि साम्राज्यवादीद्वारा कम्युनिस्ट विचार र क्रान्तिप्रति तीव्ररूपमा चौतर्फी हमला भइरहेको छ । यसको उद्देश्य कम्युनिस्ट विचार र क्रान्तिप्रति घृणा जगाउनु हो । यही उद्देश्य सफल बनाउन मंगले बुढाजस्ता सहिद परिवारलाई अबोध दयाको पात्र बनाइएको र संसारभर प्रस्तुत गरिएको नेता रणवीरको भनाइ छ ।’ उनी भन्छन्– प्रचण्ड–बाबुरामले जनयुद्धका सपनाहरूको हत्या गरेपछि हामी क्रान्तिको बाटोमा अघि बढेका छौँ, जनयुद्ध गलत थियो भन्ने बनाउनका लागि केही साम्राज्यवादीहरूले जेलबाङका मंगले बुढाजस्ता पात्रहरूलाई चर्चामा ल्याएका हुन् र यो सुनियोजित छ ।

क्रान्ति र परिवर्तनका सपना बाँड्ने नेता र उनका नजिकका व्यक्तिहरूको जीवन निकै बदलिए पनि जनयुद्धकालीन नमुना गाउँहरू थबाङ, जेलबाङका सहिद परिवारको अवस्था बदलिएको छैन । जनयुद्धको बेला तत्कालीन शाहीसेना र प्रहरीले थबाङ र जेलबाङमा आगो लगाएर सयौं घरहरू ध्वस्त पारेको थियो । मगर संस्कृतिअनुसार घरमा घर जोडिएका थबाङ र जेलबाङमा एउटा घरमा लगाएको आगो धेरै घरहरूमा फैलिँदै गएपछि धनजनको ठूलो क्षतिसमेत भएको थियो । दोहोरो लडाइँमा बाहेक जेलबाङमा सेना–प्रहरीले दर्जनौं स्थानीय व्यक्तिहरूलाई पक्राउ गरी मारेको छ । अंगभंग हुने घरबारविहीन हुने र बलात्कृत हुने महिलाहरूको सूची पनि जेलबाङमा निकै लामो छ ।

सीताराम केसीले भनेजस्तै बीबीसीको पछिपछि सहाराविहीन सहिद बा–आमाको झुपडीमा बदलिएको जीवनशैलीमा वर्षमान र ओनसरी पुगे । यहाँ हाम्रो पार्टीको ध्यान नपुगेको र पहुँचको कमी भएको रहेछ भनी डाँडामाथिका घाम भइसकेका सहिद माता–पिताका सामु घुमाउरो तरिकाले आफूले बाटो बिराएको कुरा स्वीकार गरे ।

अनन्तले सहिदको घरको छाना बनाइदिने र राहत दिलाइदिने आश्वासन त दिए तर यो देशमा सरकार र पात्रहरू फेरिए पनि व्यवस्था नफेरिएसम्म मंगले बुढालगायतको जीवन कहिल्यै फेरिनैछैन ।

रातो खबर साप्ताहिक

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार