नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको चुनाव निकै महंगो भएकोले आफुजस्ता नेताले चुनाव लड्न नसकेको बताएका छन् । हालै एक मिडियामा अन्तर्वार्ता दिदै ज्ञवालीले पार्टी संचालन र चुनावी खर्च गर्न पैसावालहरुको दास बन्नु पर्ने दुखद अवस्था रहेको बताएका छन् । यसले गर्दा सबै दलहरु दलाल पुँजीपतिहरुको फन्दामा परेको ज्ञवालीको दावी रहेको छ । यही सन्दर्भमा नागरिक रेडियोले ज्ञवालीसँग लिएको वार्ताको सम्पादित अंश :

अहिले चुनाव मँहगो भयो भने टिकट नलिएर बस्नुभएको तपाइँलगायतका केही नेताहरु छन् भन्नुभयो । चुनाव कति महँगो छ र?

वास्तवमा अहिले चुनाव निकै मँहगो भएको छ । यो मध्यमवर्गका नेता तथा कार्यकर्ताले धान्न नसक्ने गरी मँहगो भएको हो । यो प्रवृति नेकपा एमालेमा मात्रै होइन सबै पार्टीहरुमा छ । यसलाई सबै पार्टीहरुले समयमै विशेष कानुन बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । यदि पार्टीहरुले यस विषयमा ध्यान दिएनन् भने मुलुक गम्भिर संकटमा पर्नेछ । अहिले पार्टीहरु दलाल पूँजीपति वर्गको चंगुलमा परिरहेका छन् । उनीहरुले देशलाई आफ्नो व्यक्तिग स्वार्थ अनुरुप प्रयोग गर्न खोजिरहेका छन् । (यस्तै स्थिति रहिरह्यो भयो भने) धेरै लामो संघर्षपछि प्राप्त लोकतन्त्र धरापमा पर्छ ।

धेरै मध्यमवर्गका उम्मेदवारहरुले विगतका चुनावमा लागेको ऋण अझै तिर्न सकेका छैनन् । मैले एक दर्जनभन्दा बढी साथिहरु भेटेको छु की जसले आर्थिक अभावका कारण चुनाव लड्ने आँट गर्नुभएन। उहाँहरु सक्षम हुनुहुन्छ। विगतमा पनि उहाँहरुले चुनाव जित्नुभएको हो । जनतामा लोकप्रिय हुनुहुन्छ । राजनीतिक संस्कार विग्रदै गएर उच्च आर्थिक चुनावी भारका कारण उम्मेदवार बन्नुभएको छैन ।

चुनाव महंगो भयो भनेर सरकारले दलहरुलाइ दिने गरि एक मत एक रुपैयाँ नीति पनि प्रस्ताव भएको थियो । तपाइ राष्ट्रिय सभामा रहँदा पनि यसबारे बहस भएको थियो । तर, अहिले यति चाँडै कसरी मँहगो भयो ?

सरकारी स्तरमा मात्र नभइ, पार्टीस्तरमा पनि छलफल गरिएका थिए । वि.स २०५४ र २०५६ को निर्वाचनमा आर्थिक विभाग प्रमुख हुँदा मैले दश रुपैयाँ अभियान चलाउने प्रस्ताव राखेको थिए । तर, त्यो प्रभावकारी हुन सकेन। कारण के भने नेताहरुलाई ठुलो रकमको बानी प¥यो । अब एकैचोटी एक ठाउँबाट ठूलो रकम आउँछ भने को गएर जनताका घरघरबाट दश रुपैयाँ उठाउँछ? तर, त्यसरी पैसा उठाउँदा एकातीर हरेक जनतासँग प्रत्यक्ष चिनजान हुन्छ र चुनावी प्रचारप्रसार पनि हुन्छ भने अर्कोतर्फ कुनै एक ठेकेदारको भरमा राजनीति गरिरहनुपर्दैन ।

पछिल्लो समय नेपालमा पूँजीपति भएकाहरु पार्टीलाई चन्दाका नाममा ठुलो रकम दिने र टिकट लिने काम गरिरहेका छन् नी ? व्यापारिक घरनाका पात्रहरु पनि कुनै न कुनै पार्टीमार्फत संसदमा आइपुगेको देखिएकै हो।गत वर्षमा विनोद चौधरी तपाइँको पार्टीमा हुनुहुन्थयो अहिले कांग्रेसमा जानुभएको छ । अहिले लेनदेन नमिलेर हो?

हामीले नचाहेर पनि त्यो कामहरु भइरहेका छन् । हामी कम्युनिष्टहरुले जति नै समाजवाद तथा साम्यवाद भनेपनि अन्ततः त्यो सिद्धान्तमा मात्रै सिमित छ । आदर्श, सिद्धान्त र त्यसलाई व्यवहारमा ल्याउने कुराबीच तालमेल भएन भने त्यो केवल भाषण र किताबमा मात्रै सिमित रहन्छ । यो प्रवृति सबै पार्टीहरुमा दोहोरिएको छ । त्यसले देशलाई समृद्धितिर जानबाट रोक्छ । अहिले सिद्धान्त र व्यवहारबीच बढेको अन्र्तविरोधलाई व्यवस्थापन गर्नुपर्छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेसनबाट जारी भएको विधानमा पनि पार्टीमा आचरण तथा नैतिकता सकारात्मक भएन भने पार्टी समाप्त हुन्छ, पार्टी समाप्त भयो भने देश पनि खतरामा पर्छ भनिएको छ । विश्वको त्यत्रो सम्पन्न मुलुकले ती कुराहरुमा शुद्धीकरण खोजिरहेको छ भने नेपालमा त त्यस्ता कुराहरु कडाइका साथ सबै पार्टीहरुले लागु गर्न जरुरी छ । नेपालमा आदर्श, मुल्य मान्यताहरु जोगाउन सकेनौ भने मुलुक गम्भिर संकटमा पर्छ। पार्टीहरुले आर्थिक पारदर्शीता कायम गर्न निकै जरुरी छ । निर्वाचन आयोगले बनाएको आचारसंहिता लागु गर्न पनि निकै कठिन छ । पार्टीभित्रका नेताहरुको आचरण सुर्धान जरुरी छ ।

पछिल्लो केही चुनावमा शैक्षिक क्षेत्रमा राम्रो गरेका र ठेकेदारी गरेकाहरु पनि राजनीतिमा आए नी ?

यो प्रत्येक जिल्लामा पार्टीहरुभित्र ठेकेदारहरु हाबी छन् । जिल्ला–जिल्लामा रहेका ठेकेदारहरुले त्यहाँका पार्टी नेताहरुलाई पालनपोषण गर्छन । उनीहरुलाई पालिसकेपछि ठेकेदारले आफूअनुकुल त्यो नेतालाई प्रयोग गर्छन र त्यही नेतालाई भ¥याङ बनाएर राजनीतिमा उक्लिन्छन् । नेताले ठेकेदारी गरिरहेका छन्। नेताहरु ठेकेदारबाट सञ्चालित छन् ।

प्रतिनिधिहरु सिफारिस गर्दापनि ठेकेदारले भनेको नेता सिफारिस हुने र केन्द्रमा पनि उनीहरुले भनेकै मान्छेले टिकट पाउने स्थिति आउँछ । त्यसकारण राजनीतिलाई यो ठेकेदारी प्रवृतिबाट टाढा राख्नुपर्दछ ।

नेपालमा भारतीय राजनीतिको ठुलो प्रभाव छ । यद्यपी भारतले ठुलो विकास गरिरहेको छ । तर, नेपालमा विकास पनि भएको छैन । भारतमा धनी र गरिबबीच पनि ठुलो खाडल छ । त्यहाँ धनीहरु झन् धनी हुँदै जाने र गरिबहरु भmन् गरिब हुने स्थिति छ । नेपालमा पनि भोलिको दिनमा त्यही नहोला भन्न सकिन्न ।

लोकतन्त्रमा त जो अन्याय, उत्पिडनमा परेको छ उसले न्याय पाउनुपर्ने हो । तर, त्यस्तो स्थिति छैन । जसले वर्षौबर्षदेखि न्यायको चौघेरोमा बसेको छ । उसैले राज्यका सबै सुविधाहरु उपभोग गर्ने परम्पराको निरन्तरता भइरहेको छ ।

नेपालमा पनि २००७ सालदेखि अहिलेसम्म अपहेलित भएको थियो । त्यो नागरिक नै आज पनि अन्यायमा नै छ । लोकतन्त्रमा यसो हुनु भनेको मुलुक नै धरापमा पर्नु हो । लोकतन्त्रबाट त सर्वसाधारण लाभान्वित हुनुपर्छ ।

तपाइ टिकट बाँड्ने समितिमा हुनुहुन्थ्यो ।चुनाव मँहगो भएर बाहिर बस्नेहरुको जमात कति छ ?

यस्तो जमात ठुलो छ । अब म स्थायी कमिटिमा बसेको हुनाले अली बढी प्रचार भएको हो । तर, पार्टीभित्र यस्ता साथीहरु थुप्रै हुनुहुन्छ । एक दर्जन साथीहरु त मेरो सम्पर्कमै हुनुहुन्छ । त्यस्तै जिल्लास्तरबाट चुनावी खर्च व्यहोर्न नसकेको भन्दै सिफारिस नै नहुने साथीहरु पनि हुनुहुन्छ । यो हरेक पार्टीमा भएको मुद्दा हो । यो चुनावपछि हरेक पार्टीले यस विषयलाई निकै जोडतोडका साथ अघि लग्नुपर्छ । यसो गरिएन भने राजनीतिक पार्टीहरु नै दलाल पूँजीपति वर्गको चंगुलमा पर्छन् ।

पार्टीका कार्यालय, बस्ने कुर्सी र चढ्ने मोटरहरु पनि प्रायोजन हुने गरेका छन् नि?

हो, यस्तो कहिंकतै भइरहेको छ र ठूलो मात्रामा हुने सम्भावना छ । यो एकदमै गलत कुरा हो । यसका विरुद्ध हामी सबैले आवाज उठाएर एक हुन जरुरी छ । यसलाई बेलैमा सच्याउन सकिएन मुलुकमा लोकतन्त्र जीवित रहने छैन।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार