नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले आफूले चाहेजस्तो संविधान बन्ने सम्भावना कम देखिएकाले त्यसका लागि बन्दुक बोक्नु पर्ने अवस्था आएको बताएका छन् ।

माओवादी केन्द्रको भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोह शनिबार बोल्दै किरातीले किराती समुदायको मुक्तिका लागि किरात कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।

किरातीले नेकपा माओवादीबाट पनि सम्भव हुने झिनो आशा देखिएको उल्लेख गर्दै अब किरात कम्युनिष्ट आन्दोलन गर्नु पर्ने र त्यसका लागि हतियार बोक्नु पर्ने अवस्था आउन सक्ने बताए । ‘किराती मुक्तिका लागि हतियार बोक्नु पर्ने दिन आउन सक्छ,’ किरातीले भने, ‘हिजोको युद्धकला नबिर्सनुहोस् । अनि मात्र किराती मुक्ति हुन सक्छ ।’

कार्यक्रममा माओवादी नेता सुरेश आलेमगरले पहिचान सहितको संघीयताका लागि लड्न बाँकी रहेको बताए । ‘हामी आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुको अधिकार सुनिश्चित हुने गरी लड्नु पर्ने अवस्था आएको छ,’ आलेमगरले भने, ‘त्यसका लागि किरातीहरु अग्रसर हुनुपर्छ ।’

किराती राष्ट्रिय मुक्ति मोर्चाकी संयोजक दुर्गा राईले काग्रेस–एमालेको इसारामा नेकपा माओवादी केन्द्रले पुरानै संरचनामा चुनावमा गए त्यसलाई बहिस्कार गर्ने बताएकी छन् । ‘हामी आफ्नो अधिकार सुनिश्चित हुने गरी संविधान संशोधनको पक्षमा छौं,’ राईले भनिन्, ‘कांग्रेस–एमालेको इसारामा पुरानै संरचनामा चुनावमा गए विद्रोह गर्छौं । हामीसँग बन्दुक बोकेको इतिहास भएकाले त्यसलाई फेरि ब्युताउनु पर्ने अवस्था नआओस् ।’

कार्यक्रममा कवि तथा गीतकार भूपाल राई, गायक तथा संगीतकार डाक्टर किरात, गायक देवेश राई, गायिकाहरु कला राई, सरला राई, जानुका राई लगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार