धेरै नपढ छोरा
धेरै नपढ छोरी
प्रचण्ड अंकलले भन्नुभएको छ –
धेरै पढेपछि बहुलाइन्छ !

धेरै नबोल छोरा
धेरै नबोल छोरी
ठूला मान्छेले भनेपछि
हस हस मात्र भन
हजुर हजुर मात्र भन
प्रचण्ड अंकलले भन्नुभएको छ-
प्रश्न गर्नु बहुलाउँने संकेत हो !

तिमीहरूलाई असल मानिस बनाउँने
असल सूत्र छ प्रचण्ड अंकलसँग
थोरै पढ्ने
थोरै बोल्ने
जिन्दगीमा कहिलै
प्रश्न सोध्ने गल्ती नगर्ने
आफ्नै टाउकाले सोच्ने दुख नगर्ने !
टाउको चलायौ भने
के हुन्छ थाहा छ ?
बहुलाउँने खतरा हुन्छ
जे सोच्नु पर्छ अंकलले सोच्नु हुन्छ !

आँखा चिम्म गर
जे हेर्नु पर्छ
प्रचण्ड अंकलले हेर्नु हुन्छ ।
मुख बन्द गर
जे बोल्नु हुन्छ
प्रचण्ड अंकलले बोल्नु हुन्छ ।
टाउको केवल तलमाथि मात्रै हल्लाऊ
दायाँ बाँयाँ पटक्कै नहल्लाऊ
प्रचण्ड अंकलको आदेश छ ।

एक जना प्रचण्ड अंकल बहुलाएर
आधा देश बहुलाएको छ
तिमीहरू पनि बहुलायौ भने
सिङ्गै देश बहुलाउँने छ
प्रचण्ड अंकललाई हेरेर सिक
वहाँ किन बहुलाउँनु भयो
के पढेर बहुलाउँनु भयो
प्यारा छोराहरू
प्यारी छोरीहरू
प्रचण्ड अंकलले पढेका कुरा
विर्सेर पनि नपढ !

२०७४|१२|१२
सानेपा

तिमिल्सिना, प्रचण्ड माअाेवादीका पूराना सांस्कृतिक माेर्चाका नेता हुन् । सामाजिक संजालबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार