ढाकाटोपी दौरासुरुवालमा ठाँट्टिएर
गलाभरी सयपत्रीको माला भिरेर
दुबैहात जोडी
यज्ञ मण्डपमा पूँजा गरिरहेको
स्वयं कार्ल मार्क्सको
चित्र बनाउँदा
कस्तो देखिन्छ होला ?
उट्पट्याङ प्रश्न
जन्मिन्छ
छोडेर उतै
दुर दराजमै
अनिकाल , अशिक्षा र गरिबी
सुटुक्क काठमाडौ छिरेको
भुतपुर्व कमान्डरले
उही पुरानो जङ्गी अड्डाको
परेड देखाएर टुडिखेलमा
भोकाहरुलाई तर्साएको
एनिमेटेड भिडियो तस्बिर
बनाउन पाए
कति दर्शक हसाउन सकिन्छ ?
वाहियात प्रश्न गर्न मन लाग्छ
लगाएर डढेलो
बस्तिमा विद्रोहको
आफु सुटुक्क मन्दिरमा पसेर
ईश्वरको नाममा
किरिया खाइरहेको
जङ्गी क्रान्तिकारीको फोटो
डिजिटल क्यामराले खिचेर
दोबाटोमा झुन्ड्याउन पाए
कस्तो हुन्थ्यो होला ?
बेकारको प्रश्नले टाउको खान्छ
जे जे भनेपनी कमान्डरले
खुरुखुरु
क्रान्तिकारी स्वीकार गर्ने,
हातमा फुलका गुच्छा बोकेर
“बधाई तपाईंलाई
सबैलाई उल्लू बनाउनु भो
आफै चकित पर्नेगरी बदलिनु भो
हामी सबैलाई
आफ्नै गोठका भेडा बनाउनुभो ”
भन्दै फेरि
बदलिएको कामरेडलाई
बदलिदो शुभकामना दिदै
उसैको छेउमा उभिएर
मुसुक्क हाँस्दै
खिचेर सेल्फी
फेसबुकमा अपलोड गर्दा
म आफै
कुन स्तरको
जोकर बन्छु होला ?
यो हाँसाे उठ्दो
प्रश्न बिजुली चम्किएझै आउँछ
जे होस
वाहियात भए पनि
उटपट्याङ भएपनि
बेकारको भएपनि
हास उठ्दो भएपनि
टाउको हुनेले प्रश्न गरि रहनु पर्छ
यी प्रश्नहरू प्रश्नहरू नै हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
