हुस्सु र कुहिरोका सिरक ओढेर
आकाशको छानोमुनी
डङ्गुरको खाटमाथि रात गुजार्नेहरू

सिमारेखामा बसेका
सिमारक्षक र भोको पेटमा पटुकी
कसेर हड्डी घोटिरहेका मजदुरहरू

धुँवामा निसास्दिै परदेशमा
पसिनाको नदी बगाइरहेका
र मालिकका गोदामहरूमा
अन्न कुहिंदा भोकैमर्ने कर्णालीबासीहरू

यतिखेर कालापानी
सुस्ता, लिपुलेकले चित्कार गरिरहेछ
लुम्बिनी र सगरमाथा झस्किरहेछ

सत्ताको भर्याङ चढ्न ठड्याइएका
सपना र आश्वासनका पर्खालहरूले
हाम्रा छातीहरु निर्मम थिचिरहेछ
कोशी,गण्डकी,महाकालीका ढाडहरुमा
हस्तक्षेपको लाठी बज्रिरहेछ,
देश दुस्वप्न पीडाले दुखिरहेछ

लेखक

लेण्डुपहरू हाम्रा रगत चुसेर
रातारात देश बेचिरहेछ
हस्तक्षेपको धमिराले देश
छिया–छिया पारिरहेछ
डलरको मदिराले लठ्ठीएको
सिहदरबारले,
भ्रष्ट लेण्डुपहरूलाई अभिनन्दन गरिरहेछ
ढुकुटी तिनैलाई बाँडिरहेछ
र सिंहदरबारले रमिता देखाइरहेछ

त्यसैले,
सुन्दैन हाम्रा चित्कारहरू
बुझ्दैन हाम्रा व्यथाहरू
अर्थात् चाहदैन सिंहदरबार
देशको मुक्ती

आऊ ! हुँदाखाने वर्गहरू
फेरि एकपटक ध्वस्त पारौँ–
पाषाण सिंहदरबार
ठड्याऔं जनताको पक्षमा
अर्को यौटा नयाँ सिंहदरबार ।
०००

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार