प्रकाश दाहालको हृदयाघातबाट निधन भएपछि आइतबार मुटुरोग विशेषज्ञहरू दिनभर व्यस्त बने। सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त उनीहरू अबको एक साता युवाको मुटु परीक्षणमा जुट्नुपर्ने आकलनमा छन्। टेलिभिजन प्रस्तोता इन्द्र लोहनी र पूर्वयुवराज पारस शाहलाई हृदयाघात हुँदा जँचाउन अस्पताल आउने युवाको भीड बढेको मुटुरोग विशेषज्ञहरू स्मरण गर्छन्।

प्रकाशको हृदयाघातबाट निधन भएपछि डराउँदै जँचाउन आउने युवाको संख्या स्वतः बढ्ने सहिद गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.मनबहादुर केसीले अनुमान गरे। उनले भने, ‘पछिल्लो समय नवधनाढ्य युवामा मुटुरोग बढ्दो छ। कुनै युवाको हृदयाघातबाट मृत्यु भएपछि यो वर्गका युवा लाइन लागेर जँचाउन अस्पताल आउँछन्।’

आर्थिक र सामाजिकस्तर उकासिएसँगै यो वर्गमा आकांक्षा चुलिएको छ। त्यससँगै मानसिक तनाव पनि थपिएको छ। व्यायाम नगर्ने प्रवृत्ति छ। धूमपान, मध्यपान र खानामा चिल्लो पदार्थ तथा मासुको प्रयोग बढेको छ। जसले रक्तनलीलाई साँघुरो अथवा पूर्णरूपमा बन्द गराएर हृदयाघात गराउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञहरू बताउँछन्।

जीवनशैली र खानपानले नै छाती दुख्ने (एन्जाइना) र हृदयाघातका साथै मुटुको मांसपेशी, नली वा धड्कनलाई प्रभाव पार्न मुख्य भूमिका खेल्ने चिकित्सकको भनाइ छ। डा.केसी भन्छन्, ‘अधिक मदिरा र सुर्तीजन्य पदार्थ सेवन गर्ने नवधनाढ्य युवामा हृदयाघात हुने गरेको छ।’

अस्वस्थ जीवनशैली र वंशाणुगत कारणले पनि युवामा हृदयाघात हुने गरेको देखिन्छ। युवाको जीवनशैली नै रोगमय बन्दै गइरहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.केसी बताउँछन्। उनी भन्छन्, ‘निष्क्रिय जीवनशैली र स्वास्थ्यलाई प्रतिकूल हुने खालका आनिबानीले हृदयरोग बढाउन सहयोग पुर्‍याएको छ।’

हृदयाघातबाट नेपालमा युवा नै बढी प्रभावित भएका छन्। महिलामा उत्पन्न हुने इस्टोजेन हर्मोनले हृदयाघात हुनबाट जोगाउँछ। होटलमा पटकपटक तेल तताएर राख्ने, त्यहीं तेलमा पकाएको खाद्यपदार्थ मुटुका लागि हानिकारक हुने डा. सुजीव राजभण्डारी बताउँछन्। उनले भने, ‘अधिकांश होटलको खाना मुटुका लागि अस्वस्थ छ।’

गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजभण्डारी भन्छन्, ‘जीवनशैलीलाई हेक्का राख्नुपर्छ। मोटोपना भएका व्यक्तिका साथै व्यायाम नगर्ने, चिल्लो पदार्थ अत्यधिक खाने र चुरोट सेवन गर्नेहरू हृदयाघातको जोखिममा पर्छन्।’

वंशाणुगत छ भने त्यसलाई नियन्त्रण गर्न नसकिए पनि जीवनशैली बदलेर हृदयाघातबाट बच्न सकिने डा.राजभण्डारीको तर्क छ। हृदयाघात भई मृत्यु हुनेमध्ये झन्डै ५० प्रतिशतको घरमै मृत्यु हुने गरेको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० हृदयाघात सबै रोगलाई उछिनेर संसारकै एक नम्बर हत्यारा रोगका रूपमा स्थापित हुने भविष्यवाणी गरेको छ। नेपालमा १० प्रतिशत जनता मुटुरोगबाट पीडित भएको अनुमान छ। मुटुरोग विशेषज्ञका अनुभवमा नेपालमा दुई दशकयता मुटुका रोगीको संख्या ५ गुणाले बढेको छ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार