चारू मजुमदारसँगै नक्सलबाडी अान्दाेलनमा लागेका पूर्व भारतीय माअाेवादी नेता शशिप्रकाशले नेपाललगायत दक्षिण एशियाली देशमा  सशस्त्र क्रान्ति संभव रहेकाे बताएका छन् ।

सोमबार ‘घनश्याम ढकाल स्मृति प्रतिष्ठान’ ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा काठमाडाैं अाएका शशिप्रकाशले एक दैनिक पत्रिकासँगकाे कुराकानीमा यस्ताे बताएका हुन् ।

अाजकाे दुनियामा छापामार युद्धकाे तरिकाले क्रान्ति नहुने भन्दै उनले नयाँ ढंगले क्रान्ति गरिए भारत र नेपालजस्ता देशमा संभव रहेकाे अाैल्याए । नेपालजस्ताे देशमा क्रान्ति हुन लागि  सही विचारकाे जगमा सशक्त क्रान्तिकारी नेतृत्व र जनताकाे भित्री तहसम्म पुगेकाे क्रान्तिकारी पार्टी हुनु पर्ने शशिप्रकाशकाे धारणा छ ।

भारतका माअाेवादीहरूले अहिले अपनाइरहेकाे दर्घकालीन जनयुद्धकाे बाटाे निकै पिछडिएकाे क्रान्ति भन्दै उनले त्यसलार्इ वामपन्थी एडभेन्चर ट्रेन्डकाे संज्ञा दिए ।

शशिप्रकाशसँगकाे कुराकानीकाे सम्पादित अंश –

अहिले भारतमा सशस्त्र संघर्ष गरिरहेका समूह यो कार्यभार पूरा गर्न सक्षम छैनन् ?

सक्षम छैनन्, उनीहरू पुरातात्विक महत्वका साधन हुन्। उनीहरू पिछडिएको क्षेत्रमा सबैबाट अलग्गिएको तथाकथित क्रान्ति गरिरहेछन्, यो वामपन्थी एड्भेन्चरको ट्रेन्ड हो।

अब म केही संक्षिप्त प्रश्न गर्छु, संक्षिप्त जवाफ नै दिनुस् है। के एक देशमा समाजवादी क्रान्तिको सम्भावना छ ?

अझै पनि छ, तर त्यसका लागि विविधिकृत अर्थतन्त्र, दिगो अर्थतन्त्र, आधारभूत र पूर्वाधार निर्माण गर्ने उद्योगको सञ्जाल ठूलो देश हुनुपर्छ। यसबाहेक अरब क्रान्तिजस्तो क्षेत्रीय क्रान्तिको सम्भावना छ।

अर्थात्, नेपालजस्तो सानो देशमा समाजवादी क्रान्ति सम्भव छैन ?

होइन, यदि विचारधारा सही छ भने क्रान्ति सम्भव हुनसक्छ तर त्यस्तो क्रान्तिको वाधक धेरै हुनेछन्। त्यस्तो क्रान्तिको लागि निकै सक्षम नेतृत्व र जनताको भित्री तहसम्म काम गरेको पार्टी हुन आवश्यक छ।

के हरेक कम्युनिस्ट आन्दोलन सशस्त्र हुन जरुरी छ ?

जरुरी छ, तर लामो तयारी, खुला काम, आम संगठन र एक समयमा आम विद्रोह हुनसक्छ। गुरिल्ला युद्धजस्तो सशस्त्र संघर्षको अब अर्थ छैन।

अब एउटा फरक प्रश्न, तपाईंको जीवन आन्दोलनको उभारबाट सुरु भएको थियो, गुरिल्ला युद्धमा पनि सहभागी हुनुभयो आज आन्दोलन रक्षात्मक स्थितिमा छ। के तपाईं आज पनि पहिलाजस्तै आन्दोलनप्रति सम्भावना देख्नुहुन्छ ?

म दुई किमिसको सम्भावना देख्छु। दिशाहीन आन्दोलन र निराशामा संसार सकियोस्, यस्तो सम्भावना १० प्रतिशत छ। अर्को ९० प्रतिशत सम्भावना आन्दोलनको उभारको हो।

सोभियत संघको समाजवाद असफल हुनाका केही कारण थिए कि ?

हो, केही समय चलेपछि समाजवादले केही समस्याको समाधान खोज्न सकेन। जस्तै, निजी स्वामित्वको समस्या समाधान भयो। तर अन्तरवैयक्तिक असमानता समाधान हुन सकेन। राजनीतिक अर्थशास्त्रको आँखाबाट समाजवादको असफलताको कारण अझ राम्रोसँग बुझ्न सकिन्छ। समाजवादको मुख्यतः कार्यभार उत्पादन सम्बन्धमा परिवर्तन गर्नुपर्छ। उत्पादनका सम्बन्धका तीन पक्ष छन्। समाजवादले सम्पत्तिमाथिको स्वामित्वमा परिवर्तन ल्यायो। तर उत्पादन सम्बन्धका अन्य दुई पक्ष पनि हुन्छन्। श्रमिकहरूबीचको आपसी सम्बन्ध, त्यसमा निरन्तर परिवर्तन हुन आवश्यक छ। मानसिक र शारीरिक श्रम तथा लैंगिक असमानता एकैपटक मेटिँदैनन्। अर्को हो, वितरणको स्वरुप। शारीरिक र मानसिक श्रम गर्नेहरूबाहेक स्वयं कम्युनिस्ट पार्टीभित्र पनि शासन गर्नेहरूसँग एकखालको विशेषाधिकार हुन्छ। यदि आन्तरिक संरचना विविधतापूर्ण भएन भने र क्रान्तिकारी संरचना बलिया भएनन् भने कम्युनिस्ट पार्टीभित्रैबाट पुँजीवादको पुनर्जन्म हुन्छ। लेनिनले पुँजीवाद पुनस्र्थापनाको पाँच आधारमध्ये पार्टी ब्युरोक्रेसी पनि बताएका थिए।

स्टालिनले त्यही पार्टी ब्युरोक्रेसीको उपयोग गरे नि, होइन ?

स्टालिनले आधा समस्या समाधान गर्न सके। त्यसपछि दोस्रो विश्वयुद्ध सुरु भयो। उनले खासगरी सन् १९३६ मा ठूला गल्ती गरेका थिए। अब सोभियत संघमा शत्रुतापूर्ण वर्ग रहेनन्, सबै मित्रवत् वर्ग छन् भन्ने निष्कर्ष निकाले। उनले गतिवान समाजमा शत्रुतापूर्ण वर्ग पनि स्थापित हुन सक्छन् भन्ने बिर्सिए। पार्टी ब्युरोक्रेसी स्थापित भएकाले नै उनले कम्युनिस्ट पार्टीभित्रैबाट नयाँ पुँजीपति वर्ग स्थापित हुने आधार देख्न सफल भएनन्। सन् १९५१ तिर उनले आफ्नो गल्ती बुझेर सच्याउने प्रयास थाले। उनको ‘इकोनोमिक प्रोब्लम इन यूएसएसआर’ नामक पुस्तक पनि प्रकाशित भयो। तर सन् १९५४ मा उनको मृत्यु भयो।

के बोल्सेभिक पार्टीमै केही समस्या थिए ?

यसबारे बढीजसो आरोप स्टालिनलाई लगाइन्छ, लेनिनलाई होइन। लेनिनको समयमा त पार्टीको मुखपत्रमै फरक–फरक विचारका लेख छापिन्थे। स्टालिन युग युद्धबाट गुज्रियो। यस्तो अवस्थामा संकटकालीन अवस्थाका सीमा उपयोग गरिन्छन्। स्टालिन आपैmं पनि पार्टी ब्युरोक्रेसीका विपक्षी थिए। अहिले लुडो मार्टेन्स, मारियो सुसा र ग्रुभर फरले दोस्रो विश्वयुद्धपछिको सोभियत संघबारे प्रशस्त अनुसन्धान गरेका छन्। ग्रुभर फरले स्टालिनको समयमा उनका सचिवले नै कर्मचारीतन्त्र स्थापना गरेको उल्लेख गरेका छन्। उनीहरूले ‘स्टालिन जिन्दावाद’ भनेरै पार्टी ब्युरोक्रेसी स्थापना गरिरहेका थिए, स्टालिन जसका विरोधी थिए।

ग्रुभर फरले आफ्नो पुस्तक ‘स्टालिन लाइड’ मा यसबारे प्रशस्त व्याख्या गरेका छन् नि ?

हो, प्रशस्त चर्चा गरेका छन्। उनका वेबसाइटमा पनि यी लेख पाइन्छन्। हो, स्टालिनको समयमा पनि गल्ती भए तर ती उनका व्यक्तिगत गल्ती होइनन्।

कम्युनिस्ट पार्टीमा प्रजातान्त्रिकता नभएको आरोप बारम्बार लाग्ने गर्छ। त्यहाँ फरक मतलाई कुनै स्थान दिइँदैन। तपाईं के भन्नुहुन्छ ?

यस्तो आरोप लगाउने प्रायः पुँजीवादी बुद्धिजीवीले ख्रुश्चेभ, ब्रेजनेभपालाको र केहीले स्टालिनपालाको उदाहरण दिने गर्छन्। यी प्रमाणमा केही ऐतिहासिक गल्ती छन्। कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयताले व्यक्ति पार्टीको मातहत हुने, तल्लो समिति माथिल्लो समितिको मातहत हुने र केन्द्रीय समिति महाधिवेशनको मातहत हुने बताउँछ। अल्पमतमा परेको डकुमेन्ट पनि बहुमतले पारितजस्तै गरी सबै समितिमा पठाइन्छ। व्यक्तिगत विचारका लागि पनि उत्तिकै स्थान दिइन्छ। बहुमतको विचार लागू गरे पनि अल्पमतको विचार पनि पटकपटक बहसमा राखिन्छ। तर ब्रेजनेभ, देङ सियाओ पिङको समयमा यो सिद्धान्त लागू गरिएन। स्टालिनकालमा पनि उनीमातहतका पदाधिकारीले यस्तो अभ्यास गरे। फेरि आदर्श र व्यवहारमा त केही फरक हुन्छन् नै त्यसैले पार्टीभित्र निरन्तर सफाइ भइरहनुपर्छ।

तर व्यवहारमा संसारका सबैजसो देशका कम्युनिस्ट पार्टी ‘महान् नेता’ को निर्माणमा दत्तचित्त भएको देखिन्छ त ?

यो कल्टिस (पन्थवादी) भावना हो। जस्तै, माओ फोटो झुन्ड्याउने, मूर्ति बनाउने कर्मका विरोधी थिए, तर उनको मृत्युपछि शव सुरक्षित राखियो। यसमा समाजको स्थितिले पनि काम गर्छ। पिछडिएको समाजमा नेतृत्वको व्यक्तित्वको प्रचारले पनि कतिपय अवस्थामा काम गर्छ। तर यो निकै सोचविचार गरेर गर्नुपर्छ। चीनको सांस्कृतिक क्रान्तिताका यस्तो गरिएको थियो। माओ जनतामा लोकप्रिय भए पनि पार्टीभित्र अल्पमतमा थिए। उनको ज्यान नै जाने स्थिति थियो। उनी भागेर पेकिङबाट सांघाइ गए। त्यहींबाट सांस्कृतिक क्रान्तिको सुरुवात भयो।

तपाईं चिनियाँ सांस्कृतिक क्रान्तिको समर्थन गर्नुहुन्छ ?

अवश्य। किनभने, सांस्कृतिक क्रान्तिले नै स्वामित्वको सम्बन्ध फेरेर मात्र उत्पादन सम्बन्ध फेरिँदैन भन्ने बतायो। अन्तरवैयक्तिक असमानता, शारीरिक र मानसिक श्रमबीचको भेद, तलबमा असमानताजस्ता विषय एकैपटक नभए पनि निरन्तररूपमा समाधान गरिरहनुपर्छ भन्ने उक्त क्रान्तिले सिकायो। त्यस्तै, मानिसहरूको विचार, सिद्धान्त र संस्कार पनि एकैपटक फेरिँदैन, त्यसका लागि पनि निरन्तर क्रान्ति गरिरहनुपर्छ। नभए पुँजीवादको पुनर्स्थापना हुन्छ।

तर, सांस्कृतिक क्रान्ति त बदनाम छ नि !

कुनै पनि ट्रेन्ड सेटिङ क्रान्ति सफासुग्घर हुँदैन। जस्तै, पहिलोपटक प्रयोगशालामा हाइड्रोजन ग्यास बनाउने वैज्ञानिकको प्रयोगशाला फोहोर थियो। अहिले त हाइस्कुलका विद्यार्थी पनि बनाइदिन्छन्। गल्तीमुक्त क्रान्ति हुँदैन। सांस्कृतिक क्रान्तिमा पनि गल्ती भए। कोही उग्रवामपन्थी थिए, कोही करिअरिस्ट थिए। कुनै पनि क्रान्तिको सफलता, असफलता त्यसको आधारभूत सिद्धान्तको आधारमा हेर्नुपर्छ।

अर्थात् सांस्कृतिक क्रान्ति गल्तीमुक्त भने थिएन।

गल्तीमुक्त त कुनै पनि क्रान्ति थिएन। अक्टोबर क्रान्ति पनि गल्तीमुक्त थिएन। बेलायती क्रान्ति, फ्रान्सेली क्रान्ति पनि गल्तिमुक्त थिएन।

तपाईं समकालीन चीनलाई कसरी हेर्नुहुन्छ ?

सन् १९७६ बाट चीनले पुँजीवादी बाटो समात्यो। सन् १९८९ को तियानमेन स्क्वायरको घटनापछि यसले तीव्र गति लियो। आजको चीन सिंगो पुँजीवादको इतिहासमा सबैभन्दा द्रुतगतिमा साम्राज्यवादी बनिरहेको देश हो। यसले निर्यात तथा आयात गरिरहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को आंकडा हेर्नुहोस्। ‘वन बेल्ट वन रोड’ परियोजना ल्याटिन अमेरिका, अफ्रिका र रुससम्म पुँजी लगानीको परियोजना हो। अब त चीनको साम्राज्यवादले राजनीतिक दाबी पनि गर्न थालेको छ। दक्षिण चिनियाँ सागरमा उसको दाबी र सिरिया संकटमा रुससँग मिलेर उसले गरेको हस्तक्षेप यसको उदाहरण हो। चीनले मनपरी ढंगले गरेको होइन। संसार एकपटक फेरि अन्तरसाम्राज्यवादी दुश्मनीको नयाँ चरणतर्फ गइरहेछ। यो युद्धमा चीन एक उदाउँदो शक्ति हो। चीनले आफ्नो देशका मजदुरको हड्डी निचोरेर यो शक्ति हासिल गरेको छ। अन्तर्राष्ट्रिय म्यानुफ्याक्चरिङलाई उसले हब बनाइदिएको छ। आजको चीन द्रुतगतिमा उदाउँदै गरेको साम्राज्यवादी देश हो।

केही विश्लेषकले पुँजीवादीकरणपछि चीनको अर्थतन्त्र समृद्ध बनेको बताउँछन् नि !

समृद्ध हुनुको उनीहरूको मानक के हो ? समानता र न्यायसहित अर्थतन्त्रलाई उँभो लगाउने हो भने गति केही कम हुनैपर्छ। यदि समानता र न्यायबिना केवल कुल गार्हस्थ उत्पादनको आधारमा हेर्ने हो भने त्यस्तो अर्थतन्त्रमा अम्बानीजस्ता अर्बपति र दैनिक २० रुपैयाँ आम्दानी नगर्नेहरू श्रमिक दुवै हुन्छन्। जहाँसम्म चीनको उत्पादन क्षमता तीव्र गतिमा बढिरहेको चर्चा गरिन्छ त्यसको आधार के हो भन्ने हेर्नुपर्छ। सन् १९५८ देखि १९६२ सम्मको ‘ग्रेट लिप फर्वाड’ को समयमा चीनले सबैभन्दा द्रुतगतिमा उत्पादन क्षमता बढाएको थियो। सन् १९७१ देखि १९७६ सम्म पनि चीनको उत्पादन द्रुतगतिमै थियो। आज पनि उत्पादन क्षमता बढाउन आवश्यक जति पनि पूर्वाधार चाहिन्छन् ती सबै माओकालीन चीनमै निर्माण भएका हुन्। समाजवादले बनाइदिएको आजको द्रुत उत्पादन क्षमताको जगमा चीन अगाडि बढेको छ। तर हामीले समाजवादी समाजमा हुने उत्पादन क्षमताको विकास र पुँजीवादी समाजमा हुने उत्पादन क्षमताको विकासको फरक छुट्याउनैपर्छ। समाजवादी समाजमा समानतासँगै उत्पादन क्षमताको विकास गरिन्छ भने पुँजीवादी समाजमा एक वर्गले मात्रै समृद्धिको लाभ लिन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो महाधिवेशनको निर्णय र हालै सम्पन्न चिनियाँ जनकांग्रेसको निर्णयलाई कसरी हेर्नुहुन्छ ?

यो बजार समाजवादको नयाँ चरण हो। सी जिङपिङभन्दा पहिलाका नेताहरू चीनभित्र पुँजीवादीकरणमा तल्लिन थिए। उनीहरूले कम्युनहरू भंग गरे र खुला बजार क्षेत्र निर्माण गरे। सी भने चीनको पुँजीलाई देशबाहिर विस्तार गर्न तल्लिन छन्। त्यसलाई सही तरिकाले सञ्चालन गर्न देशभित्र आधार निर्माण गर्ने नीति बनाइरहेछन्।

इतिहासको रंगमञ्चमा हरेक वर्ग आपूmलाई उपयुक्त नेतालाई स्थान दिन्छ। यसमा थिङ ट्यांकबाट कुनै गल्ती भए तुरुन्त त्यो नेतृत्वलाई डस्टबिनमा फालिदिन्छन्। सी एकदमै कुशलतापूर्वक स्थापित भए। अर्कोतर्फ, उनलाई माओको छनक पनि दिनु थियो। त्यसका लागि उनले पार्टीभित्र रहेको भ्रष्टाचार निर्मुल हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार त पुँजीवादलाई पनि अस्वीकार्य हुन्छ। तर पुँजीवादमा भ्रष्टाचार रहन्छ नै किनभने लुटको वैधानिक बाटो हुन्छ भने अवैधानिक बाटो पनि हुन्छ। सीले भ्रष्टाचार न्यूनीकरणमार्फत एक किसिमको भ्रम छरिरहेछन्। त्यस्तै चीनमा ‘पब्लिक सेक्टर इन्टरप्राइजेज’ (सार्वजनिक उद्योगहरू) निकै कमजोर भएका छन्। यदि चीनमा अमेरिकामा जस्तो निजी एकाधिकार कायम भयो भने चीन निकै पछाडि पर्ने छ। त्यसैले चीनमा नियन्त्रित अर्थतन्त्रको आवश्यकता छ। त्यसको लागि सीले सार्वजनिक उद्योगहरूलाई पनि ठाउँ दिएका छन्। त्यसैले सी आजको साम्राज्यवादी चीनको लागि उपयुक्त नेता हुन्। उनी यति उपयुक्त भए कि कुनैबेला नेताहरूको हदम्याद तोकेको चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई जीवनपर्यन्त स्वीकार गर्‍यो।

के तपाईं चीनमा सी, भारतमा नरेन्द्र मोदी, अमेरिकामा डोनाल्ड ट्रम्प र रुसमा पुटिनको उदयमा केही समानता भेट्नुहुन्छ ?

यसमा एउटा समानता छ। त्यो हो पुँजीको वित्तीयकरण। औद्योगिक पुँजीले पुँजीवादी प्रजातन्त्र जन्माउँछ भने पुँजीको वित्तीयकरणले फासिवाद जन्माउँछ। आजजत्तिको पुँजीको वित्तीयकरण भएको छ त्यसको कल्पना लेनिनको समयमा यसको कल्पना गर्न सकिँदैनथ्यो। पहिला पुँजीवाद चक्रीय संकटको सिकार बन्ने गथ्र्यो। जसको एउटा रुप थियो –आर्थिक मन्दी। सन् १९७१ देखि निरन्तर पुँजीवाद प्रणालीगत संकटमा छ। यो मार्क्स र लेनिनले कल्पना गरेभन्दा बाहिरको संकट हो। यस्तो संकटले संसारभर नै दुई काम गरिरहेछ।

एक, नेपालोयिन बोनापार्टको जस्तो सर्वसत्तावादी शासन र उदार प्रजातन्त्रको बीचको रेखा कम हुँदै गइरहेछ। अमेरिकाजस्ता उदार प्रजातन्त्र भएका देशमा समेत सर्वसत्तावादी शासन स्थापित भइरहेछ।

दोस्रो, पूरै समाज फासीवादी शासन स्थापनाको निम्ति उर्वर भइरहेछ। युक्रेनमा होस् वा रुसमा होस् वा चीनमा होस् वा अमेरिकामा फरकफरक तरिकाले फासीवाद मौलाइरहेछ। सर्वसत्तावादी शासन आफैंमा फासीवादी हुँदैन। फासीवाद सर्वसत्तावादभन्दा केही फरक हुन्छ। सर्वसत्तावादी हुनु भनेको शासनमा एकाधिकार कायम गर्नु हो भने फासीवादी प्रवृत्ति सत्तामा भए पनि नभए पनि कायम हुन्छ। जस्तै, भारतमा मोदीको फासीवाद सत्तामा भए पनि नभए पनि फासीवादी नै रहन्छ। आजको फासीवादले विश्व विजयको सपना देख्न सक्दैन। पुँजीवाद आपैmं पनि ‘यो कुकुरले सिक्री नतोडोस्’ भनेर सतर्क भइरहेछ। सिक्रीमा बाँधिएको कुकुरजस्तै गरी आजको फासीवाद हुर्किरहेछ। यसले समाजमा विग्रह बढाइरहन्छ।

यो पुँजीवादको वित्तीयकरणको परिणाम हो। पुँजीवाद प्रणालीगत संकटबाट गुज्रिरहेको कारण उदार प्रजातन्त्र विस्तारै कमजोर हुँदै जानेछ र संसारभर विभिन्नरूपमा सर्वसत्तावादी शासन स्थापना हुँदै जानेछ चाहे त्यो ट्रम्पको रूपमा होस् वा पुटिनको। त्यसैले यी नेताहरूको नायकत्व स्थापना गरिइरहेछ जसरी चीनमा सीलाई आजको चीनको नायक भनिएको छ भने पुटिनलाई रुसको राष्ट्रवादी नेता।

तपाईंले बारम्बार साम्राज्यवादी दुश्मनी बढिरहेको बताउनुभयो। यसको अर्थ विश्व राजनीति आसन्न युद्धतर्फ जाँदैछ भन्ने हो ?

यस्तो दुश्मनी मुद्रा युद्ध र व्यापार युद्धको रूपमा निरन्तर चलिरहन्छ। मानिसले जुन समयमा ग्लोबल भिलेजको चर्चा गरिरहेका थिए त्यो पत्रकारिताको लेखन थियो। मानिसले आर्थिक आंकडामा ध्यान दिइरहेका थिएनन्। त्यतिबेला पनि युरोपियन युनियन, अमेरिका र जापानबीच मुद्रा युद्ध र व्यापार युद्ध चलिरहेको थियो। रुस त्यो युद्धमा कतैबाट पनि सहभागी थिएन। रुस निकै तीव्र गतिमा विश्व रंगमञ्चमा पुनः स्थापित भयो किनभने उसँग प्राकृतिक स्रोतको भण्डार र समाजवादी कालको प्रविधि थियो। चीनको आगमनको साथ रुसले पनि पायो। यसले ध्रुवीकरण बढाइरहेको छ। तर विश्वयुद्ध भने हुनेछैन।

लेनिनको समयमा बजार संरक्षित थियो। कुनै बजारमा अर्को शक्ति छिर्नासाथ युद्ध हुन्थ्यो, तर अहिले बजार खुला छ। अहिले दुश्मनी बढाइरहेका दुई देशका बहुराष्ट्रिय कर्पोरेसनका पुँजी गाभिएका छन्। एकै देशमा १२/१२ देशको पुँजी परिचालन भइरहेको हुन्छ। यस्तोमा विश्वयुद्ध असम्भव छ। तर क्षेत्रीय युद्ध भने सम्भव छ। जिवाशेष इन्धन र मिनरल्सका लागि युद्ध हुनेछ। लेनिनले कहिल्यै पनि साम्राज्यवादको अर्थ विश्वयुद्ध भनेका थिएनन् उनले युद्ध भनेका थिए। (लेनिनले आफ्नो पुस्तक ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम रुप’ मा एकाधिकार पुँजी साम्राज्यवादमा विकास हुने र साम्राज्यवादी शक्तिहरूबीचको प्रतिस्पर्धा युद्धमा फेरिने उल्लेख गरेका छन्। त्यो युद्धबाट कम्युनिस्ट आन्दोलनले फाइदा लिनुपर्ने उनको विचार थियो।) आज युद्धको प्रकृति फेरिएको छ। अहिले पश्चिम एसियामा युद्ध भइरहेछ। भोलि यो युद्ध ल्याटिन अमेरिका र अफ्रिकामा हुनेछ। दक्षिण चिनियाँ सागरमा पनि सम्भवतः चीन पनि युद्धमा फस्नेछ। त्यसैले ध्रुवीकरण बढ्नेछ, तीव्र प्रतिस्पर्धा हुनेछ, क्षेत्रीय युद्ध हुनेछन् तर धेरै चालबाजी कूटनीतिक क्षेत्रमा चालिनेछ, कतैकतै राजनीतिक–सैन्य क्षेत्रमा विस्फोट हुनेछ।

के यी युद्धको शृंखलाले नयाँ कम्युनिस्ट आन्दोलनको सम्भावना व्यक्त गर्छन् ?

वर्तमान कम्युनिस्ट आन्दोलनको कुरा गर्दा मानिसमा केही हदसम्म निराशा जन्मिन सक्छ। आज देखिएका कम्युनिस्ट पार्टी खासमा कम्युनिस्ट होइनन्। नेपालमा अहिले एकीकरण गरिरहेका दुई कम्युनिस्ट पार्टी कम्युनिस्ट होइनन्। यीबाट केही आशा गर्न सकिँदैन। र, झुठो आशाले चरम निराशा जन्माउँछ। त्यसैले सबैभन्दा पहिला झुठो आशा हटाउनुपर्छ। अर्कोतर्पm यी कम्युनिस्ट पार्टीलाई संशोधनवादी भन्ने अरू कम्युनिस्ट पार्टी जडसूत्रवादी छन्। त्यसैले अहिले कम्युनिस्ट आन्दोलनमा केवल नयाँ चिन्तन र बहसको सम्भावनामात्र छ। जबर्जस्त कम्युनिस्ट शक्ति भने कतै पनि छैन। यो क्रान्तिमाथि प्रतिक्रान्ति हावी भइरहेको समय हो। यो समय चिन्तन, मन्थन, निराशा र छटपटीको हो।

अर्थात्, मार्क्सवादअन्तर्गत नै नयाँ सिद्धान्तको आवश्यकता छ ?

हरेक सिद्धान्त विकसित हुँदै जान्छ र यसले समयसमयमा गुणात्मक फड्को लिन्छ। अहिले पनि त्यस्तो गुणात्मक फड्कोको आवश्यकता छ। तर यो राजनीतिक अभ्यासबाट मात्र सम्भव छ। समाजवादी आन्दोलनले मात्रै नयाँ सिद्धान्त निर्माण गर्नसक्छ। यदि यस्तो आन्दोलन अगाडि बढेन भने सिंगो मानवता विनाशतिर जानेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार