(पाँच दशकभन्दा पनि बढी समयसम्म चरम शारीरिक अशक्ततालाई झेल्दै ब्रम्हाण्डको भविष्यबारे अनुसन्धान गर्दै गरेका वैज्ञानिक विलियम स्टेफन हकिङको भर्खरै गत मार्च १४ मा निधन भएको सन्दर्भलाई लिई नेपालका विख्यात भौतिकशास्त्री प्रोफेसर डा. उदयराज खनालसँग मूल्याङ्कन अनलाइनले लिएको अन्तर्वार्ताको सार संक्षेप यहाँ प्रस्तुत गरिन्छ ।-सम्पादक

प्रश्न – गत मार्च १४ मा विलियम स्टेफन हकिङको निधन भयो । तपाईं नेपालको एक अत्यन्तै सम्मानित भौतिकशास्त्रीको रुपमा रहनुभएको छ । तपाईंले भौतिकशास्त्रमा ठूलो योगदान पनि गर्नुभएको छ । र, अल्बर्ट आइन्स्टाइन र हकिङले जुन क्षेत्रमा काम गर्नुभयो, त्यस क्षेत्रमा तपाईंले अहिले पनि अनुसन्धान जारी राख्नुभएको छ । यस सन्दर्भमा अहिले वैज्ञानिक हकिङको निधनलाई तपाईं कसरी लिनुहुन्छ ?

उत्तर – यो साह्रै दुःखद घटना भएको छ । हुन त जन्मेपछि सबैको मृत्यु अवश्यमभावी छ । तर, उहाँको मृत्युभन्दा महत्वपूर्ण कुरा के हो भने उहाँले जुन किसिमले बाँच्नुभयो, त्यो चाहिँ साह्रै प्रेरणादायी जस्तो लाग्छ । एक्काइस  वर्षको उमेर हुँदा नै उहाँमा मोटर न्यूरोन डिजिज पत्ता लाग्यो । मोटर न्यूरोन डिजिज लाग्दा मांशपेशीहरु चलाउने न्यूरोनहरु बिस्तारै खिइँदै डिजेनेरेट हुँदै शरीरका कुनै पनि अङ्ग चलाउन नसकिने अवस्था हुन आउँछ । २१ वर्षको हुँदा उहाँमा यो रोग पत्ता लागेको थियो । रोग पत्ता लगाउने डाक्टरहरुले चाहिँ उहाँलाई  ‘तिम्रो आयु २ वर्ष मात्रै बाँकी छ’ भनेका थिए । तर, उहाँले सबैलाई असत्य प्रमाणित गरेर एक किसिमले पूर्ण जीवन नै बाँच्नुभयो । उहाँको ७६ वर्षको उमेरमा निधन भयो, मतलब रोग पत्ता लागेको ‘२ वर्षमा मर्छ’ भनेको मान्छे ५५ वर्ष बढी बाँचेर उहाँले सबै डाक्टर, सबै वैज्ञानिकलाई चकित पार्नुभयो । त्यो चाहिँ साह्रै प्रेरणादायी जस्तो लाग्छ । उहाँले त्यस्तो प्रतिकूल अवस्थामा पनि चिन्तन गर्ने काम कहिल्यै छाड्नुभएन, आफैले एकदम जटिल प्रश्नहरु उब्जनी गर्दै त्यसबारे समाधानहरु निकाल्दै बाँच्नुभयो । त्यसकारण सबैले भन्छन्, उहाँ विज्ञानको इतिहासमै आइन्स्टाइनपछिका – अहिलेको युगमा त सर्वाधिक लोकप्रिय नै हुनुहुन्छ – लोकप्रिय वैज्ञानिक हुन् ।

प्रश्न – भौतिकशास्त्रमा हकिङले गर्नुभएको योगदानहरु बुँदागत रुपमा भन्नुपर्दा के–के हुन् ?

उत्तर – उहाँले विज्ञानमा धेरै योगदान गर्नुभएको छ । विशेष गरेर उहाँले सैद्धान्तिक भौतिकशास्त्रमा काम गर्नुभयो । उहाँ आइन्स्टाइनको सामान्य सापेक्षतावादको सोधकर्ता हुनुहुन्छ । सामान्य सापेक्षतावादको सिद्धान्तले गुरुत्वको विवरण दिन्छ । हकिङ त्यसका सोधकर्ता हुन् । आइन्स्टाइनको सापेक्षताको जुन सूत्र छ, त्यसको एउटा समाधान ब्ल्याक होल हो । ब्ल्याक होल भन्नाले गुरुत्वाकर्षणको एउटा यस्तो चरम अवस्था हो, जसले त्यस वरिपरिका सबै चीजहरु खाइदिन्छ । यतिसम्म कि प्रकाशलाई पनि त्यसले खाइदिन्छ; प्रकाश पनि त्योबाट निस्कन सक्दैन भन्ने सामान्य सापेक्षतावादको सिद्धान्तको निष्कर्ष थियो । हकिङले त्यसको अझ विस्तृत अध्ययन गरेर के प्रमाणित गर्नुभयो भने ब्ल्याक होलले सबैथोक खाने मात्र होइन त्यसले आफ्नो प्रकृयागत रुपमा प्रकाशका विभिन्न विकिरणहरु फालिराखेको पनि हुन्छ । प्रत्येक ब्ल्याक होलले विशिष्ट प्रकारको विकिरण फालिराखेको हुन्छ भनेर हकिङले सैद्धान्तिक रुपमा प्रमाणित गर्नुभयो । सैद्धान्तिक भौतिकशास्त्रमा उनको प्रमुख योगदान यही हो ।

अर्को, सापेक्षताकै सन्दर्भमा, गुरुत्वाकर्षणको चरम अवस्था – जसलाई सिंग्युलारिटी भनिन्छ – दुई स्थितिमा देखिन्छ भन्ने कुरा हकिङले प्रमाणित गरिदिनुभयो । एउटा, बिग ब्याङको अवस्था – ब्रम्हाण्डको उत्पत्ति असिमित घनत्व, तापक्रमको अवस्थाबाट भएको हो भनिन्छ । अर्को हो ब्ल्याक होलको अवस्था । एकतिर सबै उत्पत्ति भएको अवस्थामा, अर्कोतिर सबैलाई खाने अवस्थामा । गुरुत्वको यस्तो चरम अवस्था चाहिँ आइन्स्टाइनको सापेक्षतामै निहित छ र ब्रम्हाण्डमा केही मात्रामा ऊर्जा छ भने त्यसले जहिले पनि चरम अवस्था उत्पन्न गराउँछ भनेर त्यसलाई ‘सिंगुलारिटी सिद्धान्त’को रुपमा प्रमाणित गर्नुभयो ।

पछिल्लो समयमा उहाँ सबै ४ प्रकारका प्राकृतिक बलहरु – स्ट्रङ, वीक, गुरुत्व र विद्युतचुम्बकीय बल – लाई एउटै सूत्रमा बाँधेर एउटै सूत्रले ब्रम्हाण्डका सबै प्रकृयाहरु बयान गर्न सकिने सिद्धान्त – जसलाई युनिफाइड फिल्ड थियरी भनिन्छ – प्रतिपादन गर्न तल्लिन हुनुहुन्थ्यो । त्यस्तो सिद्धान्त पूर्ण रुपमा तयार नै नभएपनि उहाँले त्यसको लागि पनि बाटो खोलिदिनुभएको छ ।

प्रश्न – तपाईंले युनिफाइड फिल्ड थियरीको कुरा गर्नुभयो । अल्बर्ट आइन्स्टाइनले पनि सापेक्षतावाद सिद्धान्त आविष्कार गरिसक्नुभएपछि पछिल्लो समयमा जीवनको अन्तिम अवस्थासम्म पनि युनिफाइड फिल्ड थियरीकै काम गर्नुभएको थियो भन्ने हामीले पढ्दै आएका छौँ । त्यस अवस्थामा आइन्स्टाइले बाँकी छोड्नुभएको काम हकिङले आइन्स्टाइनभन्दा कति माथिसम्म पुर्याउनुभयो ?

उत्तर – तपाईंले भन्नुभएजस्तै आइन्स्टाइनले अमेरिका गएपछि उहाँको जीवनमा बाँकी समय जति थियो, त्यो युनिफाइड थियरी बनाउनको लागि नै खर्चिनुभयो । तर, उहाँले त्यो सिद्धान्तलाई  जति विकास गर्न खोज्नुभयो, पछि त्यति अगाडि बढेको थिएन । हकिङले त्यो सिद्धान्तका लागि एउटा बाटो देखाउनुभयो । जस्तै, यो क्षेत्रमा स्ट्रिङ थियरी भन्ने एउटा सिद्धान्त छ । त्यसमा हकिङले पनि काम गर्नुभएको छ । स्ट्रिङ थियरीलगायत अरु बाटाहरु पनि खुलेका छन् । तीमध्ये कुन चाहिँ प्रमुख सिद्धान्तको रुपमा स्थापित हुन्छ, कुन नयाँ सिद्धान्तको रुपमा स्थापित हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था हुँदैन ।

विज्ञानमा कुनै पनि सिद्धान्त सजिलै स्थापित हुन अलिकति गाह्रो हुन्छ । कुनै पनि सिद्धान्त सिद्धान्तको रुपमा तबसम्म स्वीकार गरिन्न जबसम्म त्यसको प्रयोगात्मक प्रमाण भेटिँदैन । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तको कुरा गर्दा पनि उहाँलाई नोबेल पुरस्कार दिँदा सापेक्षतावादमा दिइएको थिएन । उहाँलाई ‘फोटो इलेक्ट्रिक एफेक्ट’मा दिइएको थियो । किनभने त्यो बेला सापेक्षतावादको सिद्धान्त प्रमाणित गर्ने उपाय थिएन । केही वर्षपछि प्रमाणित भयो । फेरि एकपटक प्रमाणित भएर पनि पुग्दैन, निरन्तर प्रमाणित भइरहनुपर्छ । सिद्धान्तको रुपमा स्थापित भइरहनको लागि जतिपटक प्रयोग गर्यो, त्यतिपटक प्रमाणित भइरहनुपर्छ । अहिलेसम्म पनि विभिन्न अनुसन्धानहरु भइरहेका छन् सापेक्षतावादभन्दा फरक नतिजा निस्कन्छ कि भनेर । तर, अहिलेसम्मका सबै प्रयोगात्मक नजिताले सापेक्षतावादको समर्थन गरेको छ । त्यो भइन्जेलसम्म यो सिद्धान्तको रुपमा रहिरहन्छ । कुनै एउटा प्रयोगमा सिद्धान्तविपरीत नतिजा निस्कियो भने मात्र पनि त्यो सिद्धान्त फालेर अर्कै खोज्नुपर्ने हुन्छ । त्यसैले यो स्ट्रिङ थियरीलगायतका अन्य सिद्धान्तहरु अहिले नै प्रमाणित गर्न पनि धेरै गाह्रो छ ।

ब्ल्याक होलले विकिरण – जसलाई हकिङ रेडियसन भनेर नाम दिइएको छ – फाल्छ भनेर हकिङले सैद्धान्तिक रुपमा त प्रमाणित गरेका छन्, त्यसको विरोध कतैबाट छैन । सैद्धान्तिक रुपमा त्यसको प्रतिकूल नतिजा कतै देखिँदैन । तर, प्रयोगात्मक रुपमै दूरविनबाट हेरेर ‘यसरी फालिरहेको छ’ भनेर देखाउन चाहिँ अझ धेरै वर्ष लाग्छ जस्तो लाग्छ । त्यही किसिमले यो ‘युनिफाइड फिल्ड थियरी’को पनि विभिन्न मोडलहरु छन्, थियरीहरु छन् – थियरी भन्नाले ४ वटा बलका सिद्धान्तहरुलाई एकीकृत गर्ने तरिकाहरु छन् । तीमध्ये कुन चाहिँ सही सिद्धान्त हो भन्ने कुरा प्रमाणित गर्नको लागि प्रयोग चाहिन्छ, जसको लागि आवश्यक प्रविधि अहिलेसम्म विकास भएको छैन अर्थात् त्यस्तो प्रविधि उपलब्ध छैन ।

प्रश्न – हकिङले युनिफाइड फिल्ड थियरीमा काम गर्नुभयो, उहाँले एक तहसम्म पुर्याउनुभएकै छ । त्यसलाई एउटा पूर्ण सिद्धान्तको रुपमा स्थापित गर्नको लागि तपाईंले अझै धेरै समय लाग्छ भन्नुभयो । त्यसो भए हकिङपछाडि यो सिद्धान्तलाई पूर्णता दिनको लागि को–को वैज्ञानिकहरु अगाडि छन् त ?

उत्तर – अहिले धेरै वैज्ञानिकहरु सक्रिय छन् । युनिफाइड फिल्ड थियरीमा (एन्ड्रु) स्ट्रोमिन्जर भन्ने वैज्ञानिक छन् – हकिङकै विद्यार्थी हो क्यार उनी, मलाई ठ्याक्कै याद त भएन । स्ट्रिङ थियरीका प्रवर्तकहरु छन् (टम) ब्याङ्क्स, (पल जोसेफ) स्टाइन्हार्टहरु छन्, अन्य थुप्रै छन् ।

तर, एउटा विवाद आइरहेको छ सैद्धान्तिक भौतिकशास्त्रमा । प्रयोगबाट प्रमाणित नै गर्न नसकिने अवस्था आयो भने प्रयोगात्मक रुपमा प्रमाणित नभए पनि सैद्धान्तिक रुपमा प्रमाणित छ भने त्यसलाई सिद्धान्तको रुपमा स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा विवाद छ अहिले । एकथरी वैज्ञानिकहरु के भन्न थालेका छन् भने तार्किक रुपमा सबै मिल्छ र अहिलेसम्मको भएका प्रयोगका नतिजाहरुले सिद्धान्तको विरोध गर्दैनन् भने नयाँ प्रयोगहरु गर्न नसकिने भयो भने पनि त्यसलाई सिद्धान्तको रुपमा स्वीकार्नुपर्छ । अर्काथरी वैज्ञानिकहरु चाहिँ ‘हैन, विज्ञान भनेको त प्रमाणित नभईकन मान्नै सकिन्न, प्रमाणित नै गर्नुपर्छ’ भन्छन् । यस सन्दर्भमा एक–डेढ वर्ष जति भयो होला, वैज्ञानिकहरुको एक समूह हकिङको सिद्धान्त चाहिँ ‘प्रयोगबाट नै प्रमाणित गरिनुपर्छ’ भनेर हकिङविरुद्ध लागे । वास्तवमा उनीहरु हकिङको सिद्धान्त तत्काल प्रयोगबाट सिद्ध हुन नसकिने देखेपछि त्यसको विरोधमा लागेका थिए । तर, त्यस विपरित अन्य वैज्ञानिकहरु भने हकिङको सिद्धान्तको पक्षमा उभिए । त्यो विवाद निकै रोचक भएको थियो । मैले उनीहरुको आर्गुमेन्ट पेपरहरु पढिरहेको थिएँ ।

एउटा संयोग भनौँ तपाईंलाई ? हकिङ बित्नुभएको मार्च १४ मा आइन्स्टाइनको जन्मदिन पनि हो ।

प्रश्न – हकिङले गरिराख्नुभएको रिसर्चको निष्कर्षले आइन्स्टाइनको सापेक्षतावादसँग कन्ट्रास्ट गर्छ भन्ने कुरा पनि आइरहेको छ । के त्यो साँचो हो ?

उत्तर – कन्ट्रास्ट भन्ने खालको कुरा त्यस्तो केही छैन– विज्ञान त विकास गर्दै लाने हो नि ! एउटाले एउटा सिद्धान्तको जग बसाल्यो भने अर्को नयाँ आउनेले त्यसमा संरचना माथि थप्दै जाने हो नि ! उदाहरणको लागि, न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्तलाई आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले एक किसिमले प्रतिस्थापन गर्यो । तैपनि भौतिकशास्त्रमा संसारभरि न्यूटनको सिद्धान्त पनि पढाउनैपर्छ । न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्तको आधार नबुझीकन आइन्स्टाइनको सिद्धान्त बुझ्नै सकिन्न । र, कुन अवस्थामा आइन्स्टाइनको सिद्धान्त प्रयोग गर्ने ? कतिसम्म  र कहिलेसम्म न्यूटनको सिद्धान्तले पुग्ने हो ? भन्ने कुरा चाहिँ महत्वपूर्ण छ । उदाहरणको लागि, गाडीको मेकानिजममा त आइन्स्टाइनको सिद्धान्तको आवश्यकता पर्दैन, न्यूटनकैले पुग्छ । त्यसैले कसैले सिद्धान्तको जग बसाल्छ, अरुले त्यसमा थप्दै जाने हो, कन्ट्रास्ट नै गर्ने चाहिँ होइन ।

आइन्स्टाइनको सापेक्षतावाद सिद्धान्तको कुरा गर्दा त्यसले ठूल्ठूला संरचनाहरु हेर्छ – ब्रम्हाण्ड, तारा, ब्ल्याक होलहरु । र, हुन त क्वान्टम सिद्धान्तको विकासका लागि आइन्स्टाइनले नै योगदान दिएका हुन्, तर त्यस सिद्धान्तले चाहिँ स–साना कुराहरु जस्तै -अणु, अणुभित्रका संघटकहरु हेर्छ ।

ब्रम्हाण्डको कुरा गर्दा अहिले स्थापित सिद्धान्तअनुसार यो एक अत्यन्त सानो विन्दूबाट सुरु भएको हो, जसलाई सिंग्युलारिटी भनिन्छ, यो कुरो मैले अघि पनि भनेँ । त्योबेला त त्यसले क्वान्टम रुप लिनुपर्ने हुन्छ । क्वान्टम अवस्थामा गुरुत्वले कस्तो व्यवहार गर्छ ? भन्ने प्रश्नको समाधान पत्ता लागिसकेको छैन । सैद्धान्तिक भौतिकशास्त्रमा मुख्य समस्या नै त्यही हो । त्यो समाधान भयो भने युनिफाइड फिल्ड थियरी निस्कन्छ । त्यहाँ गएर अड्किरहेको छ । हकिङले क्वान्टम गुरुत्वकै थियरी निकाल्नुभएको होइन, त्यो बनेको छैन । तर, उहाँले के गर्नुभयो भने सापेक्षताको क्लासिकल ब्याकग्राउन्डमा क्वान्टम फिल्डहरु राख्यो भने के हुन्छ भनेर हेर्नुभयो । र, त्यसबाट उहाँले ‘हकिङ रेडियसन’को सिद्धान्त निकाल्नुभएको हो । त्यसैले सामान्य सापेक्षतावाद र क्वान्टम सिद्धान्तमा उहाँले मूर्त नयाँ कुरा थपे । त्यही भएर नै मैले ‘कुनै सिद्धान्त डिस्क्रेडित नै हुने होइन’ भनेको हुँ । माथि भनेजस्तै आइन्स्टाइनको सिद्धान्त प्रतिकूल हुने गरी भौतिक विज्ञानमा कुनै नतिजा अहिलेसम्म आएको छैन । हकिङले गरेका कामहरुबाट आइन्स्टाइनको सिद्धान्तमा केही नयाँ कुरा थपिए मात्रै । यसरी थपिँदै जाँदा एउटा व्यापक चित्र निर्माण हुन्छ ।

प्रश्न – कन्ट्रास्टको कुरा होइन, त्यसमा थपिने कुरा हो ?

उत्तर – हो, थपिने कुरा मात्र हो ।

प्रश्न – एउटा अर्को प्रश्न के छ भने हकिङले लेख्नुभएको किताब जुन छ, ग्रान्ड डिजाइन, त्यस पुस्तकमा उहाँले भन्नुभएको छ, ‘यो विश्व ब्रम्हाण्ड आफ्नै नियमहरुले चलिरहेको छ, त्यसकारण यो चल्नको लागि ती नियमहरु नै काफी छन्, यसमा ईश्वरको कुनै भूमिकाको जरुरी छैन’ । यसमा तपाईंको विचार के छ ?

उत्तर – उहाँ जतिको बौद्धिक व्यक्ति त होइन म आफू । तर, मलाई पनि के लाग्छ भने सबैभन्दा शक्तिमान चाहिँ प्रकृति नै हो । प्रकृतिभन्दा ठूलो अरु केही छ जस्तो लाग्दैन मलाई । हकिङको सवालमा कुरा गर्दा ‘ग्रान्ड डिजाइन’भन्दा पहिले उहाँले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामको पुस्तक लेख्नुभएको थियो – जुन सर्वाधिक लोकप्रिय भयो, त्यो पुस्तक झण्डै एक करोड प्रति हातहातै विक्री भयो भनिएको छ, पाँच वर्षसम्म बेलायतको एउटा पत्रिकामा बेस्ट सेलर्सको लिस्टमा एक नम्बरमा बसिरहेको थियो त्यो । त्यसमा उहाँले के भन्नुभएको छ भने ‘ब्रम्हाण्ड सृष्टि गर्नको लागि देउतालाई धेरै स्वतन्त्रता थिएन’ । किनभने यस्तै किसिमको ब्रम्हाण्ड बन्नको लागि धेरै कुराहरुको मान  ठ्याक्कै मिल्नुपर्ने हुन्छ । जस्तो, इलेक्ट्रोनको चार्ज अहिले जति छ, त्यति नै हुनुपर्छ । त्योभन्दा अलिकति कम/बेसी भए मात्र पनि यस्तो ब्रम्हाण्ड नै देखिँदैन । ब्रम्हाण्डकै घनत्वको कुरा गर्दा पनि अहिले जति छ, त्यति नै हुनुपर्छ, त्योभन्दा फरक हुन सक्दैन । एकछिनका लागि  ईश्वरले नै ब्रम्हाण्ड बनाएको भनेर माने पनि उनले ब्रम्हाण्ड सिर्जनाका लागि सबथोकमा त्यही मानहरु दिनुपर्ने हुन्थ्यो, नत्र यस्तो ब्रम्हाण्ड निर्माण नै हुँदैनथियो भनेर हकिङले लेख्नुभएको छ । उहाँ धेरै वर्षसम्ध दोधारे किसिमले ईश्वर छन्/छैनन् मा त्यति विवादित हुन चाहनुभएन । ईश्वरको अस्थितत्वलाई बीचमा राखेर बोलिरहनुभएको थियो । तर, उहाँका यस्तै अभिव्यक्तिहरुका कारण विश्वका धेरै पत्रिकाहरु, मिडियाहरुले उहाँ ‘नास्तिक रहेछन्’ भनेर प्रचार गर्न थाले । त्यसपछि अन्तिमतिर आएर उहाँले ‘म नास्तिक नै हुँ, ईश्वर छैनन्’ भन्न थाल्नुभयो । मेरो आफ्नो व्यक्तिगत विचार पनि त्यस्तै छ । म प्रकृतिलाई नै सर्वशक्तिमान देख्छु; जे छ, प्रकृतिको सञ्चालनमा छ ।

प्रश्न – उहाँले एक वर्षअगाडि भन्नुभएको थियो, ‘मानवजातिको आयु अब एक हजार वर्ष पनि छैन’ । भर्खरै फेरि गत २०१७ को नोभेम्बरमा चीनमा गएर उहाँले ‘एक हजारलाई पनि घटाएर अब ६०० वर्षभन्दा बढी छैन है मानवजातिको आयु, हामीले अर्को ग्रह खोज्नैपर्छ’ भन्नुभयो । उहाँले के आशयमा भन्नुभएको होला ? त्यो त विश्लेषणको कुरा भयो । तर, त्यसको धेरै नै चर्चा भयो, धेरैले उहाँको कुरालाई आलोचना पनि गरेका छन् । यसमा तपाईंको के प्रतिक्रिया छ ?

उत्तर – यस विषयमा मेरो त्यति धेरै अध्ययन छैन । के कारणले उहाँले त्यस्तो भन्नुभएको होला ? मैले पनि पढ्न त पढेँ, कारण चाहिँ थाहा पाउन सकिनं । उहाँको आशय पनि थाहा पाउन गाह्रो छ ।  तर, मलाई के लाग्छ भने उहाँले धेरै अध्ययन गरेर  नै त्यस सवालमा केही भन्नुभएको छ । उहाँ धेरै सोचेर भन्नुहुन्छ – उहाँको सोच्ने बाहेक अरु केही छँदै छैन, खालि दिमागलाई सक्रिय राखेर नै उहाँ यत्रो वर्ष बाँच्नुभयो जस्तो लाग्छ मलाई । उहाँको एकदुईवटा तर्क के छन् भने ‘हामीले पृथ्वीमा भएका सबै स्रोतसाधनहरु सिध्याउँदैछौँ, केही समयपछि त्यो सिधिने हुन्छ, प्रदूषण पनि गरिरहेका छौँ भने यहीँ बसिरहेकाहरुका लागि क्रमश: अवस्था प्रतिकूल हुँदै जान्छ र हामीले अर्को ग्रह खोज्नुपर्छ भन्ने एउटा प्रेरणाको रुपमा भन्नुभएको होला कि जस्तो लाग्छ । स्पेस एक्स्प्लोरेसन (अन्तरिक्षको खोज)लाई निरन्तरता दिइरहनुपर्छ; हामीले अन्तरिक्षमा गएर स्पेस कोलोनाइज पनि गर्न खोज्नुपर्छ भनेर त्यतातिर प्रेरित गर्न भन्नुभएको हो कि ?

प्रश्न – यो पृथ्वीमा मानवीय कृयाकलापको कारणले गर्दा नै ‘विश्व तापमान वृद्धि भइरहेको’ स्थिति छ, अनि अर्को, आणविक हतियारहरुको कुरा पनि छ । युद्धका सम्भावनाहरु पनि बढिरहेको स्थितिमा पृथ्वी बस्न योग्य हुँदैन भन्ने अर्थमा उहाँले त्यस्तो भन्नुभएको हो जस्तो लाग्छ । चिन्ता नै हो कि ? भन्ने लाग्छ ।

उत्तर – हो, त्यो उहाँको चिन्ताकै अभिव्यक्ति थियो । उहाँलाई आलोचना नै गर्न सक्ने अवस्थामा त म छुइनं । तर, पहिले के देखिएको थियो भने ग्लोबल वार्मिङ हुँदै गएपछि हामी ‘रनवे ग्लोबल वार्मिङ’को अवस्थामा पुग्छौँ र त्यहाँबाट हामी केही गरेर पनि पछाडि फर्कन सक्दैनौँ र शुक्र ग्रहमा जस्तै  सबै ठाउँ सुख्खा भएर पृथ्वीको सतहमा रहेको सबै पानी सुक्छ भनेर धेरै प्रचार भएको थियो । अनि यही सन्दर्भमा उहाँले त्यो भन्नुभयो । रनअवे ग्लोबल वार्मिङ भयो भने त हामी खतम हुन्छौँ भनेर त्यही सन्दर्भमा पनि उहाँले भन्नुभएको हो । तर धेरै अध्ययन गर्दा यो पृथ्वीलाई रनअवे ग्लोबल वार्मिङकै अवस्थामा लग्न चाहिँ निकै कठिन जस्तो देखियो, त्यसको सम्भावना निकै कम भएको देखियो । त्यसको मतलब प्रदूषण अझ गरे हुन्छ भन्ने होइन कि, जुन पहिला विकराल अवस्था जस्तो देखिएको थियो, त्यस्तो चाहिँ छैन कि भन्ने हो ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार