चुनाव खारेजी अभियान कस्तो रह्यो ? समीक्षा कस्तो गर्नुभएको छ ? 

यो अभियान भव्यतापूर्वक सफल भएको छ । जनताले दलाल संसदीय व्यवस्थाबाट आफ्नो राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान हुन सक्तैनन्, यसको समाधान वैज्ञानिक समाजवाद स्थापना गर्नु हो भन्ने चेतनाको विकास गरेका छन् ।

त्यसकारण नेकपाको नेतृत्वमा राज्यको दमनका बावजूद ‘दलाल संसदीय व्यवस्थाको भ्रममा नपरौं, वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा अघि बढौं !’ भन्ने नाराका साथ भित्तेलेखन, पोष्टरिङ्ग, पर्चा वितरण, कोणसभा, जनसभा हुँदै मतदान केन्द्र कब्जा र बम विष्फोटनसम्म जनता पुगेका छन् ।

पहिलाे कुरा, नेपाली क्रान्तिमा पटकपटक भएको धोकाबाट पाठ सिक्दै नेता, कार्यकर्ता र जनता एउटा प्रतिबद्धतासहित क्रान्ति पूरा गर्ने प्रकियाको वैकल्पिक धारामा अघि बढेका छन् ।

दोस्रो कुरा, नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टी स्थापित भएको छ । जसको नेतृत्व महासचिव कमरेड विप्लवले गर्नुभएको छ । यस प्रकृयामा नेता र कार्यकर्ताले परिपक्वता पनि हासिल गरेका छन् । जनताले आफैं पनि संगठनात्मक, विचारधारात्मक र कार्यशैलीका दृष्टिबाट यो पार्टीका नेता र कार्यकर्ताबाट क्रान्तिलाई अथक रुपले अन्तिमसम्म लैजान आदेश गरेका छन् ।

तेस्रो कुरा, सरकारले निकै ठूलो जोरजुलुम गर्दा पनि ४० प्रतिशतभन्दा बढी मतदान हुन सकेको छैन । जसरी ६५ र ७५ प्रतिशतको कुरा गरियो, त्यो बनावटी हो भन्ने कुरा स्पष्ट भएको छ । ४० लाखभन्दा बढी युवा मतदाता रोजगारका लागि विदेशिएका छन् । हजारौं जनता भूकम्पपीडित क्षेत्रमा सिकर्मी र डकर्मी काम गरिरहेका छन् जो मतदानको लागि आफ्नो क्षेत्रमा फर्केका छैनन्, त्यस्तै अस्थायी रुपमा कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । यो कुरा हामीले प्रत्यक्ष देखेका छाँै ।

उम्मेदवारहरुले ठूला शहरमा रहेका मानिसहरुलाई भाडाको व्यवस्था गर्दा पनि सबै गएका छैनन् र हाम्रो पार्टीको आह्वानमा ३० प्रतिशत भन्दा बढी जनताले चुनावमा भाग लिएका छैनन् । सरकारले निर्वाचन आयोगमार्फत् मतदानको जुन तथ्यांक प्रस्तुत गरेको छ त्यसमा उम्मेदवारको मतदान केन्द्र कब्जालाई जोडिएको छ । एउटा व्यक्तिले ६० पटकसम्म मतपत्रमा छाप लगाउने, मरेका, विदेश गएका, महिला र अशक्त वृद्धवृद्धाहरुको नाममा समेत अर्कोले मतदान गरेको कुरालाई पनि जोडिएको छ । त्यसो त राजधानी नजिकै एउटा वुथमा ९९.६ प्रतिशत मत खसालिएको छ ।

अतः हाम्रो पार्टीको निर्वाचन खारेजी अभियानले कथित प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव साम्राज्यवादी र तिनका घरेलु दलालको नाटक, साम, दाम, दण्ड र भेदको भद्दा नमूना सावित गरिदिएको छ ।

तपाईको पार्टीले त्यत्रो बम बारुद पड्काउँदा पनि जनतामा त्यसको प्रभाव परेन, चुनावप्रति व्यापक उत्साह देखियो नि ? 

पार्टीले घोषणा गरेको दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी अभियानमा जनताले उत्साहपूर्ण रुपले चुनावमा भाग लिएका होइनन्, बरु उत्साहपूर्ण रुपले त्यसको धज्जी उडाए र आक्रोसका साथ दलाल उम्मेदवारहरुमाथि समेत बम प्रहार गरे । जनता कता लागे भन्ने कुरा कालीकोटको मुम्रा, सुर्खेत, मुगु, दाङमा मतदान केन्द्र कब्जा र रुकुममा उम्मेदवारमाथि चप्पल प्रहार, देशव्यापी बम विष्फोटले स्पष्ट पारिसकेको छ ।

दलाल उम्मेदवारहरु जहाँ पुगे, त्यहीं बम पड्किने कुरामा व्यापक जनताको सहभागिता छ । प्रहरी र सेनाको बलमा घरघरै गएर धम्काएपछि जनताहरु बाध्य भएर मतदान गर्न पुगेका हुन् जसको राम्रो उदाहरण रोल्पा थबाङ हो । अनि यो कसरी उत्साहपूर्ण हुन्छ र !

कति जना कार्यकर्ता पक्राउ परेका छन् ? त्यसप्रतिको धारणा ? 

अहिलेसम्म पार्टीको रेकर्डअनुसार ७ सय २१ भन्दा बाढी नेता तथा कार्यकर्ताहरु पक्राउ पर्नु भएको छ । पोलिटव्युरो सदस्य क. चन्द्रबहादुर चन्द ‘ वीरजङ्ग’ लगायतका केही कमरेडहरुलाई छोडेको छ भने अरु छोड्ने क्रम जारी छ किनकि पक्राउ पर्नुभएको साथीहरु निर्दोष हुनुहुन्छ । उहाँहरुलाई तुरुन्त विनाशर्त सरकारले रिहाई गर्नुपर्छ भनेर कमरेड महासचिवको विज्ञप्तिमा पनि आएको छ । यो अन्तरवार्तामार्फत् म पनि त्यही कुरामा जोड दिन्छु ।

तपाईहरुले व्यक्तिकेन्द्रित आक्रमण गर्नुभएको आरोप छ नि ? 

यो व्यक्तिकेन्द्रित आक्रमण होइन, बरु दलाल संसदीय व्यवस्थाका असली प्रतिनिधिहरु जो भ्रष्ट, जनविरोधी र राष्ट्रविरोधि छन्, उनीहरुमाथि जनआक्रोस पोखिएको छ ।

दाङ्गमा एक जना म्यादी प्रहरीको मृत्यु भयो । घटना कसरी भएको हो ? 

त्यहाँ जनताले म्यादी प्रहरीमाथि होइन, बरु शेरबहादुर देउवामाथि आक्रोस पोखेका हुन् । त्यो प्रकृयामा म्यादी प्रहरी चौधरी भाइको ज्यान जानु दुःखद हो । यसमा म दुःख व्यक्त गर्दछु ।

चुनाव विरुद्ध भएका बम विष्फोटका घटनाहरुमा तपाईहरुको संलग्नता छ कि छैन ? 

हाम्रो पार्टीको चुनाव खारेजी अभियानमा जनताले संघर्षलाई उचाइमा पु¥याएर बम विष्फोट गरेका छन् । जनता सचेत भएपछि दलाल संसदीय व्यवस्थाका उम्मेदवारहरु जहाँ जान्छन् ,त्यहीं बम पड्किए । अभियानको नेतृत्व पार्टीले गरेपछि त्यसमा संलग्नता र असंलग्नताको कुरै आउँदैन ।

तपाईहरु नेपालको हितविरोधी विदेशी शक्तिबाट परिचालित भएको भन्ने आरोप छ नि ? 

यो दलालहरुको जो चोर उसैको ठूलो स्वर मात्रै हो । उनीहरुको आरोपलाई जनताले पानीको लौरो सावित गरिदिएका छन् ।

अब तपाईहरुको कार्यक्रम कस्तो हुन्छ ? 

पार्टीले आन्दोलन र संघर्षका उपलब्धीहरुको संश्लेषण गर्दै त्यसबाट शिक्षा लिन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी मुद्दाहरु आजको स्थितिमा पहिचान गर्दै अघि बढ्ने कार्यक्रम बनाइनेछ । आज गाँस, बाँस र कपास मात्रै हैन, शिक्षा, स्वास्थ्य र रोजगारका समस्याहरुले जनता पीडित छन् । भ्रष्टाचारले गर्दा यी समस्याहरु समाधान हुन सकेका छैनन् । संघर्षका मुद्दाहरु यी नै हुन्छन् । हामी शान्तिपूर्ण तरिकाले कार्यक्रम अघि बढाउछौं । यसलाई छेक्न खोजियो भने आन्दोलन विकसित चरणमा पुग्छ ।

वाम गठबन्धनको सरकारप्रति तपाईहरुको धारणा कस्तो रहला ? 

कथित वाम गठबन्धन होस् वा कथित लोकतान्त्रिक गठबन्धन, एउटै सिक्काका दुई पाटा हुन् । वाम गठबन्धनको माके एमालेमा विलय भइसकेको छ । वाम गठबन्धनको सरकार एमाले जस्तै हुन्छ । अझ सारतत्वमा यी वामपन्थी भनाउँदाहरु दलाल संसदवादका पहरेदारहरुबाहेक केही होइनन् । यी सबै नेपाली जनताको सेवामा होइन, बरु आर्थिक भ्रष्टाचार र साम्राज्यवादको सेवामा लाग्नेछन् । ठोस रवैया त सरकार बनेपछि थाहा होला ।

तपाईहरु चुनाव विरोधी शक्ति हो ? 

हामी जनताबाट नेतृत्व चुनिने र सरकार चुनिने प्रकृयाको विरोधी होइनौं । हामी पेरिस कम्युनका सन्तति हौं जसले प्रशासकीय अधिकृत र न्यायाधीश पनि जनताबाट चुनेको थियो । हामी बन्दुक र पैसाको बलमा गरिने संसदीय व्यवस्थाको चुनाव विरोधी हौं ।

शान्ति प्रकृया पूर्ण भयो भन्ने सरकारी दाबीप्रति यहाँको धारणा ? 

यो सरकारी धारणा सरासर गलत छ । क्रान्तिप्रति धोका दिएपछि हामीले विद्रोह गरी नयाँ उचाइमा क्रान्ति अघि बढाएका छौँ । त्यो शान्ति प्रकृया असफल र भङ्ग भएको छ, नयाँ क्रान्तिको प्रकृया शुरु भइसकेको छ ।

रातो खबर साप्ताहिकबाट । 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार