नेपालको माओवादी जनयुद्धलाई नजिकबाट रहेर सहयोग र समर्थन गर्नेमध्ये एक हुन् आनन्दस्वरुप बर्मा । उनी भारतीय वामपन्थी बुद्धिजीवि, पत्रकार एवं राजनीतिक विश्लेषक समेत हुन् । बर्मा केही समयअघि नेपाल आएका थिए । उनीसँग रातोखबरका लागि निर्देशक अनिल शर्मासहितको टीमले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा बाम–गठबन्धन चर्चामा छ । यो गठबन्धनले समाजवाद र साम्यवादको कुरा पनि गरिरहेको छ । त्यस विषयमा यहाँको धारणा कस्तो होला ? 

मैले वाम गठबन्धनलाई आलोचनात्मक दृष्टिले हेरेको छु । आलोचनात्मक दृष्टि किनभने यो गठबन्धनको कुनै वैचारिक आधार देखिएको छैन । किनभने एमालेले १० वर्षसम्म चलेको जनयुद्धलाई कहिल्यै समर्थन गरेन र सधैं एउटा आतङ्ककारी घटना मान्दै आयो । सामाजिक संरचनामा आमूल परिवर्तन जनयुद्धको माग थियो । त्यसमा एमाले अहिले पनि सकारात्मक छैन । यस्तो अवस्थामा के को आधारमा उनीहरूबीच सम्झौता भयो ? जनताले त्यो कुरा बुझ्न सकेका छैनन् । त्यसका रहस्यहरू खुल्दै जालान् । त्यो सम्झौताभित्र जनता र देशको हित हुने कुनै सोच छैन । यो केवल चुनावी स्वार्थप्रेरित गठजोड हो । जसको माध्यमबाट दुबैलाई पद प्राप्तीको लाभ होस् । यसैकारण गठबन्धन भएको छ । त्यसकारण म यसलाई आलोचना गर्छु । म यो गठबन्धनलाई यस अर्थमा समर्थन गर्छु कि आज दक्षिण एशियासहित पूरै विश्वमा फासीवाद उर्लिरहेको छ ।

सम्पूर्ण विश्वमा चाहे अमेरिकामा डोनाल्ड ट्रम्प, जापानमा सिङ जावे, जर्मनी, भारतमा मोदी सबैतिर फासिवाद बढ्दै गएको छ । यस्तो अवस्थामा थोरै पनि फासिवाद विरोधी उदारवादी शक्तिहरू देखिन्छन् भने त्यो सकारात्मक पक्ष हो । म नेपालको सन्दर्भमा कुरा गर्दा एमाले–माओवादी केन्द्रको गठबन्धनलाई भारतले रुचाउने छैन भन्ने कुरामा स्पष्ट छु । यद्यपि यिनीहरू भारतको स्वार्थको विरुद्ध जाँदैनन् । वाम एकता, वाम सरकार, नाम, झन्डाको कारण भारतमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको कारण पनि मोदी सरकार पूरै शक्तिको साथ वाम गठबन्धनको विरुद्ध लाग्नेछ । वाम गठबन्धनले दुई तिहाई ल्याएर सरकार बनाएछ भने पनि उनीहरूले साम्राज्यवादी आर्थिक नीतिलाई नै लागू गर्नेछन् । विश्वभर ‘हेर, नेपालमा कम्युनिस्ट सरकार आयो’ यस्तो प्रचार नहोस् भनेर साम्राज्यवाद चनाखो छ । त्यसकारण मैले वाम गठबन्धनलाई समर्थन गरेको छु । यस्तो अवस्थामा वास्तविक क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउँदै फासिवाद विरोधी शक्तिहरूलाई पनि अघि बढ्न दिनुपर्छ ।

एमाले र माओवादी केन्द्रको बीचमा आकस्मिक रूपमा गठबन्धन कसरी भयो । त्यसको प्रेरक शक्ति के हुनसक्छ ?

मैले भनेँ कि गठबन्धनको पछाडि वैचारिक, राजनीतिक आधार छैन । विचारधारा त्यसको कारण होइन भने सत्ताभोग त्यसको कारण हुनजान्छ ।

मेरो मतलव भारत र चीनको भूमिका छ कि ? 

नेपालको राजनीतिमा भारतको प्रभाव, हस्तक्षेप सधैं रहँदै आएको छ । लोकतान्त्रिक गठबन्धन निर्माणमा भारतको भूमिका प्रष्ट देखिन्छ । वाम गठबन्धन निर्माणमा भारतको हात छ कि छैन भन्ने विषयमा अझैँसम्म कुनै आधार वा तथ्य बाहिर आइसकेको छैन । मलाई के शंका लाग्छ भने चुनावमा प्रचण्डको राम्रो स्थान आयो र देउवासँग मिलेर सरकार बनाउन सक्ने अवस्था आयो भने त्यसबेला देउवा र प्रचण्ड गठबन्धन नहोला भन्ने कुनै निश्चित छ ? अहिले यो कुरा अनौठो लाग्ला तर अतितको अनुभवले त्यही कुरालाई पुष्टि गर्दछ । ओलीको सरकार ढालेर देउवाको सहयोगमा प्रधानमन्त्री बनेपछि प्रचण्डले कुन हदसम्म मोदीको गुणगान गरे, हाम्रो सामु छ ।

आउने दिनमा दिल्लीको दबाबमा देउवा र प्रचण्डको सरकार नबन्ला भन्न सकिन्न । त्यस्तो भयो भने नेपाली जनता चरम निराशामा धकेलिने छन् । आम अराजकताको स्थिति पैदा हुन सक्नेछ ।  यो कुरा भने निश्चित रूपमा भन्न सकिन्छ कि यी दुई पार्टीको बीचमा पार्टी एकता हुन सक्दैन । यो गठबन्धन केवल चुनावी गठबन्धनमा सीमित हुनेछ ।

विप्लव नेतृत्वको नेकपाले शान्ति प्रक्रिया असफल भयो भनिरहेको छ । त्यस विषयमा यहाँको धारणा ?

संविधान लेख्नुभन्दा पहिला जुन दिन जनसेना नेपाली सेनामा समायोजन गरियो त्यसै दिन शान्ति प्रक्रिया असफल भएको थियो । किनकी त्यही दिनदेखि आफ्ना प्रस्ताव लागु गराउने सम्पूर्ण शक्ति माओवादीले गुमाएको थियो । संविधान कसले, के को बलमा बनाइयो भन्ने प्रश्न मूल प्रश्न हो । संविधान जनताको राम्रो जीवनका लागि कि केवल देखाउनका लागि ? संविधान बनाउनु भन्दा अगाडि नै सेना विलय गरेपछि  बाँकी नै के रह्यो ? बुर्जुवा वर्गको दयाको पात्र बनेको कम्युनिस्ट पार्टीले जनताको लागि के नै गर्न सक्छ र !

तपाईले गतवर्ष नै नेपालमा जनयुद्ध– २ लेख्नु भएको थियो । के नेपालमा जनयुद्ध– २ सम्भव र आवश्यक देख्नुहुन्छ ? 

२०५२ फागुन १ (१३ फरवरी १९९६)मा नेपालमा जनयुद्ध शुरु हुँदा भन्दा नेपाली जनताको जीवन अझ कष्टकर भएको अवस्था छ । जनताको क्रान्तिकारी चेतना अझैँ बढेको छ । कामको खोजीमा विदेश पलायन हुने युवाहरूको मात्रा अझ बढेको छ । विश्व परिस्थिति त्यसबेला भन्दा धेरै अनुकूल छ । एक ध्रुवीय विश्व भएको, बर्लिनको पर्खाल ढलेको, पेरुको क्रान्तिकारी विद्रोहले धक्का खाएको बेला नेपालले एक्लै साम्राज्यवादको छातीमा मुक्का हान्दै ‘क्रान्ति सम्भव छ’ भन्ने सन्देश दिएको थियो । त्यही जनयुद्धले सन् २००८ (वि.सं.२०६५)मा नेपालमा गणतन्त्र स्थापना ग¥यो । प्रचण्ड प्रधानमन्त्री भए । यस बीचमा बाबुरामले केही किमी सडक बनाए । अरू केही सुधारका कार्यक्रम बाहेक जनताले के पाए ? जनतामाथि धोका भयो । संसदीय व्यवस्थाको लागि हजारौं सहिद भएका हुन् त ? त्यसैले विद्रोह अनिवार्य छ । हुनसक्छ क.विप्लवको हातमा आज नेतृत्व छ । विप्लवले धोका दिए भने क्रान्तिको औचित्य सकिन्छ त ? होइन, क्रान्तिको नेतृत्व अरू कसैले गर्नेछ । त्यसैले क्रान्तिको नेतृत्व गर्न कोही न कोही आउनै पर्छ । नेपालमा फेरि जनयुद्ध भयो भने त्यो कुनै आश्चर्य हुने छैन ।

विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यसको मुख्य समस्या के देख्नुहुन्छ ? 

हेर्नुस्, ५० वर्ष अघि जतिबेला म कम्युनिस्ट विचारको नजिक पुगेको थिएँ, त्यसबेला साम्राज्यवाद मरणासन्न छ भन्थे । मुत्युको मुखमा पुगेको कुरा गर्थे । आज ५० वर्ष पछि पनि त्यही भन्छन् । आज त्यो मरणासन्न प्राणी उत्तिकै बलियो छ । साम्राज्यवादले सङ्कटलाई समाधान गर्दै आपूmलाई बचाउँदै आएको छ । पुँजीवादको ऐतिहासिक अनुभव लामो छ । कोलम्बसलाई पुँजीवादको प्रस्थान विन्दु मान्ने हो भने पनि त्यो ५ सयवर्षको परिपक्व उमेरमा छ । समाजवादको अनुभव केवल १ सय वर्ष मात्र भएको छ । तसर्थ कम्युनिस्टहरूले समस्याको सही समाधान खोज्न आवश्यक छ ।

युरोप र अमेरिका आर्थिक सङ्कटबाट गुज्रिरहेका छन् । त्यसको परिणाम के हुनसक्ला ?

त्यसको परिणाम जनतालाई युद्धतिर धकेल्नु, आतङ्कवादको नाममा हत्या, दमन, लुटपाट गर्नु हुनेछ । संसारमा इस्लामिक वा अन्य जति पनि आतङ्कवाद चर्चामा छन्, त्यसको मुहान संयुक्त राज्य अमेरिका हो । संसारको सबैभन्दा धेरै मुस्लिम समुदाय भएको देश इन्डोनेशियामा कम्युनिस्ट सरकार बन्नासाथ कसरी अमेरिकी संलग्नतामा बर्बरतापूर्ण दमन भयो, प्रष्ट नै छ । जहाँ कम्युनिस्ट शक्तिमा आउँछन् संसारभरिका साम्राज्यवादीहरूले स्लामवादी, कट्टरतावादीलाई संगठित गर्छन् । सेना वा गुप्तचर सञ्जाल बनाएर नियन्त्रण गर्छन् । सन् १९६५÷०६६ मा इण्डोनेशियामा त्यही गरियो । जहाँ ३० देखि ५० लाख कम्युनिस्ट मारियो । क्युबापछि ११ करोड जनसंख्या भएको इण्डोेनेशिया साम्राज्यवादको तारो बन्यो । सन् १९९६ मा विश्वको एकमात्र हिन्दुराष्ट्र नेपालमा जनयुद्ध शुरु भयो । त्यसपछि अमेरिका, बेल्जियम, फ्रान्स, बेलायत, भारत सबै जनयुद्ध दबाउन पूरै शक्तिका साथ लागे ।

नेपाली जनतामा स्वतन्त्रता, कम्युनिस्टप्रति समर्थनको शानदार परम्परा छ । दक्षिण एशियामा ६० प्रतिशत जनमत कम्युनिस्ट भएको एकमात्र देश नेपाल हो । यो जनमतलाई ध्वस्त पार्न सारा साम्राज्यवादी गैरसरकारी संस्था, गुप्तचर, बौद्धिक समूह र वित्तीय संस्था नेपालका केन्द्रीत भएका छन् । १० वर्षपछि यो तथ्य बाहिर आउला, जसरी इण्डोनेशियाको विषय आयो । त्यसैले आज नै विषयको गम्भिरताबोध गरेर कदम चाल्न आवश्यक छ ।

भाकपा (माओवादी)को विद्रोहलाई यहाँले नजिकबाट हेरिरहनु भएको छ । त्यहाँको पछिल्लो स्थिति बताइदिनुस् न ।

भाकपा (माओवादी) अहिले निकै दबाबमा छ । धेरै केन्द्रीय नेता गिरफ्तार भएका छन् । मध्यम वर्ग र शहरमा काम बढाउन खोज्दा त्यस्तो भएको छ । शुरुमै उनीहरू दमनमा परे र बुद्धिजीवी साईबाबा जेलमा छन् । कुनै बुद्धिजीवीले भाकपा (माओवादी)को विषयमा बोल्यो कि दमन गरिन्छ । दण्डकारण्य, छत्तिसगढमा जनसमर्थन भएका कारण नेतृत्व र आधारक्षेत्र सुरक्षित देखिन्छ । अहिले विस्तारको गति तीव्र छैन ।

भाकपा (माओवादी)को नकारात्मक पक्ष वा सीमा पनि होलान् । जसको कारण अपेक्षित प्रगति भएको छैन । त्यस विषयमा यहाँको धारणा कस्तो छ ? 

नेपालमा एक समय जनयुद्ध र शहरी सङ्घर्ष, जनपरिचालन एकसाथ तीव्रता र घनीभूत भएको थियो । भारतमा त्यसो हुन सकेको छैन । भूमिगत र खुला जनसङ्घर्ष हुन सकेको छैन । कुनै समय विनोद मिश्रले त्यो काम गरेका थिए र तर त्यो पनि विसर्जित भयो । विहारको भोजपुरमा सशस्त्र सङ्घर्ष चलिरहँदा खुला मोर्चाले शहरमा जनआन्दोलनको नेतृत्व गरिरहेको हुन्थ्यो । भारतमा त्यसप्रकारको प्रयोगकोे समस्या छ ।

भारतमा बुर्जुवा लोकतन्त्रको फासिवादीकरण भैरहेको आरोप छ । त्यहाँको पछिल्लो स्थिति बताइदिनुस् न । 

रतमा लोकतान्त्रिक शक्तिहरूमाथि लगातार आक्रमण भैरहेको छ । केही वर्षयता थुप्रै उदारवादी, प्रगतिशील बुद्धिजिवीहरूको हत्या भएको छ । भर्खरै पत्रकार गौरी लङ्केसको हत्या भएको छ । भाजपाको सरकार बन्नासाथ हिन्दुवादी, फासिवादी शक्तिहरू आक्रामक भएका छन् । किनकी अपराधीहरूलाई राज्यको समर्थन र सुरक्षा प्रदान भएको छ । भाजपाको सरकार वास्तवमा हिन्दु स्वयंसेवक सङ्घको सरकार हो । यो भारतलाई हिन्दु राष्ट्र बनाउन चाहन्छ । त्यसो भयो भने भारतको सामाजिक स्थिति भत्किन्छ, विघटन हुन्छ । त्यसो भयो भने भारत गृहयुद्धमा फस्नेछ । विश्वले भारतको त्यसप्रकारको स्थितिलाई नियालिरहेको छ । त्यसैकारण होला मोदीको हजार केशिस र दौडाहाका बावजुद भारतमा ठूलो लगानी भित्रिएको छैन । दुई वर्षपछि २०१९ मा हुने चुनावपछि मोदीको स्थिति के हुन्छ भन्न सक्ने स्थिति छैन ।

यो वर्ष विश्वभरि अक्टोबर क्रान्तिको १ सय वर्ष पुगेको अवसरमा उत्सव मनाइँदैछ । तपाई त्यही शिलशिलामा काठमाडौंमा हुनुहुन्छ । विश्वका उत्पीडित, श्रमिक जनताप्रति यहाँको थप सन्देश छ कि ? 

चीन र भारत मिले भने विश्वको ठूलो शक्ति हुन्छन् । अमेरिका र युरोप त्यो देख्न चाहन्नन् । यी दुई देश लडिरहनुमा नै उनीहरूको स्वार्थ मिल्छ । त्यो कुरा शासकहरूले कसरी बुझ्छन् अलग विषय भयो । हामी भारत, नेपाल र चीनका जनता एक आपसमा अन्तरक्रिया, भेटघाट, विचार आदानप्रदान गर्नुपर्छ भन्नेमा छाैं । यसले जनस्तरको सम्बन्ध सुदृढ गर्न मद्दत गर्छ । अक्टोबर क्रान्तिको शतवार्षिकी दिवसबाट नेपाल, भारतसहित विश्वभरिका जनताले प्रेरणा लिएर अझ बढी सङ्गठित बन्न सक्नुपर्छ ।

रातो खबर साप्ताहिकबाट ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार