अक्टोबर क्रान्तिको शतवार्षिकोत्सवको अवसरमा जनपाटीले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलासँग लिएको ताजा अन्तर्वार्ता । वार्ताको पूरा अंश :

आजभन्दा सय वर्षअघिको अक्टोबर क्रान्तिलाई नेपालको सन्दर्भमा कसरी हेर्ने ?

विश्व इतिहासमा अक्टोबर क्रान्ति एउटा ठूलो उथलपुथलकारी घटना हो । हुन त यस्ता सानातिना घटना भने निरन्तर भइराख्ने हुन्छ । सर्वहारावर्गले त्यो साना परिघटनालाई परिवर्तनको निम्ति प्रयोग गर्न सक्दा त्यो क्रान्तिमा बदलिने हुन्छ । त्यो प्रयोग गर्न नसक्दा बुर्जुवा वर्गको हातमा जाने हुन्छ । अक्टोबर क्रान्तिको कुरा गर्दा त्यो बेला सर्वहारावर्गले त्यो समयमा आएको उथलपुथललाई क्रान्तिमा रुपान्तरण गर्न सफल भएको अवस्था हो ।

अक्टोबर क्रान्तिलाई कसैले पहिलो विश्वयुद्धको परिणामको रुपमा मात्र हेर्ने गर्छन्, खासगरी त्यो बेला साम्राज्यवादीबीचको युद्धका कारण उत्पन्न संकटले अक्टोबर क्रान्ति जन्मिन पुगेको तर्क गर्छन् मान्छेहरु । तपाई के भन्नु हुन्छ ?

त्यो कुरा सही होइन । अन्तर्राष्ट्रिय संकटको कारणले मात्रै अक्टोबर क्रान्ति भएको भन्ने तर्क सही होइन । सही कुरा के हो भने अन्तर्राष्ट्रिय स्तरमा आएको सानो उथलपथल र घटनाक्रमहरु एउटा कारण हो । सबै कारण चाँहि होइन । त्यसमा धेरै कारणहरुको संयोजनबाट अक्टोबर क्रान्ति हुन पुगेको छ ।

पहिलो कुरा रुसमा कम्युनिस्ट पार्टी हुनु । त्यो कम्युनिस्ट पार्टीको सही कार्यदिशा हुने कुरा । त्यसको नेतृत्व सही हुनु । अनि त्यो नेतृत्व इमान्दार र दुरदर्शी बन्नु त्यसबाहेक डाइनामिक र जुझारु हुनु । त्यसले जनतालाई प्रशिक्षित र विश्वस्त गर्नसक्नु । त्यहाँभित्र जारशाही सत्ताको प्रताडना रहनु, जनताले जारशाही सत्तालाई फाल्न संघर्ष गर्नु, पुँजीवादलाई फाल्न जनता तयार रहनु । त्यसबाहेक अन्तर्राष्ट्रिय मुद्धा पनि मिलेको हुन पुग्नु । यी सबै कुराको संयोजन वा मिलेको नेतृत्वले सबैलाई संयोजित गर्न सक्दा अक्टोबर क्रान्ति हुन पुग्यो ।

रुसमा लेनिनजस्तो गतिशील र असाधारण नेतृत्व नभएको भए अक्टोबर क्रान्ति हुन सक्दैनथ्यो भनेर पनि भन्ने गरिन्छ, के त्यो साँचो हो ?

त्यसलाई साक्षेपित हिसावले साँचो मान्न सकिन्छ, निरपेक्ष रुपले होइन । लेनिन नभएको भए अर्को नेतृत्व पनि हुन सक्थ्यो । रुसमा त्यो बेला लेनिनमात्र थिएनन्, अरु नेताहरु पनि थिए । स्टालिन, टटस्कीलगायत अरु नेताहरु पनि थिए । उनीहरुले पनि भिन्न ढंगले सोचेका थिए । त्यो बेग्लै कुरा हो ।

तर लेनिन नै यस्तो व्रिलेन्ट र एक्स्ट्रा अडिनरीका साथै मेधावी व्यक्तित्व हुनुहुन्थ्यो । जसले हरेक समयलाई सकेन्ड सेकेन्डमा सोच्न सक्ने वा हिसास गर्न सक्ने हुनुहुन्थ्यो । प्रत्येक गतिको मापन गर्न सक्नुहुन्थ्यो । दुनियाँको हरेक सेकेन्ड सेकेन्डको गतिको मापन गर्न माहिर हुनुहुन्थ्यो । र त्यसलाई क्रान्तिमा बदल्न सक्नुहुन्थ्यो । त्यस्तो गर्न सक्ने नेतृत्व भएको देशमा अहिले पनि र हरेक बेला क्रान्ति हुनसक्छ ।

कसैले के भन्ने गर्छन् भने लेनिनले रुसमा क्रान्तिको तयारी भनेको जम्मा ८ महिनाको बीचमा गरेको हो । जहाँ लेनिनले सन् १९१७ को जनवरीको बेला क्रान्ति संभव छैन भनेर निश्कर्ष निकालेका थिए तर फरवरी महिनामा भएको बुर्जुवा क्रान्तिपछि क्रान्तिको तयारी गरेका थिए भन्ने गरिन्छ । वास्तविकता के हो ?

खास खास परिस्थितिमा खास खास समयावधि हुन्छ । सिंगो क्रान्तिको कुरा गर्दा लेनिनले पार्टी स्थापना गर्दाको समयदेखि क्रान्ति सम्पन्न नहुँदासम्मको समयसम्म गरेको तयारीलाई एउटै ढर्रामा हेर्नुपर्ने हुन्छ । जहाँ रुसमा सन् १८९३ मा अखिल रसियाली सामाजिक जनवादी मजदुर पार्टी निर्माण भयो । त्यो बेला लेनिनले कयौं ठूलो विचारधारात्मक संघर्ष गर्दै सन् १९०५को असफल क्रान्तिबाट सन् १९१७ सम्म आउँदा पूर्ण क्रान्तिमा परिणत हुन पुग्यो ।

खास खास कुरामा खास खास समय हुन्छन् । कतिपय कुरामा ८ महिनाको कुरा पनि हुनसक्छ । कतिबेला ८ दिनको पनि हुनसक्छ । सामान्य उदाहरणका कसैले खाना पकाउन २ घण्टाभित्र पूरा गरे भनेर भन्नसक्छ । खाना पाक्न दुई घण्टा मात्र हुँदैन, त्यसका लागि वर्षभरिको तयारी मात्र कुनैपनि मान्छेले एक वा दुई घण्टाभित्र खाना पकाउन सक्ला । खानाका सामाग्री तयार गर्न एउटा मान्छेलाई वर्षभरि जस्तो धान रोप्नेदेखि त्यसलाई घरमा भित्राउनेसम्म कति समय लाग्छ । हो क्रान्तिको तयारी र पूरा गर्ने काम पनि त्यस्तै गरेर हुन्छ ।

उसो भए सय वर्षअगाडि लेनिनको नेतृत्वमा भएको क्रान्तिको मोडललाई आजको विश्व र नेपालमा कसरी लागू गर्न सक्छौ ?

क्रान्तिको प्रश्नको कुरा गर्दा धेरैले हतियार र फौजको कुरा मात्र गर्छन् । त्यसलाई हामीले सापेक्ष रुपमा हेर्नुपर्छ । परिवर्तन शाश्वत हो । परिवर्तनका लागि गरिने क्रान्ति अर्को शाश्वत नियम हो । जहाँसम्म क्रान्तिको चरित्र र मोडलको कुरा छ, त्यो समयअनुसार बदलिने हुन्छ । लडाइँका तरिका, लड्ने साधन र त्यसको संगठन पनि समय परिस्थितिअनुसार नयाँ नयाँ बन्दैजान्छ ।

दास युगमा लड्दा जुन साधन मान्छेले प्रयोग गर्यो, त्यो सामन्तवादी युगमा आउँदा अलि विकसित भएर आयो । अनि पुँजीवादमा आउँदा झन् विकसित बनेर आयो । आजको अत्याधुनिक युगमा त झन् नयाँ नयाँ साधन निर्माण गर्ने सवालमा मान्छेहरु नयाँ बनेर प्रस्तुत भएका छन् ।
कुनैबेला मान्छेले घुइत्रो चलाएर लड्ने गर्दथ्यो, आज आउँदा मिसाइल बनाएर लड्ने ठाउँमा आइपुगेको छ । यी सबै बदलिएको र विकसित परिस्थितिअनुसार निर्माण हुने कुरा हुन् । वास्तवमा युगअनुसार हतियारको कुरा, युगअनुसार चेतनाको प्रयोग गर्ने कुरा हुन्छन् । मान्छेले त्यही गर्ने कुरा हो ।

कसै कसैले रुसमा लेनिनले भर्खर सामन्तवादबाट सक्रमण हुन लागेको रुसलाई जर्बजस्त समाजवादी क्रान्ति गरेर धकेलेको भन्ने आरोप लगाउने गर्छन् नि ?

त्यो मेकानिकलहरुको कुरा हो । त्यो यान्त्रिक माक्र्सवादीहरुको विश्लेषण हो । अर्थोडक्स माक्र्सवादीहरुको आरोप हो त्यो । वास्तवमा तिनीहरु रुढीवादी हुन् । किनभने तिनीहरुले मेशिनको रुपमा हेर्छन् । केही मान्छेहरुले चीनमा क्रान्ति नै हुँदैन भन्थे । दोस्रो अन्तराष्टियमा त्यस्ता नेताहरु थिए, जसले लेनिनलाई जर्बजस्ती ढंगबाट अक्टोबर क्रान्ति चलायो भन्ने आरोप लगाए । तिनै मान्छेहरुले चीनमा सर्वहारा क्रान्ति नै हुँदैन भनेर भन्थे, तर चीनमा क्रान्ति भएर पनि आजसम्म एकढंगले क्रान्तिलाई अगाडि बढाइरहेका छन् ।

अहिले नेपालमा पुँजीवाद पूर्ण रुपले विकास भएको छैन र क्रान्ति हुँदैन भनेर धेरैले भन्न थालेका पनि छन् । ती मान्छेहरु पुरातनवादी हुन्, पिछडिएका चेतना भएका मान्छे हुन् ।

नेपालको सन्दर्भमा एकीकृत क्रान्तिलाई अक्टोबर क्रान्तिलाई कसरी जोडेर लान सकिन्छ ?

एकीकृत जनक्रान्ति नै यस्तो कार्यदिशा हो अहिलेको समयमा मान्छेका विभिन्न शक्ति सन्तुलन र चेतनालाई एकीकृत गरेर क्रान्तिमा रुपान्तरण गर्ने नीति नै एकीकृत जनक्रान्ति हो । रुसी क्रान्ति र चिनियाँ क्रान्तिको विकसित मोडलको रुपमा एकीकृत जनक्रान्ति आएको छ ।

रुसी क्रान्ति र चिनियाँ क्रान्तिको जगमा खडा भएको र आजको विकसित नयाँ विश्वलाई अध्ययन गरेर विकास गरिएको सम्पूर्ण क्रान्तिकारी विचारहरुको समुच्चय रुप नै एकीकृत जनक्रान्ति हो । यो प्रयोगको क्रममा छ । अहिले केही मान्छेहरुलाई गफजस्तो लागे पनि यसले भविष्यमा विश्व राजनीतिमा समेत नयाँ तरंग ल्याउने निश्चित छ ।

छोटोमा भन्नुपर्दा नेपालमा क्रान्तिको भविष्य कस्तो देख्नुहुन्छ ?

नेपालको क्रान्तिको संभावना हिजो थियो, आज पनि छ र भोलि पनि रहिरहने छ, क्रान्ति सम्पन्न नहुँदासम्म । जनवादी या वैज्ञानिक समाजवादी क्रान्ति नहुँदासम्म ।

 

 

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार