केपी ओली सानैदेखि जुझारु स्वभावका थिए । अन्याय पटक्कै सहँदैनथे । कोही आइलाग्छ भने जाइलाग्न पनि पछि पर्दैनथे । गाउँमा चलेको किसान आन्दोलन, भकारी आन्दोलन, जातीय आन्दोलन, मोहियानी हक आन्दोलनजस्ता आन्दोलनले गाउँका पञ्च, सामन्त, फटाहा आत्तिएका थिए ।

त्यस्ता आन्दोलन रामनाथ दाहालको नेतृत्वमा सञ्चालनमा आएका थिए । केपी रामनाथकै समिपमा घरमा बसेर पढ्ने र रामनाथले चलाएको आन्दोलनमा सक्रिय सहभागी भएकाले उनीविरुद्व पनि सामन्त, फटाहा र पञ्चहरू लागेका थिए । पञ्च–सामन्त, गाउँका चम्चेहरू भेला भई रामनाथ र केपीविरुद्व उत्रिन्थे । केपी ओलीले भेला भएका पञ्चे–चम्चेले रामनाथलाई पुलिस लगाएर थुन्नेसम्म निर्णय गरेको थाहा पाए । उनले पनि एक दिन आफ्ना मान्छेहरूको भेला बोलाए । गाउँमा मोहन राजवंशी भन्ने प्रधानपञ्च थियो ।

उसले पनि भेला बोलाएको थियो । रामनाथ, केपी ओलीविरुद्वको प्रधानपञ्चको भेला नसकिउन्जेल केपी ओलीले आफ्नो टिम लिएर बाटोमा कुरेर बसे । जब प्रधानपञ्च आफ्नो भेला सकेर ठाँटसँग आउँदै थियो, केपी ओलीको टिमले प्रधानपञ्चमाथि मर्ने गरी आक्रमण गरी खोलामा फालिदिए । त्यसपछि केपीको टिम प्रधानपञ्च मर्यो भन्दै घरमा आइपुग्यो । उनीहरूले घरमा आएर प्रधानपञ्चलाई मारेर खोलामा फालिदियौँ भने । अब बित्यास पर्ने भो ।

त्यसै त रामनाथ र केपीमाथि पञ्चलाई रीस थियो, त्यसमा प्रधानपञ्चलाई मारेपछि बसिनसक्नु हुने भयो भन्दै उनीहरूलाई छिटो–छिटो खाना खाएर भाग्न भनियो । तर, केपीले भने खासै खान मन गरेनन् । दही मात्र खाएर भागे ।

त्यस घटनाभन्दा अगाडि प्रधानपञ्चले ओलीलगायतको टिमलाई गालीबेइज्जती गरे भनेर चौकीमा उजुरी दिएका थिए । ओलीको टिमले एक दिन प्रधानपञ्चलाई सार्वजनिक ठाउँमा राम्रैसँग झपार्दै प्रधानपञ्चलाई सबक सिकाए, गाली बेइज्जती भनेको यस्तो हुन्छ । त्यसपछि पुनः प्रधानपञ्चले सार्वजनिक अपराधमा उजुरी हाल्यो । केपीको टिमले फेरि सार्वजनिक ठाउँमै प्रधानपञ्चलाई गाली गर्दै हातपातसमेत गर्दै भने, सार्वजनिक अपराध भनेको यस्तो हो भन्ने सबक सिकाए । अनि प्रधानपञ्चले ज्यान मार्ने उद्योग गरे भनेरै उजुर गर्यो । त्यसपछि केपीको टिमले राम्रैसँग धुलाई गरी ज्यानमार्ने उद्योग यो हो भनेर सबक सिकाउँदा यो घटना घटेको थियो ।

केपी ओलीको टिम त्यहाँबाट भाग्नेबितिकै पुलिसको टोली रामनाथको घरमा आइपुग्यो । ओली स्कुल अध्ययन गर्दै थिए । पुलिसले घरमा आई तिम्रा मान्छे खै, तिनीहरू मान्छे मारेर यहाँ आएका छन् भन्दै खोज्यो । विश्वेश्वरा पनि के लाटी थिइन् र, उनमा पनि राजनीतिक चेतना जागरण भइसकेको थियो । उनले मान्छे मारेका भए यहाँ आउँछन् कि भागेर जान्छन् भन्दै त्यहाँ कोही पनि नआएको बताइन् । प्रहरीहरू यताउति हेर्दै नाजवाफ भएर घरबाट रित्तै फर्किए ।

तर, उनीहरू केपीको टिमलाई खोज्दै बाटो पछ्याउन थाले । तत्कालीन समयमा आउने–जाने बाटो निश्चित थियो । पुलिसले रामनाथको घरबाट केही पर पुगेपछि केपीको टिमलाई फेला पार्यो । प्रधानपञ्च आक्रमण गर्ने टिमका केहीलाई प्रहरीले पक्रियो भने केही भागेर ज्यान बचाए । केपी ओली भने पक्राउ पर्नबाट जोगिए ।

भागेर ज्यान बचाउने साथीहरूले केपी ओली तमोरमा हाम फाले, कतै फेला परेनन् भन्ने समाचार ल्याए । उनी तमोरमा हाम फालेको र मरेको भन्ने हल्ला फैलियो । उक्त हल्ला रामनाथ दाहालले पनि सुने । उनी राति अबेर घरमा आए, खाना खान मन गरेनन् । तुरुन्तै घरमा केपीले तमोरमा हाम फाल्यो रे, म बुझ्दै छु भन्दै घरबाट बाहिर निस्किए । त्यतिबेला सुरक्षित ढङ्गले काम गर्न केही गोप्य सेल्टरहरू पनि बनिसकेका थिए । रामनाथ त्यही सेल्टरमा पुगे । त्यहाँ पुग्दा त केपी ओली निथ्रुक्क भिजेर बसिरहेको देखे ।

त्यही समयदेखि केपी ओली पूर्ण भूमिगत भई पार्टीको काममा खटिएका हुन् । ओलीको टिमले आक्रमण गरी मर्यो भनी फालेको प्रधानपञ्च जिउँदै रहेछ । आक्रमण गर्दा उसले मरेको नाटक गरेको रहेछ । ओली टिमले खोलामा फालेपछि ऊ निस्केर आफैँ प्रहरीकोमा गएर उजुरी गरेको रहेछ । आखिर मर्यो भनेको प्रधानपञ्च जिउँदै रहेछ ।

ओली जति समस्या पर्दा पनि, जस्तोसुकै कठिन परिस्थिति बेहोर्नुपरे पनि सानैबाट कति पनि विचलित नहुने मान्छे हुन् । त्यही भएर रामनाथले उनलाई अत्यन्त प्रचुर सम्भावना भएको व्यक्ति भन्दै आन्दोलनमा ल्याएका थिए । आखिर भयो पनि त्यस्तै । त्यतिबेला पनि धनी कम्युनिस्ट र गरिब कम्युनिस्टबीच पार्टीभित्रै भेदभाव थियो । गरिब पारिवारिक पृष्ठभूमि भएका ओलीले त्यो नमिठो पीडा पनि भोगे । तर, जनमुक्ति आन्दोलनको बाटोबाट कहिल्यै विचलित भएनन् । उनी स्पष्टवादी र कसैसँग कहिल्यै नडराउने स्वभावका थिए ।

उनी स्कुल पढ्दा पनि अत्यन्त तर्कपूर्ण कुरा गर्थे । उनको तर्क र दृष्टान्त प्रस्तुतीकरणबाट शिक्षकसमेत प्रभावित थिए । उनी सङ्गठन गर्ने कलामा पनि सिपालु थिए ।

(हरिहर पोखरेलद्धारा लिखित केपी ‘ओलीको जीवनी : स्वाभिमानका सतीसाल’ काे सानाे अंश)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार