जनयुद्धका शुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो । सैन्य विज्ञानमा पोख्त, जनयुद्धका ईन्जिनियर मानिने बादलले माओवादी सेनाको गठन, तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो। चाहे सेना निर्माणका सम्बन्धमा होस् वा यौन प्रकरणमा उनी सधै चर्चा मै रहे ।

युद्धको विकास सँगसँगै माओवादीमा विप्लव, प्रभाकर, अनन्त आदीको पकड र नेतृत्व विकास हुँदै गएपछि चाहिँ बादल अलि छायाँमा पर्दै गए। माओवादीभित्र पनि कुरा ठूल्ठूला गर्ने तर कार्यान्वयनमा अल्छी देखाउने मस्तराम भनेर उनको आलोचना भैरहन्थ्यो।

माओवादी शान्ति प्रक्रियामा आएपछि रक्षामन्त्री बन्न सफल भए पनि बादलले कुनै करामत देखाउन सकेनन्। साँच्चै भनौभने सेनाले उनलाई स्वीकार्दै स्वीकारेन र उनले पनि सेनाको मन जित्न सकेनन्। त्यतिखेर नेपाली सेनाभित्र उनको नाम “Mr Cloud” को नामले चर्चित थियो।समग्रमा भन्दा बादल आलिअलि गड्गडायो तर पानी पार्न सकेन।भलै सर्वसाधारण र युवाहरुको बीचमा बादलको फिल्मी हिरो जस्तो छवि भएको होस्।

०६४ पछि माओवादीमा किरण पक्ष र प्रचण्ड पक्ष भनी अन्तरसंघर्ष छताछुल्ल भयो। किरण पक्षमा नेतृत्व किरणको भनिए पनि यस्को आन्तरिक पक्ष र संगठनहरुमा विप्लवको योगदान रहेको कुरा छिपेको थिएन। विप्लव विस्तारै वैकल्पिक नेतृत्वको रूपमा विकास भैरहेका थिए भने बादल चाहिँ प्रचण्ड कै नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ भन्दै उनैलाई साथ दिदै रहे।अन्तरसंघर्ष यति निर्मम हुँदै गयो कि,अन्ततोगत्वा माओवादी विभाजित भयाे ।

माओवादी विभाजित हुँदै गर्दा बादल पनि किरण /विप्लवको पक्षमा आए । उनले चितवन पुगेर प्रचण्ड ईण्डियन जासुसी संस्था “र” को एजेन्ट भएको घोषणा गरे । मोहन वैद्य किरणले नेतृत्व गरेको पार्टीले दोस्रो संविधानसभाको निर्चवान बहिष्कार गर्‍यो।सो बेलामा पार्टीभित्र चुनाव उपयोग गर्नुपर्छ भनी पम्फा भुसाल र हितमानहरुले खुबै बहस गरे, वास्तवमा चाहिँ बादलको नै योजना थियो तर बाहिर रत्नपार्क गएर भोटको बाक्सा फोर्ने नाटक गरे बादलले ।

अझ अगाडि बढ्दै ट्रकमा हतियार ल्याएर जनतालाई बाँड्ने र कुनै हालतमा चुनाव हुन नदिने उत्तेजक भाषण अान्तरिक तहमा गरे। व्यवहारमा भने माखो मारेनन् । पार्टी कार्यालयमै एक महिनासम्म डेरा जमाएर मासुभात खाने काम भन्दा अरु केही भएन। त्यतिबेला नै विप्लव भने दाङ, रोल्पातिर जनाताको बीचमा गै चुनाव बहिष्कारको प्रचार गर्दै थिए। यी यावत तथ्यहरुको कारणले पनि वैद्य पार्टीभित्र पनि बादल नेताको रुपमा स्थापित हुन सकेनन्। यता विप्लवलाई सारा पार्टी पंङ्तिले नेता मान्दा बादल चाहिँ भित्रभित्रै जलनमा छट्पटिदै रहे।उतिबेलैदेखि विप्लवसँगै खासै नबोल्ने वा रिस गर्ने गरेको चर्चा हुने गर्दथ्यो। पार्टी निर्माण र संगठनमा खासै योगदान नभए पनि पम्फा भुसाल, देव गुरुङ, हितमान, दिनेश आदीलाई प्रयोग गरेर किरणलाई घेरा हाल्ने र विप्लवलाई एकहदसम्म एक्ल्याउन प्रयास गरे बादलले ।अन्ततोगत्वा उक्त पार्टीभित्र पनि निर्मम संघर्ष शुरु भयो, मोहन वैद्य सम्मानित नेता भएपनि उनले बादलको घेरा तोड्न र विप्लवलाई न्याय गर्न सकेनन् । बादलहरु चितवनको जग्गा बेच्ने काण्डमा मुछिदै गए, त्यस्का विरुद्ध लागेका अनिललाई कारबाहीको फरमान जारी भयो बादलबाट । कर्मचारी लगायत अन्य संगठनहरुलाई भताभुङ्ग पारे बादल र पम्फा भुसालले।

त्यतिबेला विप्लवलाई को को भेटछन् र के कुरा गर्छन् भनी पत्ता लगाउन बादलको निर्देशनमा अनेकौं जासुसहरु सक्रिय थिए पार्टी भित्र। पार्टीभित्र बादल पक्षधरहरुले पेल्दै गए । पार्टी अध्यक्ष किरणको भुमिका महाभारतका धृतराष्ट्र जस्तो हुन पुग्यो। विप्लवले शिवगढी (कपिलवस्तु ) मा छुट्टै भेला राखे । अन्ततोगत्वा सो पार्टी पनि फुट्यो र विप्लवको नेतृत्वमा नयाँ पार्टीको जन्म भयो एकीकृत जनक्रान्तिको कार्यदिशा सहित।

म यहाँ के कुरा स्पष्ट पार्न चाहन्छु भने बादल र विप्लव बीचमा पछिल्लो चरणमा कहिल्यै पनि कमरेडी सम्बन्ध भएन । बादल सधै त्रसित हुन्थ्ये विप्लवसँग। बादल इगोइज्म र हिनताबोधको शिकार भएका थिए,जुन एक प्रकारको मनोरोग हो। विप्लवले नयाँ पार्टी गठन गरेपछि बादल चाहिँ आफ्नो ब्याक्तिगत भविष्यको चिन्ताले ग्रसित भए, जतासुकै अँध्यारो देख्न थाले।फलस्वरूप मोहन वैद्य समेतलाई लात हान्दै प्रचण्डमा विलिन हुन पुगे र पुरस्कार स्वरुप गृहमन्त्रीको जागिर खाइरहेका छन।

यो कुरा स्पष्ट छ- बादल सधै विप्लवलाई सिध्याउन वा निमिट्यान पार्न चाहन्छन्। आजकल यो व्यबहारबाट पनि स्पष्ट भैसकेको छ,नत्र शान्तिपुर्ण कार्यक्रममा यत्तिको दमन के को लागि ? विप्लव आफूसहित मुख्य मुख्य नेताहरू भूमिगत जस्तै भएका छन् । कार्यकर्ताहरु जहितहीबाट गिरफ्तारीमा परिरहेका छन् । यसमा बादलको ठाडो आदेशले काम गरेको छ।

केही समय पहिला एउटा कुरा चर्चामा आयो- विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको सम्पुर्ण सुचना गृह मन्त्रालयले संकलन गर्न गृहमन्त्रीको कडा सर्कुलर जारी भयो । जस्मा पार्टी सदस्यसहित समर्थक समेतको रेकर्ड, सैन्य क्षमताको आकलन,जनबर्गीय संगठनका नेताहरूको रेकर्ड आदि ,ईत्यादि मागिएको छ। यी सब बकवास हुन् । सबै कुराको जानकारी गृहमन्त्रीको जागीर खाइरहेका बादल आफै जान्दछ्न्। उनको गृह मन्त्रालय र खुफिया एजेन्सी भन्दा जानिफकार छन् उनी। मातहतका निकाय बाट आएको सुचनामा उनी आफैले थपघट गर्दा हुन्छ।

अन्त्यमा म यो स्पष्ट गर्न चाहन्छु- विप्लव त समयको कठोर परिक्षामा छन् । उनी सफल /असफलता जे पनि हुन सक्लान्। कतिले उनलाई आशाको दियो मान्लान्, कतिले विध्वंसको झिल्को पनि मान्न सक्छ्न् । तर विप्लवलाई सिध्याउछु भनेर कम्मर कसेका बादलको हार बाहेक अरु बिकल्प छैन ।यो राजनैतिक मुद्दा हो, दमनको बाटो अख्तियार नगर, बादललाई त चेतना हुनै पर्ने हो, बेलैमा चेतना भया !!

लेखक एम डी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार