तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी)ले जनयुद्ध सुरू गर्दा ७ बुँदे प्रतिबद्धता जाहेर गरेकाे थियाे । तत्कालीन पार्टी अध्यक्ष प्रचण्डकाे याेजनामा तयार पारिएकाे साे प्रतिबद्धताले जनयुद्धलार्इ नयाँ उचार्इमा उठायाे । तर कालान्तरमा प्रचण्डले यी प्रतिबद्धताहरूलार्इ रद्धीकाे टाेकरीमा मिल्काएर जनयुद्ध र जनसेनाकाे विघटन नै गर्न पुगे । वास्तवमा जनयुद्धका प्रतिबद्धताहरू के थिए भन्ने बारे पाठकलार्इ जानकारी हाेस् भन्ने हेतुका साथ याे दस्तावेज प्रस्तुत गरिएकाे छ  (सम्पादक) ।

जनयुद्धका यस्ता थिए ७ बुँदे प्रतिबद्धता 

) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजेय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

) जनयुद्धको थालनीको हाम्रो यो योजना “राज्यसत्ताबाहेक अरू सबै भ्रम हो” भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ ।

) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्णरूपले मुक्त रहने छ ।

) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा मार्क्सवाद-लेनिनवाद-माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पुर्याउने उने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।

) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष संचालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवि जनससमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।

) युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैँले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार