विश्वभरिका क्रान्तिकारीहरू, खास गरेर क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा जुटेका विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने निर्णय गरेका थिए । यसै क्रममा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पचासौँ वार्षिकोत्सव, विश्वव्यापी महत्वको भारतीय माओवादी आन्दोलनको बसन्ते गर्जन नक्सलबाडी किसान विद्रोह,  रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकी तथा सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०० औँ जन्मदिवस विशेष कार्यक्रम  उत्साह र जोसका साथ मनाउने निर्णय गरेका थिए ।

२ वर्षअघि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यस विषयमा यस किसिमको निर्णय गरेको थियो :
…………………………………………………………………………………………………………………….
”हामीहरू अबका केही दिनभित्रमै ऐतिहासिक महत्वका विश्व सर्वहाराका वार्षिकोत्सवहरू मनाउन लागिरहेका छौँ । समाजवादी चीनमा आम जनताको अतुलनीय क्रान्तिकारी उभारका साथ चिनियाँ कम्युनिस्ट पार्टी र माओको नेतृत्वमा चलेको  महान् सर्वहारा सांस्कृतिक क्रान्ति ९जिपिसिआर०, ले यो वर्ष ५० औँ वार्षिकोत्सव पूरा गर्दैछ । यसले बुर्जुवा र प्रतिक्रियावादी विविध सांस्कृतिक रूपहरूका विरुद्ध श्रमजीवी जनताको ठूलो हिस्सालाई आन्दोलित पार्दै सांस्कृतिक उपरिसंरचनाको हरेक पक्षलाई  मुलुकको समाजवादी आर्थिक आधारसित मेल गराउने उद्देश्य राख्यो । यसले पार्टीभित्र अड्डा जमाएर बसेका पुँजीवादी बाटोमा लागेकाहरू विरुद्ध निर्मम वर्गसङ्घर्ष चलायो, संशोधनवाद विरोधी यो सङ्घर्ष  महाविवाद कै निरन्तरता थियो, जुन चिनियाँ क्रान्तिको विकासमा नयाँ चरणका रूपमा रेखाङ्कित छ  ।

यसले समाजवादको निर्माणका साथै यसलाई सुदृढ गर्दै साम्यवादको बाटोमा अघि बढ्न थुप्रै सांस्कृतिक क्रान्तिहरूको आवश्यकता पर्छ भन्ने माओका शिक्षाहरूलाई जोडदार रूपमा अघि बढायो । अन्तर्राष्ट्रिय  रूपमा यसले  विभिन्न मुलुकहरूको कम्युनिस्ट आन्दोलनमा  विद्यमान संशोधनवादका विरुद्ध निर्णायक सम्बन्ध विच्छेद, मार्क्सवादी-लेनिनवादी पार्टीहरूको निर्माण र ग्रामीण क्रान्तिकारी सशस्त्र सङ्घर्षको नयाँ ऊर्जाका लागि परिस्थिति र आधारभूमि प्रदान गर्यो  । भारतमा महान् नक्सलवाडी किसान क्रान्तिकारी सशस्त्र आन्दोलन–जसको ५० औँ वार्षिकोत्सव पूरा हुनलाग्दै छ— चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित र उत्प्रेरित थियो ।  नक्सलवाडी, महान् नेता तथा शिक्षकहरूमध्येका एक, कमरेड चारु मजुमदारको नेतृत्वमा, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का अग्रज-संस्थापक, कमरेड सिएम र केसी, ( चारू मजुमदार र कन्हाई चटर्जी), जसलाई मुलुकको जनवादी क्रान्तिको आरम्भकर्ताका रूपमा सम्झना गरिन्छ, भएको एउटा युगान्तकारी  घटना थियो ।

रूसी  समाजवादी क्रान्तिको विजयको शतवार्षिकीको घटना पनि नजिक आउँदैछ । यसले सशस्त्र विद्रोहमार्फत रूसी पुँजीपति र सामन्त वर्गको सत्ता कब्जा गर्यो  र कमरेड लेनिन र स्टालिनको नेतृत्वमा इतिहासमा पहिलोपल्ट मजदुर वर्ग र उत्पीडित जनताको नयाँ सत्ता स्थापना गर्यो  । यसले समाजवाद निर्माणको कामको जिम्मेवारी लियो र समाजवादी व्यवस्ताको जग बसाल्दै साम्यवादी सङ्क्रमणका लागि बाटो तय गर्यो । बोल्सेविक क्रान्ति सर्वहारा वर्गीय मार्क्सवादी सही विचारधारा र सही क्रान्तिकारी सर्वहारा पार्टीबाट नेतृत्व गरिएको थियो । यसले सही रणनीति र कार्यनीति अँगाल्यो र पार्टीभित्र र मुलुकका  दक्षिणपन्थी र ‘वाम’ अवसरवादका विरुद्ध अन्त्यहीन सङ्घर्ष जारी राख्यो । समाजवादी निर्माण अभियानका क्रममा र घरेलु तथा अन्तर्राष्ट्रिय अवसरवाद विरुद्धको सङ्घर्षमा मार्क्सवाद नयाँ र माथिल्लो चरणमा विकसित भयो—लेनिनवाद भनौँ मार्क्सवाद-लेनिनवाद । सर्वहारा विचारधारा,  राजनीति र वैज्ञानिक समाजवादका प्रवर्तक र समग्र रूपमा नयाँ र पूर्णरूपमा वैज्ञानिक सिद्धान्त र विधिका सर्जक महान् क्रान्तिकारी दार्शनिक कार्ल मार्क्सको २०० औँ वार्षिकोत्सव पनि नजिकै आउँदैछ । मार्क्सले मानवजगतका  लागि  नयाँ बाटो देखाउनुभयो, जुनचाहिँ निर्मम वर्गसङ्घर्ष, र बुर्जुवा र निम्न-बुर्जुवा विचारधारा, अर्थशास्त्र, राजनीति र संस्कृतिका साथै मजदुर आन्दोलनभित्रको दक्षिणपन्थी र ‘वामपन्थी’ अवसरवादका विरुद्धको सङ्घर्षबाट विकसित भएको थियो । यसले हजारौँ वर्षदेखि वर्गशोषण र दमनको सिक्रीमा जकडिएको मानवजगतका लागि नयाँ युगको नयाँ बिहानीको शुभारम्भ गर्यो ।

यसले वर्गविहीन समाजका लागि सङ्क्रमण तयार पार्यो —अर्थात् स्वतन्त्रताको संसार–एउटा सच्चा सम्भावना । ज्यालादारी–दासत्व, शोषण, दमन, नियन्त्रण, गरिबी र अपहेलना, असमानता, विध्वंश, सङ्कट र पुँजीवादले आजको विश्वमा लादेको युद्धबाट मुक्त हुने एक मात्र विकल्प भनेको समाजवाद र साम्यवाद नै हो भन्ने अकाट्य सत्यलाई पुनर्पुष्टिका लागि यी वार्षिकीहरू महत्वपूर्ण अवसरहरू हुन् । यी एकपल्ट फेरि पुँजीवाद विरुद्धको लडाइँमा यसको चिहान खन्नेहरू, पुरानो पतनशील सामाजिक सम्बन्धलाई चिहानमा गाड्नेछन् र तिनीहरूको ठाउँमा समाजवादको निर्माणलाई अगाडि बढाउँदै वर्गविहीन समाजको नयाँ सामाजिक सम्बनध स्थापित गर्नेछन्, यसरी उनीहरूले मानवजगतको  पहिलेको इतिहासलाई अन्त्य गर्नेछन्, जसबाट मानवजगतको नयाँ इतिहास आरम्भ गर्न सकियोस् भनी घोषणा गर्ने उत्सवहरू हुन्,  । तिनीहरू जो पुँजीवादलाई स्थायी र साम्यवादलाई मिति नाघेको भनिरहेका छन्, मानवजगतले  धेरजसो आफ्नो  विगत वर्गहीन अवस्थामा बिताएको थियो, अहिलेको समाज त्यही वर्गविहीन समाजबाटै विकसित भएको हो,  एकपल्ट फेरि यो इतिहासमा सबैभन्दा क्रान्तिकारी वर्गको नेतृत्वमा —सबैभन्दा नयाँ, पछिल्लो, र त्यो भन्दा उच्च तहमा सफलताका साथ त्यसै वर्गविहीन दिशातर्फ गतिशील छ भन्ने कुरा बिर्सन मात्र खोज्छन् ।

सोभियत र चिनियाँ समाजवादी समाजमा आएको पश्चगमनलाई लिएर टिप्पणी गर्नेहरू, बुर्जुवाहरूले पनि सामन्त वर्गहरू विरुद्धको  सङ्घर्षमा विजय प्राप्त गरेर सत्ता हातमा लिनुअघि शताब्दीयौँदेखि भएका सङ्घर्षहरूमा थुप्रै हारहरूको सामना गर्नुपरेको थियो भन्ने कुरा सहजै बिर्सन्छन् । पेरिस कम्युनदेखि, सर्वहाराले हरेक हारबाट पाठ सिकेको छ । गल्तीबाट शिक्षा लिँदै र हारबाट पाठ सिक्दै  सर्वहारा  र उसको पार्टी, पहिले एउटा मुलुकमा र त्यसपछि अरू थुप्रै मुलुकहरूमा समाजवाद स्थापना गर्न र अन्त्यमा पुँजीवाद, साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादलाई परास्त गर्दै विश्वव्यापी स्तरमा समाजवादको  निर्माण गर्न, उत्पीडित सबै सामाजिक वर्गहरू र सामाजिक समुदायको अगुवाका रूपमा बुर्जुवाहरूको विरुद्ध  अन्त्यहीन, दृढ, र धैर्यपूर्वक, आफ्नो सङ्घर्षलाई तीव्र बनाउँने छ । तब, सबै आवश्यक सर्तहरू पूरा भएपछि, अन्त्यमा समाज “हरेक ऊ र उनीलाई क्षमता अनुसार, हरेक ऊ र उनीलाई आवश्यकता अनुसार” को नारालाई सार्थक बनाउन  हामी सक्षम हुनेछौँ । त्यसैले यी वार्षिकोत्सव मनाइरहँदा एकपल्ट फेरि हामी घोषणा गरौँ— मार्क्सवाद/मालेमाको कुनै विकल्प छैन ! सर्वहारा पार्टी र नेतृत्वको कुनै विकल्प छैन ! क्रान्तिको कुनै विकल्प छैन र समाजवाद र साम्यवादको कुनै विकल्प छैन !

यी वार्षिकोत्सवमध्ये—चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सव, बोल्सेविक क्रान्तिको शतवार्षिकी र कार्ल मार्क्सको २०० औँ जन्मदिवस विश्वका सबै देशका सर्वहाराहरूले भव्यताका साथ मनाउन लागिरहेका छन् । हाम्रो पार्टी, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) अन्तर्राष्ट्रिय सर्वहाराको प्रतिबद्ध अग्रगामी दस्ता हो । यो मार्क्सवाद-लेनिनवाद-माओवाद (मालेमा) को वैज्ञानिक विचारधाराबाट निर्देशित छ र यो विचारधारालाई ठोस क्रान्तिकारी व्यवहारमा लागू गरिरहेको छ । चाहे दक्षिणपन्थी अवसरवादीहरू हुन् चाहे ‘वाम’ फूटपरस्तहरू हुन्, यो दृढताका साथ निरन्तर रूपमा सबै थरी संशोधनवादीहरूका विरुद्ध लडिरहन्छ । यो विश्व समाजवादी आन्दोलनको अभिन्न अङ्गका रूपमा रहेको भारतीय नयाँ जनवादी क्रान्ति (एनडिआर) लाई सफलतापूर्वक सम्पन्न गर्न चौतर्फी रूपमा अघि बढिरहेको दीर्घकालीन जनयुद्धमा संलग्न छ ।

भाकपा (माओवादी)  यी महत्वपूर्ण  वार्षिकोत्सवहरू मनाइरहेका अन्तर्राष्ट्रिय सर्वहाराहरूसित सहभागी हुन्छ । विश्वका सच्चा माओवादी पार्टी र सङ्गठनहरू र व्यक्तिहरू, जो आफ्नो मुलुकमा नयाँ जनवादी क्रान्ति अगाडि बढाउन मालेमाको विकास, रक्षा र आत्मसातीकरणका साथ लागू गरिरहेका छन्  तिनका साथ यी तीन महान् सर्वहारा क्रान्तिकारी समारोह मनाउनु हाम्रो गहन दायित्व हो । यी समारोहहरू मनाउनु भनेको विगतका विजयी सर्वहारा क्रान्तिको स्पिरिटलाई आत्मसात गर्नु, अन्तर्राष्ट्रिय सर्वहाराका सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिनु, हाम्रा हारहरूबाट पाठ सिक्नु र यसबाट शक्ति आर्जन गर्दै, हाम्रो देशको नयाँ सामाजिक तथा क्रान्तिकारी स्थितिमा  साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादका विरुद्ध लडेर मुलकमा नयाँ जनवादी क्रान्तिलाई सफलतातर्फ साहशसपूर्वक अगाडि बढाउनु हो ।

त्यसैले यी ऐतिहासिक अवसरहरू हाम्रो पार्टीले हाम्रो उपस्थिति भएको हरेक ठाउँमा हाम्रो समग्र शक्ति र सामर्थ्यका साथ मनाउनु पर्छ । सबै पार्टी एकाइहरूले यसको तयारीका लागि सबै खाले अधिकतम प्रयास गर्नुपर्छ र आम जनताका पीरमार्काका मुद्दाहरूलाई अधिकतम सम्बोधन गरेर उत्साहपूर्ण सहभागिताका साथ यसलाई मनाउनु पर्छ । हामी मे १६ देखि मे २२ सम्म चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको  वार्षिकोत्सव मनाउन आह्वान गछौँ, नक्सलवाडी आन्दोलनको ५० औँ वर्षगाँठ हामी मे २३ देखि २९, २०१७ र बोल्सेविक क्रान्तिको शतवार्षिकी ७ देखि १३ नोभेम्बर २०१७, र कार्ल मार्क्सको २०० औँ जन्म दिवस मे ५ देखि ११, २०१८ सम्म्म मनाउन आह्वान गर्छौ । कुनै कारणवस माथि उल्लेखित अवसरहरू निर्धारित समयमा मनाउन सकिएन भने त्यसै वर्षको अरू कुनै समयमा आयोजना गर्न सकिनेछ – विशेष परिस्थितिका कारण चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठको आह्वान ढिलो हुनगएकोमा केन्द्रीय समिति क्षमाप्रार्थी छ । त्यसैले यसलाई आमजनतालाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व बोध गराउँदै मे २०१६ र मे २०१७ बीचको कुनै पनि समयमा मनाउनु पर्छ । यी अवसरहरूलाई अभियानकै रूपमा वार्षिकोत्सव हप्ताका रूपमा मनाउनुपर्छ ।”

……………………………………………………………………………………………………………………..

यसक्रममा विभिन्न मुलुका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू र  क्रान्तिकारी सङ्संस्थाहरूले आआफ्नो मुलुकको विशिष्टतामा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पचासौँ वार्षिकोत्सव, नक्सलबाडी किसान विद्रोहको पचास वर्ष र  रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकी विशेष कार्यक्रमका साथ सम्पन्न गरे भने सन् २०१८ महान् गुरु मार्क्सको विशेष सम्झनाको वर्ष बनेको छ ।कम्युनिस्ट घोषणापत्र नै फ्यालिदिएकाहरू, पेरिस कम्युनदेखि वर्तमानसम्मको क्रान्तिकारी वर्गसङ्घर्षको उपादेयता सकिएको भनेर घोषणा गर्नेहरूका लागि यी सबै सन्दर्भहरू अर्थहीन भए पनि मार्क्सको दार्शनिक, वैचारिक राजनीतिक महत्व आज झन बढेको छ र आज पनि कम्युनिस्ट  घोषणापत्रको उत्तिकै महत्व र सान्दर्भिकता रहेको छ र पेरिस कम्युनका शिक्षाहरू अमर रहेका छन् भनेर आत्मसात गर्नेहरूका लागि मार्क्सको २०० औँ जन्मोत्सवले अहम् महत्व राख्दछ । सारमा मार्क्सको २०० औँ जन्मोत्सव मनाउनु भनेको सर्वहारा वर्गीय दर्शन  विचारधारा, अर्थशास्त्र र संस्कृतिका साथै वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वप्रतिको वैचारिक तथा व्यावहारिक प्रतिबद्धता जनाउनु हो ।
कम्युनिस्ट मेनिफेस्टोको अन्त्यमा भनिएको छ :

“कम्युनिस्टहरू आफ्नो विचार लुकाउँदैनन् । सारा विद्यमान समाज व्यवस्थालाई वलपूर्वक समाप्त पारेर मात्र उनीहरूको लक्ष प्रापत गर्न सकिनेछ भनेर उनीहरू खुलमखुला घोषणा गर्छन् । शासक वर्गहरूलाई कम्युनिस्ट क्रान्तिको डरले थर्कमान हुन दिऔँ । सर्वहाराहरूसित  आफ्नो सिक्रीबाहेक गुम्ने भन्ने कुरो केही पनि छैन, जित्नका लागि उनीहरूका सामु सारा संसार  छ ।” 

नेपाली समाज नेपाली उत्पीडित वर्गको लामो र गौरवशाली वर्ग सङ्घर्षको इतिहास बोकेको समाज हो  र नेतृत्व तहमा रहेका कतिपले गद्दारीको बाटो समाते पनि नेपाली उत्पीडित वर्गले साम्राज्यवादी-विस्तारवादी शक्तिहरू र तिनका दलालहरूका साथै सबै किसिमका अवसरवादीहरूका विरुद्ध क्रान्तिकारीहरूको नेतृत्वमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ  ।  मे दिवस २०१८ को सेरोफेरोमा मार्क्सको २०० औँ जन्मदिवश परेकाले यसको महत्त्व झन् बढेको छ ।

नेपालको सन्दर्भमा यो वर्षलाई प्रतिक्रियावाद र  संशोधनवाद विरुद्ध र क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणको वर्षका रूपमा मनाउनु आवश्यक छ र यही सन्देश अन्तर्राष्ट्रिय स्तरमा पनि प्रवाहित गर्नु सही र आवश्यक हुन्छ ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार