विश्वले चीनलाई अरूका कुरामा वास्ता नगरिकन सुमुसुमु आफ्नोमात्र विकास गरिरहने राष्ट्रको रूपमा चिन्दै आएको थियो । विभिन्न देशमा आन्तरिक र बाह्य द्वन्द्व मच्चिँदा चीन सधैँ अलग्ग बसेर नियाल्थ्यो र प्रतिक्रियाविहीन बनेर आफ्नो विकासमा केन्द्रित हुन्थ्यो ।

यही चिनियाँ नीतिको परिणाम अमेरिका तथा युरोपभर आर्थिक मन्दी छाउँदा पनि चीन आर्थिक विकासमा निरन्तर उकालो लागिरह्यो । एकाइसौँ शताब्दीको डेढ दशक नाघेपछि भने चिनियाँ नीति फेरिन थालेको छ । राजनीतिक विचारलाई बेवास्ता गर्दै आफ्नो उत्पादनमात्र निर्यात गर्ने चीन अहिले विश्वमा आफ्नो विचार फैलाउने ध्याउन्नमा लागेको केही संकेत मिलेका छन् । चिनियाँ नीति र विचारलाई विश्वसामु फैलाउने कार्य सक्रिय हुनथालेपछि सुतेको ड्रागन नभएर चीन विश्वको कुना–कुना उडेर पुग्ने फिनिक्स हुनथालेको छ ।
गत अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १९ औँ महाधिवेशनले सी चिन फिङलाई पुन पाँच वर्षका लागि महासचिवमा चयन गर्दै सी विचारधारालाई पार्टीको विधानमा राखेपछि विश्व बजारमा चिनियाँ नीति छर्ने कूटनीति चीनले अँगालेको हो । फलस्वरूप चीनले पहिलोपटक सीपीसी र विश्व राजनीतिक दलहरू बीचको वार्ता सम्मेलन आयोजना गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ३ (मंसिर १४ देखि १७) सम्म बेइजिङमा आयोजना भएको सम्मेलनमा १ सय २० देशका ३ सय राजनीतिक दलका ६ सय नेता सहभागी थिए । यस प्रकारको सम्मेलन चीनले पहिलोपटक आयोजना गरेको हो । सीपीसीको १९ औँ महाधिवेशनका उपलब्धिलाई विश्वभर जानकारी दिने भनिए पनि पछिल्लो समय चीनले अंगिकार गरेको सी विचारधाराको प्रभाव विश्वमा फैलाउने र त्यही अनुसार सहकार्य गर्ने उद्देश्य ओपन सेक्रेटका रूपमा बाहिर आइसकेको छ ।
सीपीसीका महाधिवेशनमा कुनै पनि विदेशी अतिथिलाई सहभागी गराइँदैन । पार्टीभित्र रूसले गरेको हस्तक्षेपका कारण सीपीसीले आफ्नो अधिवेशनमा कुनै पनि देशका अतिथिलाई आमन्त्रण गर्न छोडेको हो । महाधिवेशन सम्पन्न भएपछि यसका उपलब्धिलाई संसारका राजनीतिक दलहरू बीचमा बहस गराउने कार्य पनि पहिलोपटक आयोजना गरिएको हो । यस अगाडिका १८ वटा महाधिवेशनसम्म यसको आवश्यकता कहिल्यै महसुस गरिएन । त्यस सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिन फिङले आगामी पाँच वर्षमा विभिन्न राष्ट्रका राजनीतिक पार्टीका १५ हजार व्यक्तिलाई चीनमा बोलाएर वैचारिक प्रशिक्षण दिने घोषणा गरे । बेइजिङमा चलेको चारदिने सीपीसी र विश्व राजनीतिक दलहरू बीचको वार्ता सम्मेलनको मुख्य विषय ‘मानव भाग्य समुदाय तथा सुन्दर विश्वको निर्माणमा राजनीतिक दलहरूको भूमिका’ रहेको थियो । यसको घुमाउरो अर्थ मानिसको भाग्य समुदाय र सुन्दर विश्व बनाउनमा सीपीसीले नेतृत्व गर्दैछ भन्ने हो । सीपीसीको १९ औँ महाधिवेशनमा पेस भएको प्रतिवेदनमा पनि सी चिन फिङले धेरै ठाउँमा ‘मानव भाग्य समुदाय’ भन्ने पदावली प्रयोग गरेका थिए ।
चिनियाँ नेता सीले विश्वका राजनीतिक पार्टीका नेताहरू सम्मिलित त्यस सम्मेलनलाई सम्बोधन गर्दै सीपीसीले पहिलेदेखि नै विश्व शान्ति, साझा विकास, सभ्यताको आदान–प्रदान र आपसी सिकाइका लागि योगदान गर्दै आएको कुरामा जोड दिए । समान विचार भएका विश्वका पार्टी–पार्टीबीच आपसी सम्मान र एक–अर्काबाट सिक्न सक्ने नयाँ मोडलको सम्बन्ध स्थापनाका लागि पनि उनले प्रस्ताव गरेका छन् । समान विचार भएका विश्वका पार्टी बीचको आपसी सम्मान पदावलीले के कुरालाई संकेत गर्छ भने अब विश्वको राजनीतिमा चिनियाँ प्रभाव विस्तार हुनेछ । जुन देशको राजनीतिक पार्टीले सी विचारलाई अँगाल्छ अथवा अनुशरण गर्छ, त्यो देश र पार्टीसँग चीनले तुरुन्तै सहकार्य गर्छ । यस अगाडि चीनको नीति सहयोग र सहकार्यका लागि कुनै पनि राजनीतिक विचारलाई महत्त्व दिइँदैनथ्यो । उत्पादन निर्यातमा केन्द्रित चीन अब विचार निर्यातमा अगाडि बढेको छ । चिनियाँ आर्थिक प्रभावसँगै सबैभन्दा बढी राजनीतिक प्रभाव अफ्रिकी मुलुकमा चाँडै देखिने सम्भावना छ । सम्मेलनमा सहभागी अफ्रिकी नेताहरूले मुक्तकण्ठले सी विचारको प्रशंसा गर्दै आफूहरूले त्यसको अनुशरण गरी अफ्रिकाको विकासमा सहकार्य गर्न चीनलाई आह्वान गरेका छन् ।
सीपीसीले चिनियाँ जनताको सुखका लागि काम गरेको र मानवीय प्रगतिका लागि प्रयास गर्ने पार्टी भएकाले विभिन्न पार्टीहरूसँग शासन प्रणालीको अनुभव बाँडचुँड गर्नका साथै आपसी रणनीतिक विश्वास बढाउने र अझै सुन्दर विश्व निर्माण गर्ने इच्छा लिएको सम्मेलनमा सीले दोहोर्‍याएका थिए । सम्मेलनलाई सम्बोधन गर्दै सीले भने विश्वका जनताले ‘एउटै विश्व एउटै परिवार’को धारणा राखेर मानव भाग्य समुदाय निर्माणका लागि प्रयास गर्नुपर्ने बताएका थिए । उनले वर्तमान विश्वको ढाँचा परिवर्तित हुनुका साथै विकासको ढाँचा पनि परिवर्तन हुँदै आएको बताए । सीले भनेका छन्, ‘मानव भाग्य समुदायका लागि शक्ति संकलन गर्न विभिन्न देशका पार्टीले आपसी विश्वास, वैचारिक आदान–प्रदान र सहयोगलाई सबल पारी नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा मतभेद थाती राखेर साझा धरातलको खोजी, आपसी सम्मान र सिकाइको नयाँ पार्टी सम्बन्ध निर्माण गर्नुका साथै बहुतरिका र बहुतहको अन्तर्राष्ट्रिय पार्टीगत आदान–प्रदान तथा सहयोग सञ्जाल निर्माण गर्नुपर्छ ।’ विश्वको आधाभन्दा बढी भूभागमा आर्थिक प्रभुत्व विस्तार गरेको चीनले विस्तारै आफ्ना उत्पादनसँगै विचार पनि निर्यात गर्ने लक्षण देखाएको छ ।
सत्तामा आउनासाथ सी चिन फिङले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले विश्वमा राम्रो प्रभाव विस्तारसँगै चीनले सफ्ट पावरमै सी चिन फिङका विचारलाई थप्ने भएको छ । किनभने यतिबेला सीका विचार नै चिनियाँ विचारमा स्थापित भएका छन् ।
चिनियाँ आर्थिक र वैचारिक प्रभाव विस्तारमा चुनौतीका रूपमा देखापरेको एकमात्र राष्ट्र अमेरिका हो । अमेरिकाले चीनलाई घेर्नका लागि जापान, दक्षिण कोरिया, फिलिपिन्स, भारत लगायतका चीन वरिपरिका मुलुकलाई प्रयोग गर्दै आएको छ । यही मेसोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया प्यासिफिकको साटो इन्डो प्यासिफिक पदावली प्रयोग गर्न थालेपछि त्यही सिको गर्दै भारतीय अखबारहरूले पनि इन्डो प्यासिफिक लेख्न थालेका छन् । तर चीन भने सानातिना शब्दावलीमा नअल्झेर आफूले सिकेको र अंगिकार गरेको विचार विश्वमा छर्न अग्रसर भएको छ ।
बेइजिङमा आयोजित त्यस सम्मेलनमा अमेरिकी रिपब्लिक पार्टीको राष्ट्रिय समितिका कोषाध्यक्ष एन्थोनी पार्करले फरक सामाजिक अवस्थाको प्रतिनिधित्व गरेका अमेरिका र चीनबीच फरक मूल्य र विचार भए पनि साझा अपेक्षा रहेको बताउँदै शान्ति, सहयोग र समृद्धि भएको अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्न र आपसी सहयोग प्रबद्र्धन गर्न अपरिहार्य रहेको विचार व्यक्त गरे । सम्मेलनकै क्रममा ‘नयाँ युगको चिनियाँ कम्युनिष्ट पार्टी र विश्व’ मुख्य विषयमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनको भावना सम्बन्धी विशाल गोष्ठी पनि आयोजना गरियो । गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ थाउले चीनको उपलब्धि भनेकै सीपीसीको उपलब्धि भएको भन्दै विश्वमा सबैभन्दा धेरै जनसंख्यालाई खुसी पार्न सक्ने पार्टीका रूपमा सीपीसी रहेको उल्लेख गरे । उनले सीपीसीले विभिन्न
मुलुकका विभिन्न पार्टीसँग आदान–प्रदान र सहयोग गरेर विश्वमा मानव भाग्य र सुन्दर संसारको निर्माणमा ठूलो योगदान दिन सक्ने औँल्याए ।
सम्मेलनलाई विश्वका विभिन्न पार्टीहरूले चीनसँगको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने राम्रो अवसरका रूपमा प्रयोग गरे । त्यही समयमा नेपालमा संघीय संसद् र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन परेकाले नेपालको उपस्थितिचाहिँ अत्यन्त फितलो हुनपुग्यो । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, एमालेको तर्फबाट डा. युवराज खतिवडा र माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौँलागाईंको सहभागिताले झारो टार्ने काममात्र भयो । विभिन्न देशका नेताले सम्मेलनको मूल सत्रलाई सम्बोधन गरेका थिए र उनीहरूलाई चिनियाँ राष्ट्रपति सी चिन फिङ लगायत उच्चस्तरीय नेताहरूले व्यक्तिगत रूपमा भेटघाट गरेका थिए ।
नेपालका सहभागीहरूले भने साइड लाइन छलफलमा मात्र आफ्नो कुरा राख्ने अवसर पाए । चीनले नेपाललाई घनिष्ट छिमेकी मुलुक र बीआरआईमा सहभागी भइसकेको सदस्यका रूपमा प्राथमिकतामा राखेको भए पनि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमै नेपालको उपस्थिति अत्यन्त कमजोर रहन गयो ।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत आचार्य कान्तिपुरमा नियमित लेख्ने गर्छन् ।
chetnath@ymail.com

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार