पाँच दिनको बीच प्रहरीले म र मेरा सहकर्मी मित्र रमाकान्त बास्तोलालाई दोस्रो पटक पक्राउ ग¥यो । मेरा आम शुभचिन्तक, इष्टमित्र र नेपाल पत्रकार महासंघ कास्कीको दबाब अनि शुभेच्क्षाकाकारण हामी फेरि झण्डै २० घण्टाको प्रहरी हिरासतको बसाईंपछि रिहा भएका छौं । यसका लागि हामी सबैलाई आत्मैदेखि धन्यवाद र कृतघ्नता प्रकट गर्दछौं ।

नेकपाकी नेतृ उमा भुजेलसँग सम्पर्क भएको र साथमा नै रहेको भन्दै हामीलाई पक्राउ गरेर छाडेको पाँच दिनपछि हिजो शुक्रबार साँझ करीब साढे पाँच बजे फेरि पोखराको महेन्द्रपुलबाट हामी पक्राउ प¥यौं । घर जानुभन्दा अघि हामी सधैं खाजा खाने महेन्द्रपुलको क्याफेमा खाजा खाईरहेका थियौं । एकजाना अधबैंसे दाजु आउनुभयो, “सर, नमस्ते” भन्नुभयो । मैले पनि नमस्ते गर्दै “बस्नुस्” भनें र आफू एउटा कम्युनिष्ट कार्यकर्ता भएको नाताले हात मिलाएँ ।

मैले हात मिलाउँदै गरेको अवस्थामा अर्का एकजनाले मोवाइलले हाम्रो फोटो खिचे । फोटो खिच्नेलाई मैले सोधें, “किन फोटो खिचेको ?” उसले अगाडि आयो र आफ्नो परिचय दिंदै भन्यो,“म सुरज, जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको स तपाईंलाई एसपी साबले बोलाएर ल्याउनु भन्नु भाछ । त्यही भएर आएको” । मैले फेरि प्रतिप्रश्न गरें, सुरज के ?” उसले जवाफ दियो, अहिले त्यति नै बुझ्नुस् न ।”

अनि मैले मसँग हात मिलाउने अधवैंशेलाई सोधें, “तपाईं पनि प्रहरी हो ?” उनले जवाफ दिए, “हैन । म मोहन गुरुङ”, –– – तपाईको घर कहाँ हो ।

– मेरो घर मजुवाबस्ती हो ।
– मलाई चिन्नुहुन्छ ?
– चिन्दिन ।
– अनि के हो यो ?
– मलाई त वहाँले जे जे गर भन्यो त्यही गरें ।

सादा पोशाकमा आएका अन्य प्रहरीले मलाई “जाम जाम दाई हामीसित” भनेर अलिक जोड गर्न खोजे । म मेरो आफन्तलाई खबर गर्छु भनेर फोन गर्न लागेको त मोवाइल खोस्न खोजे । मैले दिइन र मेरो फेसबुक वालमा “आज पनि हामी पोखराको महेन्द्रपुलमा प्रहरीको नियन्त्रणमा प¥यौं । गिरफ्तारीमा परिएको त होला नि” भनेर मेसेज पोष्ट गरें । सादा पोशाकमा रहेका प्रहरी भाईले “गिरफ्तारी भनेर नलेखिदिनु भए हुन्थ्यो” भन्दै थिए । त्यसपछि हामी प्रहरीले प्रयोग गरेको भाडाको जीपमा बस्यौं । जीपमा बस्न नपाउँदै सादा पोशाकका प्रहरीले मेरो मोवाइल खोसे ।

हामी जिल्ला प्रहरी कार्यालय कास्कीमा पुग्यौं । त्यहाँ पुगेपछि मैले “हामीलाई किन पक्राउ गरियो” भनेर प्रश्न गरिरहें । तर कसैले चित्त बुझ्दो जवाफ दिएन । सबै कारण बताउन सकिरहेका थिएनन् । करीब एक घण्टापछि मैले आफू पक्राउ पर्नकोकारण यी यी त हैनन् भनेर स्पष्ट प्रश्न राखें । मैले त्यति बेला राखेका प्रश्नहरु यस्ता थिए ।

शुरुमा मलाई नगरबसका स्टाफहरुलाई उचाल्यो भनेर पक्राउ गर्न खोजियो ? राज्यको यति ठूलो संयन्त्र परिचालित छ । प्रमाणित गर्नुु् र मलाई गोली ठोक्नुस् ।

तपाईंहरुले मलाई नेकपाकी नेतृ उमा भुजेलसँग सम्पर्क र सम्बन्ध रहेको आरोप लगाएर समात्नुभयो । म उमा भुजेललाई राम्रोसँग चिन्दा पनि चिन्दिन । मेरो देखभेट त के फोन सम्पर्क भएको प्रमाणित गर्नुस् । मेरो र उमा भुजेलको एकसयदेखि डेढसय मीटर वरिपरि आमनेसामने भएको समेत प्रमाणित गर्नुस् फेरि पनि गोली ठोक्न सक्नुहुन्छ ।

मैले लेखेका समाचारहरु गलत छन् भने प्रमाणित गर्नुस् । कानूनी कारवाही भोग्न तयार छु । महिलालाई अभद्र व्यवहार गरेको आरोप लगाएर पामे प्रहरी चौकीमा रहेका दुई प्रहरीलाई निलम्वन गरियो र ती प्रहरीहरुलाई कास्कीका प्रहरी प्रमुख अशोकसिंहले निर्घात कुटपिट गरे र उपचार गर्न एक–एक हजार उपचारखर्च दिए । कानून पालना गराउने मानिसले कानून उल्लंघन गर्न पाइन्छ ? भनेर समाचार लेखें । के यो समाचार गलत थियो ?

कास्कीको प्ुम्दीभुम्दीबाट तिहारको मुखमा घरानिया र उच्च पदस्थ व्यक्तिहरु जुवाखालबाट पक्राउमा परे । तिनलाई तिहार मान्ने बिदा दिइयो । तिहारपछि प्रहरी कार्यालय बोलाएर मुद्दा चलाइएका जुवाडेहरुलाई उपचारको नाममा अस्पतालमा राखेर सुखसुविधा दिइयो । के यो सुविधा दिइनु जायज थियो ? भनेर समाचार लेखें । मैले के पनि प्रश्न गरें कि के यो सुविधा सबैलाई दिइएको छ ?

मैले यति कुरा राखेपछि मात्र त्यहाँ उपस्थित रहेका प्रहरीका जुनियर अधिकृत मध्येका एकले, “तपाईंलाई बाहिर राख्दा चुनावलाई वाधा पर्ने देखेर पक्राउ गरिएको हो” भनेर बताए । त्यसपछि मैले माग राखें कि “मलाई पक्राउ पुर्जी दिनुस् ।” फेरि पक्राउ पुर्जी दिन आनाकानी भयो । साथमै रहनुभएका बास्तोला र मैले पक्राउ पुर्जी नपाएसम्म कहीं नजाने अडान राख्यौं । “आज पक्राउ पुर्जी दिनुभएन भने भोलि तपाईंले हामीलाई हतियार सहित पक्राउ गरिएको भन्नुहुनेछ । साथमा विष्फोटक पदार्थ समेत थियो, भन्नुहोला । त्यही भएर कुनै पनि बेला पक्राउ पुर्जी जसै चाहियो ।” भनेर हामी अडिग रह्यौं । त्यसको करीब आधा घण्टापछि बल्ल मलाई केही सार्वजनिक अपराध सम्बन्धि मुद्दामा पक्राउ गरिएको भनेर पक्राउपुर्जी दिइयो । मैले फेरि प्रश्न गरें, “के मैले नांगै बसेर शान्तिसुरक्षा खलल पु¥याएको हो ? कि मैले कसैलाई कुटपिट गरें ?” ती जुनियर अधिकृतले भने, चुनावविरोधी गतिविधि गर्नुभएको हो ।” मैले फेरि प्रश्न गरें, मैले चुनावविरोधी कुन कुन गतिविधि गरें । कि मेरो समाचार लेखाईले चुनावविरोधी काम भयो ?” उनले जवाफ दिए, “हामीलाई चुनावविरोधी गतिविधि भएको शंका लाग्यो ।” मेरो माग रह्यो, “त्यसो भए मेरो पक्राउ पुर्जीमा त्यही लेखिदिनुस् ।” उनको जिकिर थियो, “मुदद नचलेसम्म त्यस्तो लेख्न मिल्दैन ।” मैले त्यो उल्लेख नगरेसम्म पक्राउ पुर्जी नबुझ्ने बताएपछि बल्ल ती अधिकारीले “निर्वाचन विरोधी” भनेर मेरो पक्राउ पुर्जीमा थपिदिनुभयो । त्यसपछि “मलाई रामबजार प्रहरी चौकी र रमाकान्तजीलाई बगरचौकीमा जानुस्” भन्नुभयो । मलाई त पक्राउ पुर्जी दिइयो, रमाकान्तजीलाई पनि दिनुस् न भनें । “हामी दिन्छौं” भनेपछि प्रहरीको भ्यानमा बसेर रामबजार चौकी गएँ । मेरो मनमा त्यतिबेला विभिन्न प्रश्नहरुको आँधी चलेको थियो भने आफू बेकारमा प्रहरी हिरासतमा बस्नु परेकोमा मनमा आक्रोशको ज्वारभाटा उत्पन्न भएको थियो ।

रामबजार चौकीमा पुगेर प्रहरी हिरासतमा प्रवेश गरेको त राम्रो जानपहिचान भएका नेता परिवर्तनजी त्यहीं हुनहुँदोरहेछ । मलाई केही ढाडस मिले जस्तो भयो । त्यहाँ पुगेपछि अरु साथीहरुलाई परिवर्तनजीले चिनाउनुभयो । त्यहाँ २–३ वर्षदेखि राजनीतिक रुपमा निष्कृय कंसपुरका ५७ वर्षीय बुबा चित्रबहादुर घर्ती, नेपाली काँग्रेसका कार्यकर्ता रोमबहादुर गुरुङ, ठेकेदार खड्कबहादुर राई, दीपक या के नाम हो भएका कार्यकर्ता हुनुहुँदो रहेछ । मैले साथीहरुको साथमा रहेको खाजा खाएँ । सामान्य चिनजान र भलाकुसारी पछि हामी सुत्यौं । मच्छेड धुपको गन्धले मेरो टाउको फुट्ला जस्तो भयो । यसभन्दा अघि कहिल्यै बन्द कोठमा बस्न नपरेको मलाई असजिलो महशुश हुनु स्वाभाविकै हो । साथीहरुको बिस्तारामा जसोतसो झपक्क निदाएको थिएँ । १२ बजेतिर एकजना प्रहरीले ओम हमाल को हो भन्नुभयो । निद्रामा नै भएपनि मैले ज¥याकजुरुक उठेर म हो भनें । मेडिकल गर्न जान प¥यो बाहिर आइज भन्यो, त्यस प्रहरीले । पहिलोपटक मैले त्यसलाई सहजै लिएँ । मैले पिसाब फेर्न ट्वाइलेट गएर फर्की जुत्ता लगाउँदै थिए, त्यस पुलिसले मलाई, “छिटो गर । कहाँ हराइस्” भन्दै कर्कसपूर्ण बोली बोल्यो । मलाई झनक्क रिस उठ्यो, “राम्रोसँग बोल्न आउँदैन । के बोलेको त्यस्तो । राम्रोसँग बोल्न सिक्नुस् ।” मेरो जवाफले भने ती पुलिस भाईलाई झसंग पारेछ कि क्याहो । प्रतिक्रिया आएन ।

म बाहिर निस्किएँ । गेटबाट निस्कँदा बित्तिकै हत्कडी लगाउन खोजियो । मैले “हत्कडी लगाउनै पर्छ र” भनेर प्रश्न गरें । “यो नियमै हो लगाउनुपर्छ ।” भन्ने जवाफ पाएँ । मलाई हत्कडी लगाईरहँदा भने मलाई मेरो दुई दशक लामो पत्रकारिता जीवनप्रति धिक्कार लाग्यो । मैले “दुईदशकसम्म अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिविरुद्ध लडेको प्रतिफल यस्तो भोग्न प¥यो” भन्ने मलाई लाग्यो । हत्कडी लगाएर अघि बढ्दै गर्दा अनायासै मेरो मुखबाट वाक्य फुट्यो, “धिक्कार छ जिन्दगी र धिक्कार छ दलाल शासकहरु ।” मलाई गाडीमा चढ्न भनियो र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको इमरजेन्सी वार्डमा पुग्यौं । त्यहाँ प्रहरीले एउटा पत्र डाक्टरलाई दिए । मैले त्यो कागज तानेर हेरें । अनि डाक्टरले त्यो पत्रतिर मात्र हेरेर सोधे, “तपाईंले मादक पदार्थ सेवन गर्नु भएको छ कि छैन ? तपाईंलाई घाउ चोट लागेको छ कि छैन ?” मैले जवाफ दिएँ, “छैन, तर हल्का टाउको दुखेको महशुश भएको छ । डाक्टरले मेरो टाउको दुखेको कुरा त उल्लेख नै गरेनन् । आफ्नो जवाफ त्यस पत्रमा लेखेर उल्टो छाप लगाए ।

त्यहाँबाट रामबजार चौकीमा फकिंदा चित्रबहादुर घर्तीबालाई पखाला लागेको रहेछ । वहाँ ट्वाइलेटमा पातलो दिशा गरिरहनुभएको थियो । मैले पनि पिशाब गरेर सुतें । बिहान उठेर साथीभाईहरुबीच उज्यालोमा देखभेट भयो । सुताई सजिलो भएको अनुभूति साथीहरुलाई सुनाएँ । साथीहरुले पुलिसचौकीकै क्यान्टिनबाट चिया ल्याएर खुवाउनुभयो । साथीहरु भन्दै हुनुहुन्थ्यो, अन्य प्रहरीचौकीको भन्दा रामबजार चौकीमा अलिक राम्रो व्यवहार हुन्छ ।

मलाई करीब साढे नौ बजेको थियो क्यार । प्रहरीले बाहिर बोलाए । प्रहरी भाईले “सर, जाकेट छैन ? लगाउनुस् ।” मीठो शब्दमा बोले । मलाई कति आनन्दको अनुभूति भयो । शायद प्रहरीले यति मीठो बोल्दा रहेछन् हगि भन्ने लाग्यो ।

बाहिर निस्कँदा त पत्रकार साथीहरुको हुल र केही नचिनेका व्यक्तिहरु पनि हुनुहुन्थ्यो । साथीहरुले मेरो बसाई र खानाको बारेमा सोध्नुभयो । मैले बसाईंका बारेमा एकदम सुविधा भएपनि बेलुका खाना नखाएको बता्रएँ । अनि साथीहरुले मलाई फक्राउ गरिनुको बारेमा प्रश्न गरे । मैले माथि भनेका कुराहरु सबिस्तार बताएँ र मलाई प्रतिशोधपूर्ण तरीकाले फँसाउने पूर्व योजनाकासाथ पक्राउ गरिएको बताएँ । मलाई प्रहरीले पूर्व योजनाकासाथ लगाएका आरोपहरु प्रमाणित गर्न पनि त्यही पत्रकारहरुको भीडमा चुनौती दिएँ ।

त्यसैबीचमा आफूहरु कास्कीका प्रमुख जिल्ला अधिकारी र एसपीलाई भेटेर आएको बताउने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले, पत्रकार ओम हमाललाई समाचार लेखेकै भरमा पक्राउ गरिएको भनेर विरोध जनाएको बताउनुभयो । वहाँले प्रहरीसँग म विप्लवका कार्यकर्तासँग बसेको फोटो तथा उम्मेदवारको गाडीको फोटो खिचेर पार्टीलाई बुझाएको भिडियो छ भनेको सुनाउनुभयो । त्यस कुराले मलाई झन् आक्रान्त बनायो । मलाई हिजो समात्नुभन्दा अघि क्याफेमा प्रहरीद्वारा ल्याइएका मनोज गुरुङसँग हात मिलाएको बाहेकको प्रमाण भएर देखाए हुन्छ र मैले नेकपालाई उम्मेदवारको गाडीको फोटो खिचेर बुझाएको प्रमाणित गर्नुस् र गोली ठोक्नुस् भनें । ठूलो संख्यामा आएका पत्रकारहरुको नेतृत्व गरिरहनुभएका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मैले भनेका कुरा तुरुन्त कास्कीका सिडियो र प्रहरी प्रमुखलाई राखिदिने भनेर हामी बिदा भयौं ।

केही समयपछि मलाई रामबजार चौकीको हिरासतबाट फेरि बाहिर बोलाइयो र प्रतिक्षालयमा बस्न भनियो । त्यही प्रतिक्षालयमा रामबजार प्रहरी चौकी प्रमुख वहाँका सहकर्मीका साथ हुनुहुन्थ्यो । त्यहाँ पनि मैले आफ्नो कुरा राखें । वहाँले पनि आफ्नो कुरा कास्की प्रहरी प्रमुखसँग राख्न सल्लाह दिनुभयो । वहाँकै गाडी चडेर म जिल्ला प्रहरी कार्यालय कास्कीमा आएँ । त्यति बेलासम्म रमाकान्तजीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइयो नै । हामीलाई रामबजार चौकी प्रमुखले भित्र बाहिर जहाँ बसेपनि हुने भनेपछि हामी भवनको टपमा रहेको छतमा बस्यौं । रमाकान्तजी र मैले अघिल्लो रातको अनुभव शेयर गरयौं । तर प्रहरीका हाकिमहरु आउनुभएन । झण्डै एकघण्टापछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री देखिनुभयो । किन हो किन मलाई वहाँलाई देखेपछि पहिल्यैदेखि सम्माभाव आउँछ । मैले आदरपूर्वक हात मिलाएँ ।

मैले जिज्ञासा राख्दै कुरो के हो, प्रष्ट पारिदिनुस् मुद्दा चलाउने भएपनि चलाउनुस् हैन भने के हो भन्नुस् भनेर सोधें । एकछिनपछि खबर गर्छु भनेर वहाँ पनि निस्कनुभयो । तर वहाँको जवाफ आउन पनि समय लाग्यो । लामो समयपछि हामीलाई तल डिएसपी साबको कोठामा बोलाइयो । त्यही क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र युवा पत्रकार भाई अर्जुन गिरी देखिनुभयो । हामी डिएसपी साबको कोठामा पुग्यौं । त्यहाँ पुगेपछि मलाई केन्द्रीय सदस्य ज्ञवालीले चुनावलाई वाधा पुग्ने समाचार लेखेको भनेर प्रहरीले आरोप लगाएको छ । सुधार गर्छु भनौं विवाद मिलाउँ ।” भन्नुभयो । त्यही बीचमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाइ पनि फोनमार्फत् बोलाइयो । वहाँ पनि तुरुन्त आउनुभयो ।

अध्यक्ष श्रेष्ठले डिएसपी खत्रीसँग “हामी पत्रकारहरु एकछिन छुट्टै बस्छौं ।” भन्नुभयो । मैले स्पष्ट भनें कि के हो कुरो डिएसपी साबकै अगाडि गर्दा हुन्छ । कुनै फरक पदैंन भनें । डिएसपी साबले अलिक अप्ठ्यारो माननु भएछ कि क्याहो । “हैन म मेरो अन्य काम छ । बाहिर जान्छु ।” भन्नुभयो र वहाँ बाहिरिनुभयो । त्यसपछि अध्यक्ष श्रेष्ठले प्रहरी प्रशासनको तर्फबट कुरा राख्नुभयो, “ओमजी, कुरा अलिक जटिल रहेछ । हामीले पत्रकारले समाचार लेखेकै भरमा पक्राउ पर्नुहुन्न भनेका छौं । सिडियो र एसपीसाबसँग ्रएक घण्टा बस्दा वहाँहरुले पोखरा र आसपासका क्षेत्रमा विष्फोटको घटनामा तपाईंको नाम जोडिएको छ, भन्नुहुन्छ । तपाईं प्रहरी हिरासतमा बस्दा पोखरा र आसपासमा विष्फोट हुन्न । वहाँ बाहिरिनु भयो भने पोखरामा ग्यारेन्टीका साथ भन्छौं विष्फोट हुन्छ भन्छन् उनीहरु ।” भन्नुभयो ।

मैले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञवाली र कास्की अध्यक्ष श्रेष्ठलाई स्पष्टसँग भनिदिएँ कि म गैरकानूनी काममा सहभागी छु र र म नै राज्यका लागि वाधक हुँ भन्ने राज्यलाई लागेको छ भने म र राजयका बीचमा नेपाल पत्रकार महासंघ आउनु आवश्यक छैन । म गलत छु भने नेपाल पत्रकार महासंघले बचाव गर्न पर्दैन ।” मलाई ज्ञवालीले भन्नुभयो, के हामी तपाईंलाई जेलमै छाडेर जाउँ त” भनेर सोध्नुभयो । मैले भने मलाई राज्यले गलत भनेको अवस्थामा म कानूनी कारवाही भोग्न तयार छु ।” यसैबीच डिएसपी खत्री आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभयो र मुद्दा फाँटका सई नरहरिसाबलाई बोलाउनुभयो । वहाँले आवश्यक परेको अवस्थामा उपस्थित हुने भन्दै मलाई अध्यक्ष श्रेष्ठको उपस्थितिमा मलाई कागज गराइयो ।

मलाई डिएसपी खत्रीले सोध्नुभयो, तपाईं विप्लवको समर्थक त हो नि ?” मैले “नेपाली नागरिकलाइ नेपालको संविधानले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव गरिने छैन भन्ने बुँदा अनुरुप म मेरो विचार र आस्था राख्दछु । म कुनै गोला बारुद बोक्ने मान्छे हैन र म कुनै हड्ताल, विरोध प्रदर्शन र पार्टीले गरेको कारवाहीका कार्यक्रममा सहभागी भएको प्रमाण भए कारवाही गर्नुस् भनेर जवाफ दिएँ ।

फेरि डिएसपी साबले सोध्नुभयो, तपाईं विप्लव माओवादीको मिडिया चलाउनुहुन्छ नि ?” मैले जवालफ दिएँ, मैले कुनै पार्टीको मिडिया चलाएको छैन । जनसञ्चार डट कम मेरो नितान्त आफ्नो लगानीमा सञ्चालन भएको अनलाइन हो । हामी हाम्रो मिडियालाई निष्पक्ष बनाउन प्रतिवद्ध छौं । राष्ट्रियस्तरका नेताका बाहेक हामी चुनावका न्युज कमी हाल्छौं । हामी सामान्यतः राष्ट्रियस्तरका बिग मिडियालाई आधार बनाएर न्यूज हाल्छौं । त्यही न्युज बिग मिडियामा आउँदा आपब् िनहुने तर जनसञ्चार डट कममा आउँदा आपत्ति हुनुपर्ने कारण छ जस्तो मलाई लाग्दैन ।”

डिएसपी साबले सोध्नुभयो, “तपाईंले फेसबुकमा निर्वाचनविरोधी सामाग्री धेरै पोष्ट गर्नुहुन्छ किन ?” मैले जवाफ दिएँ, राष्ट्रिय र बिग मिडियाले जे समाचार हाल्छन् र सामाजिक सञ्जालमा राख्छन् । ती र त्यस्तै समाचारहरु हामी हाम्रो मिडियामा राख्छौं र हाम्रो सामाजिक सञ्जालमा राख्छौं । यस विषयमा आपत्ति जनाउनुपर्ने कारण छ जस्तो मलाई लाग्दैन ।

यति कुरा सुनेपछि डिएसपी साबले भन्नुभयो, सबैले चुनाव चाहेका छन्, सबैले चुनावलाई सहयोग गर्ने वातावरण बनाउन पाए हुन्थ्यो भन्ने आशयको भनाई राख्नुभयो । मैले स्पष्ट भनिदिएँ कि हामी निर्वाचनसम्बन्धि समाचार राष्ट्रिय महत्वको बाहेक कम हाल्छौं । हाम्रो समाचारले चुनावलाई वाधा पुग्छ भन्ने मलाई लाग्दैन । समाचार हाल्न हामीलाई थुनछेक गर्न हुँदैन ।

डिएसपी साबले पनि भन्नुभयो कि समाचार हाल्न थुनछेक लगाएको हैन कि चुनाव अवधिभर केही संयमित भईदिनुस् भन्ने अनुरोध हो । अन्त्यमा सामाजिक सञ्जालमा स्टाटस हाल्दा विद्युतीय अपराध ऐन सम्बन्धि मुद्द्दा लाग्नसक्ने कुरातर्फ सचेत गराउनुभयो । जुन मलाई मनासिव नै लाग्यो । हामी नेपाल पत्रकार महासंघ कास्कीको पहलमा भएको आपसका छलफल पछि घर फर्कियौं ।

जब म कार्यालयतिर फर्किरहेको थिएँ । हिजो हामी पक्राउ परेको समाचार के कति मिडियाले हालेछन् भनेर गोर्खापत्र बाजेको पसलमा गएर सबै पत्रिकाहरु हेरें । तर कुनैमा समाचार देखिन । पोखरा जस्तै ठूलो शहरको मुख्यचोक महेन्द्रपुलबाट दुई पत्रकार पक्राउ पर्दा समाचार नआउनु भनेको पोखराको पत्रकारिताको अवस्था कस्तो हालतमा रहेछ भन्ने प्रष्ट भएको छ । साथीहरुले अरु केही नभएपनि विप्लवकै कार्यकर्ता भन्दै पत्रकार समातिए, प्रहरीले यसो भन्छ भनेर समाचार त हाल्नु पथ्र्यो नि हैन र ? तर समाचार किन लेखिनस् भनेर दबाब दिन भने हुँदैन भन्ने मेरो मान्यतामा म अविचलित छु ।

यदि प्रहरीले मैले विप्लवका कार्यकर्ता संरक्षण गरिरहेको छु भन्ने र म नै बम विष्फोटनमा संलग्न छु भन्ने प्रमाणित गर्छ भने कानूनी कारवाही गर्न पछि हट्नुहुँदैन । तर राज्यलाई प्राप्त सूचना के कति सही छ भनेर एकपटक पुर्नमूल्यांकन गर्नु पर्ने आवश्यकता म देख्दछु । मेरो राजनीतिक आस्थालाई कुल्चने कुत्सित मनशाय र मनमा उत्पन्न प्रतिशोधको भावनालाई मुखरित गर्न दिइएका गलत सूचनालाई कार्यान्वयन गर्नुपूर्व ठण्डा दिमागले सोंचेर ममाथि गरिएको कानूनसम्मत कारवाहीलाई म सदासर्वदा स्वागत नै गर्दछु ।

तर मलाई अफसोंच र दुःख यो मानेमा छ कि मलाई फँसाउने श्रृंखलावद्ध षडयन्त्रहरु भईरहेका छन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार