(भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  को वैचारिक प्रकाशन ‘पिपुल्स वार’ मा ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै  वर्तमान विश्वपरिस्थिति र सर्वहारा क्रान्तिको चरित्रका बारेमा विश्लेषण गरिएका महत्त्वपूर्ण सामग्रीहरू प्रकाशित गरेको छ । साथै कार्यकर्ताको प्रशिक्षण र निर्देशनका लागि प्रस्ताव र परिपत्रका रूपमा केही महत्वपूर्ण सामग्री पनि प्रकाशित गरेको छ । यसैअन्तर्गत एउटा सामग्रीको शीर्षक ‘वर्तमान परिस्थिति र हाम्रा कार्यभारहरू’ रहेको छ ।    यसमा अन्तर्राष्ट्रिय परिस्थितिका साथै भारतीय घरेलु स्थितिको पनि व्याख्या, विश्लेषण र संश्लेषण गरिएको छ । घरेलु स्थितिको समग्र विश्लेषणपछि आफ्ना कार्यकर्तालाई सैद्धान्तिक तथा राजनीतिक पक्षका साथै सैन्य पक्षमा दिइएको निर्देशन पाठकहरूका लागि उपयोगी हुने ठानी हामीले जनमेलबाट यहाँ प्रस्तुत गरेका छौं ।)

सैद्धान्तिक तथा राजनीतिक कामहरू : नीतिगत

१. नेतृत्व तहमा रहेका कमरेडहरूले एकपल्ट फेरि लेनिनका रचनाहरू ‘साम्राज्यवाद, पुँजीवादको उच्च चरण’, ‘युद्ध र शान्ति’र ‘तेस्रो अन्तर्राष्ट्रिय’ ले फासिवादका विरुद्ध लड्नका लागि दोस्रो विश्वयुद्धभन्दा अघि ल्याएका कार्ययोजनाहरू राम्रोसित अध्ययन गर्नु जरूरी छ । यी रचनाहरूमा आधारित भएर हामीले  वर्तमान शासकवर्गको पाकिस्तान र चीनका विरुद्ध राष्ट्रवादी प्रलाप र युद्धउन्मादमा अन्तर्निहित पक्षको निरन्तर भण्डाफोर गर्नुपर्छ । हामीले शोषक  साशक वर्ग र सङ्घ परिवारको नक्कली देशभक्तिको भण्डाफोर गर्नुपर्दछ ।

२.मुलुकलाई  निर्वाध रूपमा साम्राज्यवादको हातमा बेच्ने र दलाल नोकरसाही पुँजीपति वर्ग र ठूला जमिनदार वर्गको शोषणलाई स्थायित्व प्रदान गर्ने ब्राम्हणवादी हिन्दू फासिवादीका विरुद्ध हामीले चौतर्फी रूपमा वैचारिक र राजनीतिक सङ्घर्षलाई तीव्र पार्नु आवश्यक छ ।
३. हामीले गैरसरकारी संस्थाहरूको उत्तरआधुनिकतावाद र कानुनी लडाइँ, सुधारवाद र अर्थवादसम्बन्धी कुतर्कहरूको भण्डाफोर गर्नुपर्दछ र बलपूर्वक जनसत्ता प्राप्त गर्ने चेतनाको विकासमा जोड दिनुपर्छ ।

४. हामीले राज्य/विशेष क्षेत्रहरू/ विशेष जोनहरूमा कृषि, उद्योग र जनसेवाका अन्य क्षेत्रहरूमा अन्तर्राष्ट्रिय वित्तीय पुँजी, दलाल नोकरसाही पुँजी र सामन्तवादले एकसाथ गरेका शोषणका रूपहरूको सामाजिक जाँचपड्ताललाई पूर्णता दिनुपर्छ । हामीले यो  प्रकरणमा आम जनतालाई परिचालन गरेर वर्गसङ्घर्ष चलाउनुपर्छ । यस उद्देश्यका लागि हामीले कानुनी, गोप्य र संयुक्त मोर्चा बनाएर वर्गसङ्घर्षका लागि जनताको ठूलो हिस्सालाई सङ्गठित गर्नुपर्छ । हामीले सबै छापामार जोनहरूमा वर्ग सङ्गठनहरूलाई सुदृढ तुल्याउनु पर्छ र तल्लो तहबाट आरम्भ गरेर वर्गसङ्घर्षलाई तीव्र बनाउन केन्द्रित गर्नुपर्छ ।

१९९१ देखि साम्राज्यवादी भूमण्डलीकरण्को नीति लागु गरेपछि मुलुकमा स्थायी मजदुरलाई विस्थापित गर्न कन्ट्याक्ट र दैनिक ज्यालादारीका नाममा असङ्गठित मजदुरहरूको सख्यामा वृद्धि गरिएको छ  । यो सँगसँगै बसाइँसरेर आएका मजदुरहरू पनि बढ्नथाले । उनीहरू पनि असङ्गठित मजदुरहरू नै हुन् । हामीले यी असङ्गठित मजदुरहरूलाई पनि सङ.गठित गरेर सङ्घर्षमा लगाउनुपर्छ । असङ्गठित मजदुरहरूलाई पहिलेदेखि  सङ्गठित गरेका ठाउँहरूमा चाहिँ थप सुदृढीकरण गर्नु आवश्यक छ ।

५. हामीले दलित, आदिवासी, अल्पसङ्ख्यक धर्मावलम्बीहरू र जनवादी शक्तिहरूलाई ब्राम्हणवादी हिन्दू फासिवादका विरुद्ध सङ्गठित गर्नुपर्छ र यसका लागि विभिन्न तह र रूपका संयुक्त मोर्चाहरू निर्माण गर्नुपर्छ ।

६ मुलुकमा विदेशी विश्वविद्यालयहरूको स्थापना  र प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म भएको शिक्षाको निजीकरण, व्यापारीकरणका विरुद्ध  विद्यार्थी र आम जनतालाई सङ्गठित गर्नुपर्दछ ।

७. हामीले विस्थापन विरुद्धको अभियानलाई साम्राज्यवाद विरोधी तथा सिविवि विरुद्धको अभियानमा विकसित गर्नुपर्छ । कृषि क्षेत्रमा देखिएको सङ्कटबाट  असन्तुष्ट बनेका किसानहरूलाई सङगठित गरेर सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी सङ्घर्षको विस्तार गर्नुपर्छ ।

८. मुलुकमा ‘अपरेसन ग्रिन हन्ट’ का नाममा आम जनतामाथि शोषक वर्गले चलाएको युद्धका विरुद्ध स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनवादी शक्तिलाई सङ्गठित गरेर संयुक्त मोर्चा निर्माण गर्नु आवश्यक छ ।

९.अहिलेको आन्दोलन तीव्र भएको क्षेत्रसित जोडिएका बृहत् मैदानी इलाकामा व्यापक मात्रामा वर्गसङ्घर्षलाई विस्तार गर्नु आवश्यक छ ।
१०. सहरी आन्दोलन कमजोर हुनुको कारणहरूको गम्भीर अध्ययन गरेर यसलाई नयाँ किसिमले अघि बढाउनु जरुरी छ । यसका लागि नयाँ जनशक्तिको निर्माण गरेर प्रशिक्षण दिनु आवश्यक छ ।

११. हामीले पार्टी कर्ताकर्ताको सैद्धान्तिक, राजनीतिक स्तरको अभिवृद्धि गर्नु आवश्यक छ, जसबाट कठिन परिस्थितिमाथि उनीहरूले विजय प्राप्त गर्न सकून् । हामीले एलटिपी र सबै तहको फिल्ड ट्रेनिङ कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।

१२. हामीले दुस्मनले चलाएको मनौवैज्ञानिक तथा भ्रमपूर्ण युद्धको निरन्तर भण्डाफोर गर्नुपर्छ र त्यसैगरी उनीहरूसित लडेर पराजित गर्नुपर्छ ।

सैन्य, सङ्गठनात्मक कामहरू : नीतिगत 

पार्टी र सैन्य कार्यकर्ताहरूले एकीकृत–माओवादी पार्टी निर्माण गरेपछि हामीले चलाएको माओवादी जनयुद्धसित सम्बद्ध अनुभवको अध्ययन गरेकै हुनुपर्छ । हामीले हाम्रा कार्यकर्तालाई आन्दोलनको शक्ति, सङ्गठनात्मक स्थिति र सम्बद्ध क्षेत्रको भौगोलिक अवस्थामा आधारित भएर छापामार युद्धनीतिका बारेमा प्रशिक्षित गर्नुपर्छ ।

२. हामीले अहिले देशव्यापी रूपमा सामना गर्नुपरेका समस्या निराकरणकाका लागि सकारात्मक पक्षहरूलाई आधार मान्दै छापामार युद्धका लागि स्थानीय तहमा जेजति साधनस्रोत छ, त्यसैका आधारमा छापामार युद्धलाई रिन्तरता दिनुपर्छ । बितेका तीन वर्षहरूमा  कार्पेट सेक्युरिटी क्षेत्रहरूमा भएका अपरेसनहरूसित सम्बद्ध अनुभवहरूको संश्लेषण गर्नुपर्छ र ती क्षेत्रहरूमा छापामार युद्धको विकास गर्दै तीव्र बनाउनु पर्छ ।

३. हामीले राजनीतिक तथा सैन्य क्षेत्रको नेतृत्व तहको शक्तिलाई तालिम दिने काममा जोड दिनुपर्छ । हामीले हाम्रा जनमुक्ति छापामार सेनालाई विशेष तालिम दिनुपर्छ, जसबाट उनीहरू एलआइसी तथा प्रतिछापामार लडाईँसित सम्बद्ध नीतिको सामना र प्रतिरोध गर्न सकून् । हामीले कार्यनीतिगत साथै विभिन्न किसिमका शीपको विकास गर्नुपर्छ । सबै तहका कमान्डरहरूले यसलाई लागु गर्नुका साथै मजबुत बनाउनु आवश्यक छ ।

४. हामीले दुस्मनको आक्रमणबाट स्थानीय नेतृत्वको रक्षा गर्नुपर्छ । यसका लागि राज्य, विशेष जोन, विशेष एरिया कमिटीहरूले आवश्यक विधिहरू अँगाल्नुपर्ने हुन्छ ।

५ हामीले कार्पेट सेक्युरिटी एरियाहरूमा आम जनकार्य र छापामार युद्धका कामकारबाहीबारे जनता र लडाकु दस्तालाई प्रस्टरूपमा बुझाउनुपर्छ । यसो गर्दा जनतालाई कुनै हानिनोक्सानी नहोस् भनेर हामीले ध्यान दिनुपर्छ ।

६.हामीले हाम्रा कामकारबाही र सङ्गठनात्मक गतिविधिहरू दुस्मनले आक्रमण गर्दा तल एरिया कमिटीदेखि माथि केन्द्रीय कमिटीसम्मका नेतृत्वदायी शक्तिहरूलाई सुरक्षित राख्ने किसिमले लागु गर्नुपर्छ ।

७. हामीले हानिनोक्सानी व्यहोरेका क्षेत्रहरूलाई पुनः मजबुत बनाउने किसिमले काम गर्नुपर्छ । राज्य कमिटीले त्यस क्षेत्रको जनाधार,  सङ्गठनात्मक स्थितिमा आधारित भएर आमजनता तथा सैन्य गतिविधिलाई परिचालित गर्नुपर्छ ।

८. कार्पेट सेक्युरिटीको बढ्दो अवस्थाका कारण उत्पन्न समस्यालाई ध्यानमा राखेर  आन्दोलनका अन्य क्षेत्रहरूसित समन्वय गर्दै राज्य कमिटीहरूले आन्दोलनको नेतृत्वको पहल गर्नुपर्छ । राज्य कमिटीहरू/स्पेसल जोनल कमिटीहरू/विशेष एरिया कमिटीहरू, जिल्ला/डिभिजन/जोनल कमिटीहरू पहिलेजस्तो नियमित बैठकहरू सञ्चालन गर्न सकिरहेका छैनन् । त्यसैले सब–जोनल ब्युरोहरू डिके, आरसी (अहिले संयुक्त कमान्ड) डिभिसीले सबै एरियामा र सब-डिकेको सबडिभिजनल ब्युरोले आफ्नै स्वतन्त्र पहलमा आन्दोलनलाई नेतृत्व प्रदान गर्नु आवश्यक छ । यी कमिटीहरूको अभावमा एसजेडसिएमहरू र डिभिसिएमहरूले आन्दोलनलाई अगाडि बढाउन टिमवर्कका रूपमा काम गर्नुपर्ने हुन्छ ।

छापामार युद्धको सिद्धान्तलाई खास क्षेत्रको विशिष्टता र केन्द्रित र विकेन्द्रित शक्ति विन्यासका आधारमा लागु गर्नुपर्छ । सैन्यकार्य र जनपरिचालनकार्यबीच समन्वय बनाएर लैजानुपर्छ । आवश्यकता पर्नेबित्तिकै एरिया कमिटीहरू र प्लाटुनहरूलाई एउटै कमान्डमा ल्याउनुपर्छ । आवश्यक पर्यो भने एलजिएस र एलओएसलाई एउटै युनिटमा मिसाउनु पर्ने हुन्छ र दुइटा एसीलाई पनि एकै ठाउँ मिसाउनुपर्ने हुन्छ । यस्ता निर्णयहरू फेरिएको शक्तिमा आफ्नो पहल नगुम्ने किसिमले र फेरिएको अवस्था र दिशाको राम्रो अध्ययन गरेर मात्र गरिनुपर्छ । यस्ता कुरामा हामी मनोगतवादी हुनु हुँदैन । एसजेडसिएम टोलीहरू र सब-जोनल ब्युरोहरूले यस्ता निर्णयहरू सिसिएमहरूको निर्णय र निर्देशनमा लिनुपर्छ । काम गर्ने विधि फेर्नुपर्छ, जसबाट फेरिएको परिस्थितिअनुसार पहल गरेर निर्णय लिन सकियोस् ।

९. बोतेम (डिके–तेलङ्गना), रामागुडा (एओबि),…(बिहार-झारखण्डमा भएका जस्ता नोक्सानीहरूबाट बच्न हामीले हाम्रा बसाइ (क्याम्प), हिँडाइ, प्याट्रोलिङ र सुरक्षा सतर्कतामा पनि फेरबदल गर्नु जरूरी छ । हामीले हाम्रा क्याम्पहरूमा हुने दुस्मनको आक्रमणलाई प्रत्याक्रमण गर्न नियमित कवाजको अभ्यास गर्नुपर्दछ । हामीले क्याम्पवरिपरि आत्मरक्षाको दरिलो व्यवस्था गर्नुपर्छ ।

१०. हातहतियार तथा खरखजाना प्राप्त गर्न र दुस्मनको सफाया गर्न हामीले बदलाका कारबाही तथा टिसिओसीहरू गर्नुपर्छ ।  यसका लागि जनताको निरन्तर सूचनालाई अगगाडि राखेर तथा दुस्मनको कमजोरीहरूलाई ध्यानमा राखनुपर्छ । यसका लागि हामीले सही योजना बनाएर हाम्रो फोर्सलाई उत्साहका साथ परिचालन गर्नुपर्छ । युद्धका कारबाहीहरूमा नेतृत्वदायी फोर्सको संलग्नतामा वृद्धि गर्नुका साथै यसलाई बलियो पनि बनाउनुपर्छ । नेतृत्वदायी शक्तिहरू, कार्यकर्ताहरू र सबै ‘जनमुक्ति छापामार सेना’ एकगठ भएर साहस र हिम्मतका साथ लड्नुपर्छ । हातहतियार कब्जा र बदलाभावका कारबाहीहरूमा आक्रमण र गति, अघि बढ्ने र पछि हट्ने कार्यमा पनि हामीले आवश्यकताअनुसार फेरबदल गर्नुपर्छ, सिर्जनात्मक हुनुपर्छ  । त्यसैले हामीले युद्धकलामा विकास गर्नेपर्छ । हामीले सबै किसिमका हतियारसित काम गर्ने शीपको विकास गर्नैपर्ने हुन्छ ।

११. हामीले कार्पेट सेक्युरिटीलाई रोक्न, असफल पार्न, ध्वस्त पार्न आक्रमणको आवश्यक विधि अँगाल्नु पर्नेहुन्छ ।

१२. सुदृढीकरण र विस्तारको प्रक्रियामार्फत सिआरबी र इआरबी क्षेत्रहरूबीचको क्षेत्रलाई बृहत् छामामार इलाकाका रूपमा विकसित गर्नुपर्छ । यस कामको सफलताले कठिन स्थितिलाई पार लगाउन  र  भारतीय क्रान्तिलाई अघि बढाउन एउटा आधार प्रदान गर्छ ।

१३.पार्टीमा काम गरिरहेका कार्यकर्ताहरू, जनसेना र संयुक्त मोर्चाले माओवादी कामको शैलीमा पोख्तता हासिल गर्नैपर्ने हुन्छ ।

प्रिय कमरेडहरू !

दुस्मनको प्रतिक्रान्तिकारी  आक्रमणले हाम्रा सामु गम्भीर चुनौती खडा गरेको छ । हामीहरू यो कठिन स्थितिलाई पार लगाउन सकौँला कि नसकौँला ? सक्छौं । अर्कोतिर घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिक स्थितिले विश्वव्यापी रूपमा साम्राज्यवादीहरू, तिनका दलालहरू, दलाल नोकरसाही पुँजीपतिहरू र ठूला जमिनदारहरूका सामु एकदमै गम्भीर चुनौती खडा गरेको छ । दिनदिनै बढ्दैगएको आर्थिक तथा राजनीतिक सङ्कटलाई कसरी झेल्ने ? कसरी विश्वव्यापी क्रान्तिको लहरको सामना गर्ने ? शोषक, शासक वर्गहरूको सामु उपस्थित निमर्म प्रतिकूल अवस्था हाम्रा लागि अनुकूल पक्षहरू हुन् । यी अनुकूल पक्षहरूमाथि आधारित भएर हामीले राजनीतिक, सैन्य र सङ्गठनात्मक  प्रयासहरूको निर्माणका लागि सही रणनीतिहरू अँगाल्नु पर्दछ । अनि मात्रै हामी अवश्य पनि वर्तमान कठिन स्थितिमाथि विजय प्राप्त गर्न र भारतको क्रान्तिकारी आन्दोलनलाई पनि अघि बढाउन सक्छौँ । कृषिमा मात्र निर्भर भएर बाँच्न नसक्नुको अवस्था  र सहरमा कामको अभावका कारण किसानहरूको ठूलो सङ्ख्या एकदमै असन्तुष्ट छ । विद्यार्थी र युवाहरू साम्राज्यवादी र सामन्ती उत्पीडन र दमनका कारण निस्सासिँदो अवस्थामा छन् । विस्थापनको समस्याले गर्दा आदिवासीहरूले आफ्नो जीवनअस्तित्व र पहिचान गुमाइरहेका छन् ।

साम्राज्यवादी भूमण्डलीकरण नीतिहरूका कारण मजदुरहरू र अन्य कामदारहरू असुरक्षाको सामना गरिरहेका छन् । यी सबै कुरालाई वर्गसङ्घर्षमा सङ्गठित र सुदृढ पार्ने प्रयास गरौँ । सीमित शक्तिबाट कामको थालनी गरौँ र असीमित शक्ति तयार पारौँ । हामीले नयाँ पुस्तालाई क्रान्तिका लागि सङ्गठित गरौँ ।  भूगोलको ठूलो क्षेत्रलाई लाल प्रतिरोध क्षेत्रहरू र गुरिल्ला जोनहरूमा विकास गरौँ । यस प्रक्रियामा  व्यापक, सङ्गठित जुझारु जनाधारको निर्माण गरौँ, जनमुक्ति छापामार सेनालाई सुदृढ पारौँ र जनयुद्धलाई घनीभूत रूपमा अघि बढाऔँ । त्यसैले दुस्मनको आक्रमणलाई परास्त गरौँ र कठिन स्थितिमाथि विजय प्राप्त गरौँ ।

बितेका दिन वर्षहरूमा हामीले भोगेका कठिनाइहरूबाट पार पाउनका लागि हामीले गरेका प्रयासहरूबाट उत्पन्न अनुकूल पक्षहरूलाई हामीले अझ थप बलियो बनाउनुपर्छ ।  यी अनुकुल पक्षहरू कठिनाइबाट मुक्त पार्ने बलिया आधारहरू हुनसक्छन् । हामीहरूबीच विद्यमान विजातीय वर्ग प्रवृत्तिहरूलाई सच्याऔँ । आन्दोलनको शक्तिअनुसार मालेमाका सिद्धान्तहरू र माओवादी जनयुद्धका सिद्धान्तहरूलाई लागु गरौँ । फेरिएको परिस्थितिअनुसार हाम्रा राजनीतिक तथा सैन्य रणनीतिलाई परिवर्तन गरौँ । यस प्रयासमा हामी सबै तहमा टिम भावनाका साथ काम गरौँ । आमजनताका बीचबाट नयाँ पुस्तालाई सङ्गठित र बलियो बनाउने रणनीतिको विकास गरौँ । माओवादी शैलीको काम गराइमा दक्षता हासिल गरौँ ।

विश्वको कम्युनिस्ट आन्दोलन र हाम्रो मुलुकको इतिहासले पनि थुप्रै अप्ठ्याराहरू र पराजयलाई भोगेको छ । हामीले यी सबैको सामना गर्दैआएका छौँ । जब हिटलरको फासिवादी डफ्फाले  दोस्रो विश्वयुद्धमा  लेनिनग्राडमाथि घेराबन्दी गर्यो, जब दक्षिण चीनको मुक्त क्षेत्र चिनियाँ कम्युनिस्ट पार्टीले गुमायो र दीर्घकालीन जनयुद्धको लामो अभियानको बाटो समात्नु प¥यो, जब नक्सलबाडी र श्रीकाकुलमका सङ्घर्षहरूको पराजय भयो, हामीले निकै गम्भीर प्रतिकूल स्थितिको सामना गर्नुपर्यो  ।

सही रणनीतिहरू, अद्वितीय हिम्मत र साहस, दृढ इच्छाशक्ति र सही कार्यशैलीद्वारा हामीले ती समस्यामाथि विजय प्राप्त गर्यो  । यी अनुभवहरूमा आधारित भएर ‘अपरेसन ग्रिन हन्ट’ का विरुद्ध लडौँ र कठिन परिस्थितिमाथि विजय प्राप्त गरौँ ।

क्रान्तिकारी अभिवादन
केन्द्रीय समिति, भाकपा (माओवादी)

अनु. डा. ऋषिराज बराल, जनमेलबाट ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार