पुर्खाहरुले विश्वमा आफ्नु साम्राज्य र प्रभुत्व कायम गर्दै हिँड्ने अंग्रेज फिरन्तेहरुलाई पहिलोपटक पराजय गरेर नेपालको स्वाभिमान जोगाएका थिए । उक्त ऐतिहासिक स्थल सिन्धुलीगढी यतिबेला भग्नावशेसको अवस्थामा छ ।

नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलको उत्तरमा पर्ने सिन्धुली जिल्लाको पुरानो सदरमुकाम हो सिन्धुलीगढी । समुद्री सतहदेखि करिव १४०० मिटर उचाइमा रहेको यस गढीबाट उत्तर सिमानामा तामाकोशी र भर्खर अन्माउन लागेको बेहुलीको नारीमा चाँदीको बाघमुखे चुराजस्तो गौरीशङकर हिमाल मुस्कुराइरहेको देखिन्छ । भने दक्षिण सीमानामा हरियाली वनजंगलले ढाकेको चुरेपहाड सँगै तराइका समथर भुमागहरु देख्न सकिन्छ । पूर्वी सीमानामा सुनकोशीले छेकारो मारेको छ । पश्चिम सीमानामा सलल बगिरहेको बागमती र मरिणखोलाको दृश्यावलोकन गर्न सकिन्छ ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुईवटा गढीमा विभाजन गरेको पाइन्छ । जसलाई सानो गढी र ठुलोपौवा गढीको नामबाट चिनिन्छ । त्यस ठाउँमा भएका दुईवटा टापुहरुमा युद्धको समयमा सानो र ठुलो तोप राखेको हुनाले सानोगढी र ठुलोगढी नाम रहन गएको भनाइ छ ।

गढीको स्थापना कहिले भयो भन्ने यर्थाथ तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए भन्ने भनाइ पाइन्छ । अर्को तर्फ यी दुई गढीको बीचभागमा पृथ्वीनारायण शाहको सेनाले विजय गरेपछि सेनाहरु बस्नको लागि काठ र खरको छानो राखेर घर बनाई सिन्धुलीगढीको स्थापना गरिएको थियो भन्ने भनाइ पाइन्छ ।

वि.सं. १९७५ सालतिर तत्कालिन प्रधानमन्त्री चन्द्रशम्सेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेनाहरु बस्नको लागि १४ वटा ढोका, ५६ वटा झ्याल, टिनको छाना र सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरवारको निर्माण सुरु गरेका थिए । पछि गढीका कर्णेल पुष्करविक्रमले दरवारको निर्माण कार्य सम्पन्न गरे ।

सिन्धुली गढी कुल क्षेत्रफल करिव ३ हजार वर्गमिटरमा फैलिएको छ । ऐतिहासिक सिन्धुलीगढी दरवार रमणिय प्राकृतिक सुन्दरताले भरिएको महाभारत जंगलको बीचमा रहेको छ । सिन्धुली जिल्लाको सदरमुकाम रहेको वेला गढी क्षेत्रमा कमेरोले पोतेको विभिन्न कार्यालयहरु, झिलिमिली पारेर राखेको बनेपाली भातगाँउले, खड्पू, धुलिखेले साहुजीहरुको दोकानले गर्दा गढीको रौनक झन् वढाएको छ ।

वि.सं. २०१९ सालसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय यसै ठाउँमा थिए । वि.सं. २०२२ मा सिन्धुलीगढी दरवारमा सेनाको व्यारेक र प्रहरी चौकी, कारागार मात्र वाँकी रहेर सबै कार्यालयहरु सिन्धुलीमाढीमा सारियो । २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो । वि.सं. २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा राखिए पनि माओवादी जनयुद्ध सुरुवातसँगै प्रहरी चौकीमा आक्रमणपछि पूर्णरुपले गढी असुरक्षित बन्यो । सुरक्षा पाउन नसकेका कारण अहिले पुरातात्विक शिलालेखहरु पनि चोरी भइसकेका छन् ।

सिन्धुलीगढी युद्धको समयमा पुर्खाहरुको अदम्य साहस र वीरताका कारण आज नेपाल राष्ट्र छ जो यस सिन्धुलीगढी युद्धको चर्चाले प्रष्ट्याउँछ । वि.सं.१८२४ कातिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको थियो । भने त्यसमा झण्डै एक हजार ६ सय अंग्रेज सेनाहरु हताहत भएका थिए । अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय थियो ।

वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाण्डौमा ब्यापक लुटपाट गरी वनेपा हुँदै फर्किदा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर÷सितामाढी) फर्किएका थिए भन्ने ऐतिहासिक प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ । इतिहासका घटनाक्रमहरुको अध्ययन गर्दा डोयहरुको आक्रमणको करिव ४० वर्ष पछि जयस्थिति मल्लको पालामा अर्थात वि.सं. १४०६ को मंसिर महिनामा वंगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँलाई लगभग ध्वस्त वनाई फर्किदा पनि सिन्धुलीगढीको बाटो हुँदै वंगाल तर्फ फर्किएका थिए ।

यो अपार क्षतिबाट विछिप्त भएर पुनः आक्रमणको प्रतिरोध एवं वचावटका लागि सिन्धुलीगढीको स्थापना वि.सं. १४११ र वि.सं. १४५२ को बीचमा जयस्थिति मल्लले गरे । राजा जयस्थिती मल्लले नै सिन्धुली गढीको फेदी भन्दा केही पर आफ्ना भाईभारदारहरुलाई सुराकीको रुपमा राखेका थिए ।

काठमाडौँका राजा यक्षमल्लले अयोध्या र मगध समेत नेपालमा गाभेपछि विदेशीहरुलाई पुनः प्रत्याक्रमण गर्न नदिन वि.सं. १५१५ तिर सिन्धुलीगढीलाई मजबुत वनाएका थिए । वि.संं. १५५६ तीर राजा शिवसिंह मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुली गढीलाई आफ्नो अधिकारमा लिएका थिए ।

वि.सं. १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदारहरु र मोरङका वादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए । वि.सं. १८२४ मा गोर्खाली सेनाले जयप्रकाश मल्लको सहयोगार्थ आएका इष्ट इन्डिया कम्पनी सेनालाई सिन्धुली गढीमा पराजित गरेको थियो । यसमा २४०० कम्पनी सेना मध्ये १६०० सेनाहरुको हताहत भएको थियो । अंग्रेज सेनाले दक्षिण एसीयामा सिन्धुलीगढीमा नै पहिलोपल्ट पराजित भोगेका थिए ।

वि.सं. १८७३ मा सुरु भएको नेपाल अंग्रेज यूद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर तत्कालिन जनरल भिमसेन थापाले सिन्धुलीगढीमा कानूनी रुपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गरेका थिए । वि.सं. १८८६ माघमा नेपालका तत्कालिन जनरल भिमसेन थापा सपत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए । यस्ताखाले विविध घट्नाक्रमबाटे सिन्धुलीगढीको महत्वलाई अझ बढि प्रष्ट्याएको छ ।

गढीक्षेत्रको हावापानी न धेरै चिसो न गर्मी छ अर्थात् यहाँ रोमणिय वातावरण छ । जाडो महिनामा यहाँको औषत तापक्रम सूर्याेदयको समयमा ८ देखि १० डिग्री सेल्सियसका बीच रहन्छ । भने सूर्यास्तको समयमा १० देखि १२ डिग्री सेल्सियसका विच रहन्छ । यसैगरी गर्मी महिनामा यहाँको औषत तापक्रम सूर्याेदयको समयमा १८ देखि २० डिग्री सेल्सियसका बीच रहन्छ । भने सूर्यास्तको समयमा २५ देखि २८ डिग्री सेल्सियसका विच रहन्छ । यहाँ मध्यान्नदेखि साँझसम्म हावा चल्ने हुनाले पर्यटकहरुले जाडो महिनामा अलि विचार पु¥याउनु पर्ने हुन्छ ।

विश्वमा आफ्ना साम्रज्य फैलाउँदै हिँडेका अंग्रजी फिरन्तेहरुलाई पहिलो पटक युद्धमा व्रेक लगाएको थियो सिन्धुलीगढीको युद्धले । यसका कारण पनि सिन्धुलीगढीको युद्ध महत्वपूर्ण छ । युद्धको समयमा नेपालीहरुले प्रयोग गरेको स्थानीय हतियारको प्रसंग झनै रोचक छ । उनीहरुले बारुला विच्काएर र ढुङ्गा खसालेर युद्धको अनैठो सीपको प्रयोग गरेका थिए त्यसमाथी जंगलमा भएको सिस्नोले पोलेर अंग्रेजहरुलाई कम सास्ती भएको थिएन ।

धरैजसो बारुलाले टोकेर भिरबाट खसि ज्यान गुमाएको भन्ने इतिहासमा उल्लेख छ । यदि तत्कालिन अवस्थामा अंग्रेजहरुले गढी पार गरेको भए सायद आज हामी स्वभामानी नेपाली हुने थियनाैँ होला इतिहास यहि वोल्छ । विश्वमा आफ्ना साम्रज्य फैलाउँदै हिँडेका अंग्रजी फिरन्तेहरुलाई पहिलो पटक युद्धमा व्रेक लगाएको थियो सिन्धुलीगढीको युद्धले ।

यसका कारण पनि सिन्धुलीगढीको युद्ध महत्वपूर्ण छ । युद्धको समयमा नेपालीहरुले प्रयोग गरेको स्थानीय हतियारको प्रसंग झनै रोचक छ । उनीहरुले बारुला विच्काएर र ढुङ्गा खसालेर युद्धको अनैठो सीपको प्रयोग गरेका थिए । त्यसमाथी जंगलमा भएको सिस्नोले पोलेर अंग्रेजहरुलाई कम सास्ती भएको थिएन । धरैजसो बारुलाले टोकेर भिरबाट खसि ज्यान गुमाएको भन्ने इतिहासमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार