नेपाल हाल ६ खर्ब ९८ अर्ब ऋणमा रहेको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये आन्तरिक ऋण २ खर्ब ८४ अर्ब र बाह्य ऋण ४ खर्ब १४ अर्ब रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।

डा. खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै चालु आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएका योजना पूरा गर्न २ खर्ब रकम अपुग हुने बताएका छन् ।

‘स्रोत नै नभई बजेटको आकार बढाउन मनोगत आधारमा स्रोत देखाइएको छ,’ संसद्मा सम्बोधन गर्दै उनले भने, ‘वैदेशिक सहायता प्राप्त हुन्छ भन्ने अड्कल गरिएका कतिपय आयोजनामा कुनै छलफलसम्म भएको देखिंदैन ।’

बजेट निर्माण कुशलतापूर्वक हुन नसकेकाले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, धरान चतरा हेटौंडा सडक, हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निर्माणजस्ता राष्ट्रिय प्राथमिकता आयोजनाहरुमा आवश्यकभन्दा कम रकम छुट्याइँदा समस्या देखिएको उनले बताए ।

‘स–साना आयोजनाहरुमा बजेट छिर्ने प्रवित्तिमा सुधार नआउनुले विनियोजन दक्षता नभएको प्रस्ट देखाउँछ,’ उनले भने ।

सार्वजनिक खर्च व्यवस्थामा चालु खर्चको आधार बढ्दै गएको उनको भनाइ थियो । चालु खर्चको विगत ५ वर्षको औषत वृद्धि १७ प्रतिशत रहेको उनले बताए ।

आर्थिक वर्ष ०७४र७५ को प्रक्षेपित राजस्वसँग चालु खर्चको अनुपात अझै एक सय १० प्रतिशत रहेको उनले बताए । ‘सामाजिक र सुरक्षाका लागि मात्रै कुल ग्रार्हस्थ उत्पादनको ५ प्रतिशतभन्दा बढी खर्च हुने गरेको छ ।

प्रशासनिक र सुरक्षा क्षेत्रको खर्च वृद्धि उच्च छ,’ उनले संसद्लाई सम्बोधन गर्दै भने, ‘सरकारी सेवामा विदेश भ्रमण मौलाउँदै गएको छ । तर, यस्तो भ्रमणको उपलब्धि लेखाजोखा गर्ने प्रचलन नै छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार