ऋणले एउटा गरिब किसानको घरखेतसम्म डुबाउन सक्छ।

तर एउटा व्यापारी वा उद्योगपतिका लागि ऋण भविष्यमा धन बढाउने माध्यम हुँदोरहेछ। व्यक्तिगत जीवनमा धन र ऋणको परिभाषा जति सरल बुझिने देखिन्छ, व्यापार र उद्योगका लागि ऋण र धन बेग्लै कुरा देखिन्छ।

अनि देशहरूको लागि के हुन्छ त ऋण र धनको अर्थ ?

अमेरिका वर्तमान संसारको सबैभन्दा धनी देश हो। तर अमेरिका विदेशी ऋण पनि सबैभन्दा धेरै भएको मुलुक रहेछ। यसलाई शब्दमा शंख, खर्ब, अर्ब, करोड भनी लेख्न पनि गाह्रो हुन्छ किनभने अंग्रेजी, नेपाली र हिन्दी विभिन्न भाषामा अंकको गणना फरक तरिकाले हुन्छ। त्यसैले विश्व ऋण सूचांक (वल्र्ड डेब्ट इन्डेक्स) अनुसार लेख्न सजिलो हुन्छ।

अमेरिकाको वैदेशिक ऋण रहेछ : १८,६२४,०००,०००,००० ( १ नील ८६ खर्ब २४ अर्ब अर्थात १८.६२४ ट्रिलियन) अमेरिकन डलर। अनि अर्को धनी देश बेलायत (ब्रिटेन) को वैदेशिक ऋण ७,८५२,४६०,०००,००० (७८ खर्ब ५२ अर्ब ४६ करोड अर्थात ७.८५२४६ ट्रिलियन) अमेरिकन डलर रहेछ। अनि चीन पनि त अमेरिकापछिको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। यसको वैदेशिक ऋण कति रहेछ अमेरिकन डलरमा १,५६२,८००,०००,००० ( १५ खर्ब ६२ अर्ब ८० करोड अर्थात १.५६२८ ट्रिलियन) रहेछ।

भारतको रहेछ, ४७१,८५२,०००,००० ( ४ खर्ब ७१ अर्ब ८५ करोड २० लाख अर्थात ४७१.८५२ बिलियन) अमेरिकी डलर। अमेरिकाको ऋण १४ अंकको देखिन्छ। त्यो जति कसैको देखिँदैन। चीनको १३ अंकको देखिन्छ। त्यसैगरी बेलायतको १३ अंकको तर भारतको १२ अंकको देखिन्छ। हाम्रा अन्य छिमेकी सार्क देशहरूको वैदेशिक ऋण ११ अंक वा त्योभन्दा मुनि देखिन्छ। पाकिस्तानको ८२,९८०,७००,००० ( ८२ अर्ब ९८ करोड ७ लाख अर्थात ८२.९८०७ बिलियन) डलर, श्रीलंकाको ४६,५८५,७००,०००( ४६ अर्ब ५८ करोड ५७ लाख अर्थात ४६.५८५७ बिलियन) इत्यादि। ३ करोडको जनसंख्या भएको नेपालको वैदेशिक ऋण रहेछ ३,४५०,२००,००० (तीन अरब ४५ करोड दुई लाख अर्थात ३.४५०२ बिलियन), जुन दश अंकको संख्या देखिन्छ। मात्र ८ लाख जनसंख्या भएको भुटान पनि १० अंकको साथ २,२६१,०००,००० ( २ अर्ब २६ करोड १० लाख अर्थात २.२६१ बिलियन) को वैदेशिक ऋणमा रहेछ।

हामीले के देख्यौं भने संसारको सबैभन्दा धनी देश र अरू धनी देशहरू वैदेशिक ऋण पनि सबैभन्दा बढी लिदाँ रहेछन्। जो सबैभन्दा धनी रहेछ त्यो सबैभन्दा ठूलो ऋणमा रहेछ आजको संसारमा। हाम्रो देश नेपालमा सबैभन्दा ठूला उद्योगपतिहरू, व्यापारीहरू पनि सबैभन्दा बढी ऋण लिँदा रहेछन्। आजको नेपालमा पनि जो सबैभन्दा धनीहरू छन् तिनीहरूका नै सबैभन्दा धेरै ऋणहरू हुँदा रहेछन्। यिनीहरू के गर्दा रहेछन् ऋणको ? नाफा हुने व्यापार, उद्योग र कारोबारमा लगानी गर्दा रहेछन् र झन् धनी हुँदा रहेछन्।

माल्दिभ्सले पहिले नै वन बेल्ट वन रोड (ओबोर) मा सही गरिसकेको थियो। यसपटक ६ देखि ९ डिसेम्बर २०१७ मा माल्दिभ्सका राष्ट्रपति अब्दुला यामिन चीन जाँदा उनले चीनसँग फ्रि ट्रेड एग्रिमेन्ट (एफटिए) पनि सही गरे। भारतीय अखबारहरू भन्छन्–भारतलाई यसको पूर्व सूचना र अत्तोपत्तो नै दिइएन। अहिले माल्दिभ्स र भारतको सम्बन्ध भित्रीरूपले कस्तो रहेछ ? सरकारसमर्थक माल्दिभ्सको समाचार पोर्टल ‘भागुथु’ ले लेख्यो ‘भारत माल्दिभ्सको सबैभन्दा राम्रो मित्र होइन, तर एउटा शत्रु हो।’ माल्दिभ्सको समाचारपत्रले यस्तो लेखेको पनि भारतीय अखबारहरूबाटै जानकारी पाइयो।

हाल भारतीय लेखक डा. एसडी मुनी र अरू भारतीयहरूले लेखेका छन्– नेपालले माल्दिभ्स, श्रीलंका, म्यानमार र पाकिस्तान जस्तै चीनको ऋण लिन हुँदैन, नत्र नेपाल पनि ती देशहरू झैं चीनको ऋणमा डुब्नेछ। विकल्प के छ त हामी नेपालीहरूसँग ? उन्नति नै नगर्ने ? विकासको पूर्वाधारै नबनाउने ? व्यापार व्यवसाय नै नबढाउने ? माथिका तथ्यांकबाट हामीले देख्यौं कि संसारमा ऋण लिनु र विकास गर्नु हरेकजसो देशको नीति रहेछ। आजकल इन्टरनेटले सूचना क्रान्ति गरिसकेको छ र अझै अगाडि बढ्दैछ।

अध्ययनबाट के देखिन्छ भने संसारमा विदेशी ऋण नै नलिने देश जम्मा दुइटा रहेछन् र एकसय ९३ संयुक्त राष्ट्रसंघ सदस्यमध्ये अरू सबै विदेशी ऋण लिँदा रहेछन्। विदेशी ऋण नलिने जम्मा दुई देशहरू लिच्टेन्स्टाइन र ब्रुनाइ रहेछन्। लिच्टेन्स्टाइनको जनसंख्या जम्मा ३७ हजार ३ सय रहेछ र प्रतिव्यक्ति आय सरदर अमेरिकन डलर ९८ हजार ४ सय ३२ ( ने.रु. एक करोड एक लाख भन्दा बढी) हुँदोरहेछ। लिच्टेन्स्टाइन एउटा ठूलो व्यापारिक केन्द्र र धेरै ठूला कम्पनीहरूको प्रधान कार्यालय रहेको ठाउँ रहेछ। अर्को देश ब्रुनाइ हेरौं। जनसंख्या जम्मा ४ लाख १७ हजार २ सय रहेछ र सालाना प्रतिव्यक्ति सरदर आय अमेरिकन डलर ३० हजार ९ सय ३३ ( ने.रु.३१ लाख ८६ हजार ९९ ) रहेछ।

यी दुई मुलुकलाई छोडेर एक सय ९३ मध्ये एक सय ९१ ले विदेशी ऋण लिदाँ रहेछन्। संसारका सबै देश पाएसम्मको विदेशी ऋण लिएर सडक बाटोघाटो, बिजुली, अस्पताल, खानेपानी, उद्योगधन्दा, शिक्षा विकासका पूर्वाधार खडा गरिरहेको देखिरहेका नेपालीलाई नेपालले विदेशी आर्थिक सहयोग सहायता सहुलियत नलिन कसैले भन्दा अर्थहीन र रहस्यमय अर्ती लाग्छ। एक त माग्दाखेरि लगानी गर्ने रकम पाइँदैन। मेहनत गरेर खोज्दा केही मात्रामा बल्ल बल्ल विदेशी ऋण पाइन्छ।

हामीले केही समयअघि देख्यौं भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश गएका थिए र दुई अर्ब अमेरिकन डलर ऋण दिने भएका थिए। तर केही समयपछि चीनका राष्ट्रपति सि जिनपिङ बंगलादेश गए। उनले २० अर्ब अमेरिकन डलर पूर्वाधार विकासका लागि प्रदान गरे। धेरै नजिकको छिमेकी देश हुँदा हामीहरूलाई केही बढी जानकारी छ कि खालिदा जियालाई पन्छाउन र शेख हसिना वाजेदलाई ल्याउन भारतले भित्रैभित्र भूमिका खेलेको थियो। तर चीनको २० अर्बको ऋण प्रधानमन्त्री हसिना वाजेदले अस्वीकार गर्न सकिनन्।

हाम्रा नेताहरूले दास मनोवृत्तिबाट मुक्ति पाउनैपर्छ। हाम्रा भ्रष्ट नेताहरूले हामी नेपाली जनतामाथि लादेको अदृश्य दासताबाट हामी नेपाली जनताले सबै प्रकारले र सम्पूर्ण प्रकारले मुक्ति पाउनैपर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार