वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको वृद्धि भए पनि मलेसियामा सो अनुपातमा नेपालीको व्यवसाय फस्टाउन सकेको छैन ।

अन्य श्रम गन्तव्य मुलुकको तुलनामा मलेसिया लगानीयोग्य बन्न नसकेकोमा त्यहाँ रहेका नेपाली चिन्तित बनेका छन् । मलेसियामा धेरथोर लगानी गरी व्यापार गरिरहेका नेपालीहरु व्यापार विस्तार गर्न चुनौती रहको बताउँछन् ।

विदेशी लगानीमैत्री कानुन, नेपाली कामदारको अस्थिर रोजगार अवस्था तथा अवैधानिक कामदारको प्रभावका कारण नेपाली व्यवसायीका लागि मलेसिया आशालाग्दो हुन सकेको छैन । कोरिया, जापान, अमेरिका तथा युरोपीयन देशजस्तो आशालाग्दो अवस्था यहाँ छैन ।

मलेसियालाई नेपालीको श्रम बेच्ने कर्मथलोको रूपमा चित्रण गरिने कटु सत्यलाई चिर्न व्यवसायमा समेत लगानी गर्न अघि बढेका नेपाली अहिले विभिन्न समस्याको सामना गरिरहेका छन् । यद्यपि नेपाली कामदारको वृद्धिसँगै नेपालीका लागि मलेसिया अरुलाई रोजगार दिने व्यावसायिक क्षेत्रको रूपमा परिचय बनाउन लागिपरेका छन् । नेपाली व्यवसायीलाई मलेसियामा लगानी गर्न जति चुनौती छ, त्यसत नै अवसर पनि रहेको त्यहाँ रहेका केही नेपाली लगानीकर्ताको भनाइ छ ।

मलेसियामा नेपाली कामदारको वृद्धिसँगै सुरु भएको नेपालीको लगानी अहिले आएर मन्द गतीमा विस्तार भइरहेको छ । सन् २००१ मा मलेसिया सरकारले नेपाली कामदारहरूको लागि रोजगारीको बाटो खुला गरेपछि बेरोजगार युवाले मलेसियालाई गन्तव्य बनाउन थालेका हुन् ।

नेपाली मूलका मलेसियन नागरिक बाल राना मगरले नेपाल हाउस नामक रेस्टुरेन्ट चलाउँछन् । व्यवसायका क्रममा विभिन्न समस्याको सामना गर्नुपरेको उनी बताउँछन् । “सुरुको अवस्थामा कामदार भिसामा आएर काम गरे पनि पछिल्लो समय व्यवसायमा हात हाल्ने नेपालीको संख्या बढ्दो छ,” मगरले भने ।

आधा दशकजति फ्याक्ट्रीमा काम गरेर त्रिशूली रेस्टुरेन्ट खोलेर बसेका नुवाकोटका मानबहादुर तामाङको पनि पीडा उस्तै छ । तामाङको भनाइमा मलेसियामा लगानी गर्न धेरै चुनौती छन् ।

“हामी दुःख पाएका, काम नभएर बेरोजगार बसेका नेपाली दाजुभाइ दिदीबहिनीलाई रोजगारी दिन्छौँ । तर, बेला–बेलामा स्थानीय प्रहरीले छापा मारेर दुःख दिने गरेको छ,” उनले भने । मासिक रूपमा खाना खाने नेपालीहरू उधारो नतिरेर भाग्ने समस्याले पनि आफू पीडित भएको उनले सुनाए ।

मलेसियामा रेस्टुरेन्टबाहेक अन्य व्यवसाय गर्ने नेपालीको संख्या पनि धेरै छ । फेन्सी कपडा, रेमिट एजेन्सी, इलेक्ट्रोनिक सामान तथा अन्य उपभोग्य वस्तुलगायत घरेलु सामग्रीको व्यापार गर्ने नेपाली पनि मलेसियामा थुप्रै छन् । व्यवसायीहरूका अनुसार मलेसियामा एउटैमात्र व्यवसायले कसैलाई पनि पुग्दैन । कतिपयले अवैधानिक रूपमा पनि व्यवसाय चलाएको बताइन्छ ।

मलेसियामा व्यवसाय राम्ररी फस्टाउन नसके पनि होटल सञ्चालन गर्ने नेपाली व्यवसायीले रोजगारीका लागि नेपाली कामदारहरू माग गरेर नेपालीलाई रोजगारी दिने गरेका छन् ।

रोजगारी नपाएका तथा विभिन्न अभियोगमा जेल परेका नेपालीलाई व्यवसायीले नै सहयोग गरिरहेका छन् । एकथरी नेपाली मलेसियामा अवैधानिक हुन्डी कारोबार गरेका कारण बदनाम बन्दै गएकोमा राम्रा व्यापारीलाई यसको मार परेको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार