दमौलीका चार युवाले स्टिल उद्योग स्थापना गरेका छन् । उनीहरुले व्यास–१, निर्मलनगरमा त्रिनेत्र स्टिल उद्योग स्थापना गरेका हुन् ।

अम्मर भण्डारी, नेत्र रानाभाट, खड्क बहादुर बस्नेत र इन्द्र बहादुर मल्लको २५ लाख लगानीमा उद्योग स्थापना भएको हो । उद्योग सञ्चालनका लागि सोही ठाउँमा रहेको निर्मल माध्यमिक विद्यालयको जग्गा भाडामा लिइएको छ ।

वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षको लागि जग्गा लिजमा लिइएको उद्योग सञ्चालक नेत्र रानाभाटले जानकारी दिए ।

अन्य जिल्लाबाट स्टिलजन्य सामग्री खरिद ल्याउनुपर्ने अवस्था अन्त्य गर्दै सबै प्रकारका सामानहरु उत्पादन गरेर थोक विक्री गर्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको अर्का सञ्चालक अम्मर भण्डारीले बताए । उक्त उद्योगमा हाल ८ जना कामदार छन् । तिहारसम्मका लागि विशेष छुटमा स्टिलजन्य सामग्री विक्री वितरण गरिने बताइएको छ ।

उक्त उद्योगको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले गुणस्तर वस्तुको उत्पादन गर्न सके उपभोक्ताको सजिलै विश्वास जित्न सकिने बताए । स्वदेशमै बसेर उद्योग सञ्चालन गरेपछि बेरोजगारी न्यूनिकरण गर्नुको साथै स्वदेशको पैसा स्वदेशमै लगानी गर्न सकिने हुँदा उद्योगलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।

घरेलु तथा साना उद्योग विकास समितिका सहायक प्रमुख कमल कार्कीले कार्यालयले दुवै किसिमका साना ठूला उद्योगलाई प्रोत्साहन गर्न औजार खरिदमा छुटको व्यवस्था गरेको बताए ।

पूर्वमेयर ताराप्रसाद श्रेष्ठले युवा विदेश पलायन हुने कार्य र बाह्य देशबाट सामान आयात गर्नुपर्ने अवस्था रहेकोले स्थानीय स्तरमै उत्पादित वस्तुलाई प्राथामिकता दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार