अटोमेसनका कारण भारतमा ६९ प्रतिशत र चीनमा ७७ प्रतिशत रोजगारी गुम्ने देखिएको छ । प्रविधिको विकासले विकासशील मुलुकका परम्परागत आर्थिक ढाँचालाई आधारभूत रूपमै असर पार्ने विश्व बैंकले जनाएको छ ।

“वृद्धि प्रवद्र्धनका लागि हामीले पूर्वाधारमा गरिने थप लगानीलाई प्रोत्साहन गरेको अवस्थामा कुनै पनि मुलुकको अर्थतन्त्रलाई भावी दिनमा आवश्यक पूर्वाधारका बारेमा सोच्नुपर्छ । प्रविधिले नै विश्वलाई आकार दिएको र दिने पनि भएकाले यसको आवश्यकता परेको हो,” विश्व बैंकका प्रमुख जीम किमले भने, “विकासशील मुलुकमा परम्परागत आर्थिक ढाँचाको कृषिदेखि लिएर हलुका किसिमको उत्पादनमूलक क्षेत्रको उत्पादकत्वमा भएको वृद्धिले पूर्ण अवस्थाको औद्योगीकरण सम्भव हुदैन ।”

अफ्रिकाको ठूलो क्षेत्रमा प्रविधिले आधारभूत रूपमै यो ढाँचालाई अवरुद्ध पार्ने उल्लेख गर्दै किमले भने, “विश्व बैंकको तथ्यांकमा आधारित अनुसन्धानले अटोमेसनले भारतमा ६९ र चीनमा ७७ प्रतिशत रोजगारी गुम्ने देखाएको छ । इथियोपियामा त यो अवस्था झन् ८५ प्रतिशत छ । त्यसैले यी मुलुकलाई आर्थिक वृद्धिको कस्तो ढाँचा आवश्यक छ भन्ने बुझ्नु जरुरी छ । सोहीअनुरूप पूर्वाधारको विधिलाई आत्मसात् गर्नुपर्छ ।”

उनका अनुसार यान्त्रीकरण र प्रविधिले परम्परागत औद्योगिक उत्पादनलाई अवरुद्ध पारेको छ । यो प्रवृत्ति अमेरिकामा पनि अलग अवस्थामा छैन । यसले विश्वका सबै मुलुकका मानिसलाई प्रभाव पारिरहेको उनले बताए ।

“वृद्धिको अतुलनीय समयमा मुलुक–मुलुकबीचको खुलापन र साझेदारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सन् १९९० यता १ अर्बभन्दा बढी मानिस चरम गरिबीबाट बाहिर आइसकेका छन्,” उनले भने ।

आफ्नो मुलुकको आन्तरिक उद्योगको खुलापन र व्यापारका कारण चीनजस्ता मुलुकले चरम गरिबी निवारणमा ठूलो फड्को मारिसकेका छन् ।

“त्यसैले अन्त्यमा हामीले प्रगति हासिल गरेका छौं । तर, यसैबीच विश्वका धेरै भू–भागमा हामीले ठूलो चुनौतीको सामना गर्दै आएका छौं । वस्तु मूल्यमा आएको गिरावट र स्थिर अवस्थाको विश्वव्यापी व्यापारले विश्व अर्थतन्त्र प्रभावित भएको छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार