मीठो–मसिनो खाएर, नयाँ लुगा लगाएर दसैंंमा रमाइलो गर्छौं। नयाँ मोबाइल र नयाँ मोटरसाइकल वा कार किनेर हामी दसैंंलाई भव्य बनाउँछौं। तर, खास दसैंं त व्यापारी तथा बहुर्राष्ट्रिय कम्पनीहरूले मनाउँछ। दसैंं–तिहारको मोजमस्ती र रमाइलोपछि हाम्रो गोजी रित्तो भइसकेको हुन्छ व्यापारी तथा कम्पनीहरूको ढुकुटी भरिसकेको हुन्छ।

चारैतिर दसैंंको माहोल छाएको छ। लाखौं मानिसहरू काठमाडौं छोडेर आ–आफ्नो गृह जिल्लातिर हिँडेका छन्। ठूला सहर र सदरमुकाममा रहेर जीविकोपार्जन गरिरहेका मानिसहरू पनि कामबाट फुर्सद निकालेर आ–आफ्नो घरतिर लागिरहेका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू यही समयमा धमाधम फर्किरहेका छन्। वर्षभरिको शून्यतापश्चात् गाउँघरमा चहलपहल बढ्न थालेको छ भने सहरहरूले सधैंको चहलपहल, भीडभाड र बेफुर्सदीबाट छुट्टी पाएको छ। यतिखेर सहर–बजार गाउँ पसेको छ र गाउँ–गाउँमा छुट्टै रौनक छाएको छ।

लामो विछोडपश्चात् परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने अवसर हो दसैंं। धार्मिक दृष्टिकोणले हिन्दुहरूको चाड भए तापनि दसैंंले सम्पूर्ण नेपालीहरूलाई एक सूत्रमा बाँध्ने काम गर्दै आएको छ। यस अर्थमा दसैंं नेपालीहरूको एउटा ठूलो सांस्कृतिक अवसर हो। दसैंं भेटघाट र पुनर्मिलनको अवसर बनेको छ। सामाजिक र सांस्कृतिक एकतामा दसैंंले महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

आर्थिक दृष्टिकोणबाट हेर्दा नेपालमा सबैभन्दा बढी आर्थिक कारोबार हुने समय दसैंं र तिहारको एक महिनाको अवधि हो। सरकारी कर्मचारी तथा निजी क्षेत्रका कर्मचारीहरूले समेत दसैंं भत्ताको रुपमा थप रकम प्राप्त गर्दछन्। दसैंंको अवसरमा नै बढी मात्रामा विदेशबाट पठाइने रकम विप्रेषण नेपाल भित्रिन्छ। अर्थात् यस अवधिमा जनताको हातमा अरु बेलाभन्दा बढी रकम हुन्छ। हातमा धेरै रकम भएपछि सोहीअनुसार खर्च हुने नै भयो। दसैंंको अवसरमा महँगो वस्तुहरू खरिद गर्ने तथा उपहार आदानप्रदान गर्ने प्रवृत्ति नेपालीहरूमा छ।

लत्ताकपडादेखि इलेक्ट्रोनिक्स सामानहरूको कारोबारमा ह्वात्तै वृद्धि हुन्छ। त्यसैगरी पशुपंछी, फलफूल तथा अन्य खाद्यान्नको खपत पनि उच्च मात्रामा हुन्छ। आर्थिक कारोबारको दृष्टिले हेर्दा दसैंं सांस्कृतिक अवसरमात्र नभई व्यापारिक अवसर पनि हो। दसैंं–तिहारको एक महिनाको अवधिले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।

तर, बिडम्बनापूर्ण र तीतो सत्य के हो भने दसैंंको अवधिमा खर्च हुने अधिकांश रकम अनुत्पादक क्षेत्रमा प्रवाह भइरहेको हुन्छ। त्योभन्दा पनि यस अवधिमा हुने कारोबारको धेरै रकमको हिस्सा विदेश प्रवाह हुन्छ। मोबाइल, टिभी, रेफ्रिजेरेटर तथा अन्य इलेक्ट्रोनिक्स सामानहरूदेखि मोटरसाइकल र कारजस्ता महँगा अटोमोबाइलहरू विदेशबाट आयात हुन्छ। यस अवधिमा मात्र लाखौंको संख्यामा खपत हुने खसी, बोका, राँगामात्र होइन, फलफूल र अन्य खाद्य सामग्रीहरू पुग्दो मात्रामा नेपालमा उत्पादन हुँदैन। यतिसम्म कि दसैंं तिहारमा प्रयोग हुने फूलसमेत मागअनुासर नेपालमा उत्पादन नहुँदा विदेशबाट आयात गर्नु परिरहेको छ। यस्तो अवस्थामा दसैंं–तिहारको खर्च अनुत्पादक त छँदैछ, त्यसमाथि धेरै रकम विदेशिने भएपछि नेपालको समग्र अर्थतन्त्रमा थप भार थपिन्छ।

मीठो–मसिनो खाएर, नयाँ लुगा लगाएर दसैंंमा रमाइलो गर्छौं। नयाँ मोबाइल र नयाँ मोटरसाइकल वा कार किनेर हामी दसैंंलाई भव्य बनाउँछौं। तर, खास दसैंं त व्यापारी तथा बहुर्राष्ट्रिय कम्पनीहरूले मनाउँछ। दसैंं–तिहारको मोजमस्ती र रमाइलोपछि हाम्रो गोजी रित्तो भइसकेको हुन्छ व्यापारी तथा कम्पनीहरूको ढुकुटी भरिसकेको हुन्छ।

दसैंं भनेको उत्पादन संस्कृति होइन, उपभोग संस्कृति हो। उत्पादनमात्र भएर उपभोग त्यसअनुसार भएन भने अर्थतन्त्र स्वस्थ हुँदैन। त्यसैगरी उत्पादन नभइकन उपभोगमा मात्र वृद्धि भयो भने अर्थतन्त्र सङ्कटमा पर्छ। नेपालीहरूलाई आवश्यक खाद्यान्न, पशुपंछी तथा फूलसमेत नेपालमै उत्पादन गर्न नसकिरहेको पृष्ठभूमिमा दसैंंजस्तो अनुत्पादनशील उपभोग संस्कृतिले नेपाली अर्थतन्त्रलाई थप विषम र सङ्कटपूर्ण बनाइदिन सक्छ।

ठूलाबडा र धनीमानीहरूले गर्ने झिलीमिली र फजुल खर्चको देखासिकी गरेर गरिब तथा क्षमता नै नभएका मानिसहरूले समेत आफ्नो औकातभन्दा बढी खर्च गर्ने प्रवृत्ति नेपालीहरूको पुरानै संस्कृति हो। यसले सामाजिक तथा आर्थिक विकृति बढाइरहेको छ। यस्तो प्रवृत्तिले पैसालाई नै सबथोक ठान्ने पैसामुखी प्रवृत्तिलाई बढावा दिन्छ, जसले गर्दा आर्थिक भ्रष्टाचार तथा गैरकानुनी अर्थोपार्जनलाई प्रोत्साहन मिल्दछ। अकोतिर, ‘घाँटी हेरी हाड निल्नु’ भन्ने नेपाली उखानलाई भुलेर आफ्नो क्षमताभन्दा बढी खर्च गर्ने मानिस गरिबीको कुचक्रमा फस्ने प्रवल सम्भावना रहन्छ। यसले समाजमा निरासा र हिनताबोधको भावना बढ्नुका साथै अािर्थक असमानताको खाडल पनि गहिरिँदै जान्छ। यसबाहेक ‘प्रदर्शनी प्रभाव’ले पनि उपभोग संस्कृतिलाई नै वृद्धि गर्छ।

पचासौं लाख नेपाली श्रमशक्ति विदेश पलायन भएका छन्। तर, नेपालका उर्बरभूमि बाँझो छ। उत्पादनमूलक गतिविधि न्यून मात्रामा छ। कृषि तथा औद्योगिक उत्पादनका निम्ति श्रमशक्तिको अभाव देखिन थालेको छ। औद्योगिक देशहरूमा अत्यधिक उत्पादनका कारण अभाव हुन थालेको छ। उत्पादन कार्यमा सक्रिय हुने युवाहरूलाई मानसिकताका कारण यस्तो विरोधाभाष नेपालमा देखिएको हो। नेपालमै उत्पादनमूलक गतिविधिलाई प्रोत्साहन गर्न सकिए नेपाली युवाहरू आफ्नो मातृभूमि छोडेर विदेशीको गुलामी गर्न जानुपर्ने थिएन। साथै उत्पादनमभा वृद्धि हुँदा आयातमा कमी भई व्यापार सन्तुलनमा समेत सुधार हुने थियो। हाललाई कम्तीमा खाद्यान्न मात्र आयात गर्नु नपर्ने वातावरण बनाउन सकिएमा लाखौं नेपालीले स्वदेशमै रोजगारी पाउने थिए।

नत्र विप्रेषणबाट नेपालमा विदेशी रकम आउँदै गर्ने तर अत्यधिक आयातका कारण नेपाली रुपैयाँ विदेशिने क्रमले ‘डोकोमा पानी भर्नु’जस्तो हुनेछ। दसैंंजस्तो उपभोगमूलक संस्कृतिको अर्थ त्यतिबेला मात्र हुनेछ, जतिबेला हाम्रा लागि आवश्यक वस्तुहरू हामी आफंै उत्पादन गर्न सक्षम हुनेछौं। नेपालमै उत्पादनमूलक गतिविधिमा वृद्धि गर्न सकिए दसैंं–तिहारजस्ता संस्कृतिले अर्थतन्त्रमा ग्लुकोजको भूमिका प्रदान गर्न सक्दछ। उत्पादन सँगसँगै हुने उपभोगले अर्थतन्त्र चलायमान र स्वस्थ रहन्छ। नुनदेखि सुनसम्म विदेशबाट ल्याएर नेपालमा चाड, पर्व र संस्कृति मनाउनु अर्थहीन हुनेमात्र होइन, आर्थिक दृष्टिकोणले आत्मघाती गोल साबित हुनेछ।

दसैंंको सांस्कृतिक महत्त्वलाई न्यूनाङ्कन गर्न मिल्दैन। तर, यसको आर्थिक पक्षलाई भने गम्भीरतापूर्वक मनन गर्नुपर्दछ। अब हामीले सोच्ने बेला भएको छ, नेपालीहरूको दसैंं खर्चलाई थोरै प्रतिशतले मात्र घटाउन सकिए कतिवटा जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ? कतिवटा ठूला उद्योग सञ्चालन गर्न सकिन्छ? कतिवटा विश्वविद्यालय वा अस्पताल निर्माण गर्न सकिन्छ? यो शिराबाट हामीले चिन्तन गर्न सक्यौं र व्यवहारमा लागू गर्न सक्यौं भने नेपालले काँचुली फेर्न समय लाग्दैन। नेपालीहरूले दसैंं अवधिमा गर्ने खर्चलाई १० देखि २० प्रतिशतमात्र कम गरेर त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकियो भने पछिल्ला दसैंंहरूमा नेपालीहरूले झन् बढी खर्च गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार